न्यौैपानेले कुखुरा बेचेर तीन लाख कमाए

राजनीतिसंगै कृषि र पशुपालनमा सक्रिय

  • सिराज खान

नेपालगन्ज । लामो समय माओवादीको बिद्यार्थी राजनीतिमा विताएका बाँकेको कोहलपुर–६ निवासी नरेन्द्र न्यौपाने अहिले कृषि र पशुपालनमा सक्रिय छन् । माओवादीले शुरु गरेको जनयुद्धमा अहम भूमिका निर्वाह गरेर अखिल क्रान्तिकारीको केन्द्रिय अध्यक्ष समेत बनेका न्यौपानेले कोहलपुर नगरपालिका वडा नम्बर ६ मा बागेश्वरी कृषि फर्म सञ्चालन गरेर गत बर्षदेखि कृषि र पशुपालन गरिरहेका छन् ।

गएको स्थानीय चुनावमा तत्कालीन नेकपा माओवादीबाट कोहलपुर नगरपालिकाको अध्यक्षको निर्वाचन लडेर निकै कम अन्तरले पराजित भएका न्यौपानेलाई राजनीतिबाट मात्र चित्त नबुझेपछि कृषि र पशुपालन शुरु गरेको बताउछन् ।
राजनीति जिविका चलाउने बिषय होइन । जीवन चलाउन समस्या भएपछि आफूले कृषि फर्म सञ्चालन गरेको जनाउँदै सानो समयमै आम्दानी राम्रो हुन थालेको र आर्थिक समस्या टर्दै गएको उनले बताए ।

२०७५ साल फागुन महिनादेखि शुरु गरिएको न्यौपानेको कृषि फर्ममा खसी, ब्रोईलर कुखुरा, लोकल कुखुरा, हाँस पालिएका छन् । फार्ममा तरकारी खेती, धान खेती, कागती खेती गरिएको छ । फार्ममा मौरीपालन पनि शुरु गरिएको उनले जानकारी दिए ।

फर्ममा ब्रोईलर कुखुरा १५ सय, हाँस १००, लोकल कुखुरा १००, खसी १५ वटा रहेका छन् । ५०–६० वटा बाख्रा अटाउने ठुलो खोर निर्माण गरिएको छ । मौरी पालनका लागि २५ वटा मौरीका घार समेत राखिसकिएको छ ।

कृषि उत्पादनको लागि प्रदेश नम्बर ५ को कृषि मन्त्रालयबाट करार खेतीको सहयोग आफ्नो फर्मले पाएको न्यौपानेले बताए । करार खेती मार्फत बागेश्वरी फर्ममा १०० वटा कागती तथा लिप्टिसका बिरुवा रोपिएको छ । करार खेती अन्तरगत जग्गाको भाडा तिर्न तथा पूर्वाधार निर्माणको लागि प्रदेश सरकारको कृषि मन्त्रालयले ३ लाख रकम अनुदान दिएको छ । न्यौपानेले १ विगाहामा धान, मकै लगाएका छन् भने १५ कठ्ठामा बकाईनोका बिरुवा रोपेका छन् ।

मौसमी र बेमौसमी दुबै प्रकारका तरकारी खेतीमा पनि विशेष ध्यान दिईएको फर्मका सञ्चालक न्यौपानेले जनाए । उनका अनुसार कुखुराबाट सानो समयमै तीन लाख भन्दा बढी आम्दानी भएको छ । आम्दानीले उनलाई कृषि र पशुपालनमा लाग्न झन उत्साहित बनाएको छ ।

बेरोजगार युवालाई स्वरोजगार बनाउने तथा उत्पादन बढाएर आयात घटाउने उद्देश्यले कृषि फर्म सञ्चालन गरिएको उनको भनाई छ । उनको फर्ममा तीन जना युवाले रोजगार पाएका छन् ।
चालु आर्थिक वर्षमा झण्डै १० जनालाई रोजगारीदिने फर्मको लक्ष्य रहेकोछ । कृषि फर्ममा लगानी बढाउँदै जाने न्यौपानेले बताए ।

स्थानीय तहमा खरिद केन्द्र आवश्यक रहेको जनाउँदै उनले कृषि खरिद केन्द्र स्थापना गर्न सरकारसंग माग गरिएको पनि बताएका छन् । कृषि खरिद केन्द्र स्थापना गरि मूल्य पनि निर्धारण गरिदिए कृषिमा हुने कालोबजारी बन्द हुने अन्य किसानको पनि भनाई छ ।

टिप्पणी थप्नुहोस्