सीको नेपाल भ्रमण : एक अनुभूति

-किशोर नेपाल

निकै लामो समयपछि चीनका कार्यकारी राष्ट्रपति सी चिनफिन नेपालको संक्षीप्त भ्रमणमा आए । शुरुमा अठार बीस घण्टाको भनिएको भ्रमण केही समय लम्बियो । राष्ट्रपति सी आइतबार बिहान१०ः३० मा स्वदेश फर्किने कार्यक्रम थियो । तर, भृकुटीको माइतीको लठारोमा फँसे सी । सीलाई नेपाल ल्याउन नेपाल कम्युनिष्ट पार्टीका एक अध्यक्ष पुष्पकमल दाहालले पहिलेदेखि नै प्रयत्न गर्दै आएका हुन । नेकपा नेतृत्वको दुइ तिहाइको सरकार गठनपछि यो प्रयत्न घनीभूत भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रिय मित्र रहेका प्रधानमन्त्री केपी ओलीले पनि चीनियाँ राष्ट्रपति सी चिनफिनको नेपाल भ्रमणको भावनात्मक महत्व बुझेका थिए । दुइ तिहाइको सरकारले यसका लागि अथक प्रयत्न गरेको हो । सरकारको प्रयत्न सफल भएकोमा नेपाली जनता हर्षित छन । उनीहरुले देशमा आएका महत्वपूर्ण अतिथि राष्ट्रपति सीको दिल खोलेर स्वागत गरेका छन । नेपाल र चीनअसल छिमेकी मित्र हुन । यसमा शंका गर्ने अवस्था कुनै सरकारको पालामा पनि उठेको छैन । तर, जतिसुकै असल मित्र भएपनि बिकट भूगोलले गर्दा यी दुइ देशका जनता एक आपसमा ‘बिहेमा जन्ती’ र ‘मर्दाका मलामी’का रुपमा चिनिन सकेका छैनन । २०७२ को भुईंचालोे र भारतीय नाकाबन्दीले नेपाली जनतालाई शिथिल बनाएका बेला चीनले सक्दो सहयोग नगरेको होइन । भूगोल सहज भै दिएको भए सहयोग पर्याप्त मात्रामा आउने थियो भन्ने आशा जानिफकारहरुले गरेका थिए ।

नेपालका भावुक जनताले चीनको हार्दिक सदाशय बिर्सिने कुरा थिएन । नेपाल देश स्वाधीन र स्वतन्त्र भएपनि यो आफैमा गरीब राष्ट्र हो । देशको अवस्था खराव हुँदाहुँदै पनि नेपाल सरकारले युध्दस्तरमा काम गरेर राष्ट्रपति सी गतिशील हुने मार्गमा अडकेर बसेका थाङनाहरु पन्छायो । जहाँ साँच्चिकै संघीय राजधानी सुहाउँदो पार्क बनाउने तजबीज गरिएको थियो, त्यो तीनकुनेमा रातारात नक्कली पार्क खडा गरिदियो । बिमान स्थलदेखि सोल्टी होटलसम्मको बाटोमा रातारात पीच ठोकीदियो । दुइरातमा हुनसक्ने सबै बिकास गरिदियो । यतिले नपुगेर राष्ट्रपति सी स्वदेश प्रस्थानका दिन नेपाल सरकारका कर्मचारीलाई बिदा पनि दियो ।

चीनसंग नेपालले गरेको आशालाई फलिभूत गर्न नेपाल सरकारका प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीले चीनमा चल्ने द्रूतगामी चुच्चे रेल केरुङको बाटो नेपालमा ल्याउने सपना देखे । उनको सपना सुन्दर थियो । नेपाली जनताले जोडदार थपडी बजाएर त्यसको अनुमोदन नगर्ने कुरै थिएन । अहिले चीनका राष्ट्रपति नेपालको सार्‍है छोटो भ्रमणमा आएको बेला त्यो रेलका बारे कुरा उठान गर्नु आबश्यक थियो । नेपालले कुरामात्र उठाएन, राष्ट्रपति सीसंग औपचारिक वार्ताको एजेण्डामा नै रेललाई पहिलो नम्बरमा राख्यो ।

यसमा राष्ट्रपति सीले रेलमार्ग बिकासका लागि अध्ययन गर्ने कुटनीतिक अस्त्रको प्रयोग गरेर नेपाली नेतृत्वको चित्तबुझाए । यो अर्कै कुरा हो, नेपालमा चीनको चुच्चे रेल केरुङ हुँदै काठमाडौ भित्रिने साइत नेपालीको कुन पुस्ताको पालामा जुर्ने हो ? यो कुरा सी चिनफिन र केपी ओली दुबैलाई थाह छैन । राष्ट्रपति सीलाई यो कुराको राम्रो ज्ञान छ, चीनियाँ चुच्चे रेल तिब्बतको सिगात्सेसम्म त आइपुगेको छ । तर, सिगात्सेबाट केरुङको ५४० किलो मिटरको दूरी छिचल्नु कठिन छ । यो निर्माण कठिन नभएको भए चीनियाँ इन्जिनियरहरुले रेलको बाटो खोली सक्थे । यति कारणले गर्दा केरुङबाट काठमाडौं पनि अहिले टाढैछ ।

यो बास्तबिकताको जानकारी नेकपा नेतृत्वलाई नभएको होइन । तर, यस भित्र नीहित एजेण्डा अलिकति गम्भीर र अलिकति दूरगामी पनि छ । नेकपा दुइ तिहाईको आफनो असाधारण शक्तिको प्रयोग सरकारको स्थायित्व र अविरल निरन्तरतामा गर्न चाहन्छ । यसका लागि अहिले सर्भे शुरु भएर दशपन्ध्र बर्षपछि यथार्थमा परिणत हुने योजना नेकपा सत्ताको निरन्तरताका ग्यारेन्टी हुनेछ । नेकपाले साधारण बहुमतमा चुनाव जितेको भए कुरा बेग्लै हुने थियो । तर, दुइ तिहाईको बिजय सामान्य कुरा होइन । प्रम ओली अध्यक्ष दाहालको कुरा छाडौं, नेकपाका नेताहरु नेपाली कम्युनिष्ट सत्ताको बिस्तार त्यसरी नै गर्न चाहन्छन जसरी भारतको पश्चिम बंगाल राज्यका कम्युनिष्ट नेता ज्योति बसुले गरेका थिए । पच्चीस बर्ष लामो अकण्टक ‘कुशासन’पछि पश्चिम बंगालमा गठन भएको भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) नेतृत्वको बामपन्थी गठबन्धनले तृणमूल कांग्रेसकी नेतृ ममता बनर्जीबाट पराजित हुनु परेको थियो ।

नेपालमा पनि नेकपाले यस्तै पच्चीस बर्षे सपना देखेको छ भने त्यो अस्वाभाविक होइन । नेकपाले यसका लागि आफ्नो पृष्ठभूमिको निर्माण गरी सकेको छ । अहिले नेकपाको एकमात्र लक्ष्य प्रमुख प्र्रतिपक्षी दल नेपाली कांग्रेसका नेता र कार्यकर्ताको मनोबल गिराउनु रहेकोछ । यो काम संगठित ढंगले भइ रहेको छ । कांग्रेसका नेताहरु अनाबश्यक झगडामा लिप्त छन भने नेकपाका नेता कार्यकर्ता उनीहरुको खिल्ली उडाउन ब्यस्त छन ।

नेपाली अर्थतन्त्र बजारमुखी संरचनामा गै सकेपछि प्रतिफल दिन नसकेका उद्योगहरु लिलामीमा परे । यो कांग्रेसको नीति थिएन, तर, बिश्व बैंकले सिफारिश गरेको उदार अर्थतन्त्रको आबश्यकता थियो । अहिलेको नेकपाको मुख्य घटक एमालेले सरकार चलाउँदा पनि बिश्व बैंकको उदार आर्थिक नीतिकै दवदवा थियो । पहिले भरतमोहन अधिकारी र पछि सुरेन्द्र पाण्डेले पनि उदार अर्थतन्त्रकै अवलम्वन गरेका हुन । यसपछि दृश्यमा आएका अर्थमन्त्री डा. बाबुराम भट्टराई त बिश्वबैंकका ‘लाडला’ नै थिए ।

कसो कसो नेकपा नेताहरुको मनमा अकण्टक र एकछत्र राज्यगर्ने यस्तो अभिलाषा उत्पन्न हुनु गलत होइन । यसका लागि सी चिनफिन–पथकोे अनुयायी बन्नु नेकपाको हकमा अत्यन्त उचित पाइला हो । चीनले यति बिधि बिकास गरेको छ कि उ आफ्ना सयौं दर्जन ‘मानसिक उपनिवेश’ खडा गर्न दौलत जति पनि लुटाउन तयार देखिएको छ । यत्ति हो कि, नेकपा सरकारले कथित शान्तिको उपक्रम जारी राख्नु पर्दछ । लुकिछिपी तिब्बतको पठारमा बस्दै आएका तिब्बतीहरु कुनै तरीकाले नेपाल भित्र पसेको स्थितिमा भेटिए भने तिनलाई पक्रिएर चीनियाँ सुरक्षा गार्डको जिम्मा लगाउन हिच्किचाउनु हुँदैन । नेकपा सरकारले सीको भ्रमण कालमा सुपुर्दगी कानूनको पनि तर्जुमा गरेको छ । यद्यपि, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले त्यो ऐन अहिले लागु नहुने बताएका छन । तर, मन्त्रीकै जवानको पनि के भरोसा छ र हाम्रो नेपालमा ?

राष्ट्रपति सीको नेपाल भ्रमण उन्नाइस घण्टा जतिको थियो । त्यो बढेर तेइस घण्टाजति पुग्यो होला । त्यस मध्ये आहार–विहार, निंद्रा, शौच, शारीरिक अभ्यास र स्नान, बिहानको खाजाका लागि आठ घण्टा छुट्याए पनि राष्ट्रपति सीले नेपाली नेतृत्वसंग गर्ने भेटघाट र छलफल चौध घण्टाजति हो । नेपालका राष्ट्रपति बिद्यादेवी भण्डारीसंग चीनियाँ राष्ट्रपतिको भेटको अनिवार्यता कसैले मेट्न सक्दैन । त्यसपछि रात्रिभोजको औपचारिकता पूरा गर्नै पर्यो । यो समय तालिकाले भोलिपल्ट मात्र सरकार र अन्य महत्वपूर्ण ब्यक्ति र भद्र भलाद्मीसंग भेटघाट हुने सम्भव देखिएको थियो । भयो पनि त्यस्तै । राष्ट्रपति सीले ‘दिने दिने’ वार्ताका लागि नेपाली पक्ष ब्यग्र हुने नै भयो । राष्ट्रपति सीले नेपाली नेतृत्वबाट ‘लिने’ कुरा अलिकति सामरिक महत्वका मात्र थिए । सी आफ्नी श्रीमतीलाई उपहारमा आएको खाष्टो हेर्न त्यति उत्सुक थिएनन् । सीको अर्को चिन्ता भनेको तिब्बतमा प्रचलित बौध्द दर्शनका अनुयायी थिए जो युरोप अमेरिकामा आफ्नो नैतिक दृष्टिकोणका कारण अब्बल छन ।

समृध्दिले राष्ट्रपति सीको आभा धपक्क बलेको छ । दिने दिने कुरामा उनलाई कुनै समस्या छैन । उनले नेपाली जनतालाई संवोधन गर्दै लेखेका स्नेहका शब्दहरु नेपालका समाचारपत्रहरुले प्रमुखताका साथ प्रकाशित गरी सकेका छन । सीले चाहे भने नेपाललाई अहिले जे पनि दिन सक्दछन । चुच्चे रेलको सवालमा चाहीं उनले अहिले दिन सक्ने वचन मात्रै हो । त्यो दिएका छन ।

चीन हाम्रो नजीकको मित्र हो । पौराणिक बिम्बलाई आधार मानेर हेर्ने हो भने चीन र नेपालको सम्बन्ध कृष्ण र सुदामाको जस्तो छ । उहिले के थियो थाह छैन । अहिलेको हकमा नेपाल सुदामा । चीन कृष्ण । कृष्ण सुदामाको घर आउँछन । एकमुठी कनिका बुक्याउँछन । सुदामालाई अंकमाल गर्दछन् । फर्किन्छन । त्यसपछि सुदामा सुदामा रहन्छन । ‘ओहो मेरा घरमा कृष्ण आएका थिए’भन्दै जीवनभर रमाउँछन । धनीको साथी हुनुको लाभ-हानी यही हो । अहिले संसारमा छाएको चीन नयाँ आर्थिक साम्राज्यको मालिक हो । चीनसंग संसारका सबै देश थर्कमान छन भने चीनलाई पनि हंङकंङ्गका बासिन्दाले रुवाएका छन । तिब्बत चीनका लागि घाँटीमा अडकेको हाड बनेको छ । तिब्बती शरणार्थीको आवाज मन्द र मलिन होला । तर त्यो कति शक्तिशाली छ ? त्यसको वजनको जानकारी राष्ट्रपति सी चिनफिनलाई पक्कै छ । अहिलेको संसारमा ब्यक्तिको स्वतन्त्रतालाई अलग्याएर कुनैपनि देश समृध्द बन्नुको सार्थकता रहँदैन ।

टिप्पणी थप्नुहोस्