भारतबाट अवैध रुपमा कुखुरा भित्रिने क्रम जारी

-सिराज खान

नेपालगन्ज । भारतबाट कुखुरा, कुखुराका चल्ला र अण्डा ल्याउन कडा प्रतिवन्ध लगाईएपनि दिनदिनै कुखुरा र चल्ला भित्रिने क्रम भने जारी नै छ ।

भारतीय कुखुराको अवैध आयातलाई रोक्न नसकेपछि बाँकेका कुखुरा पालक किसान र मासु व्यवसायी दुबै समस्यामा परेका छन् ।

अवैध रुपमा भित्र्याईएका कुखुरा सस्तो पर्ने हुँदा स्थानीय किसानले उत्पादन गरेका कुखुराको विक्री घटेको छ भने त्यस्ता कुखुरा खरिद गरेर मासु सस्तो विक्री गर्ने गर्दा स्थानीय कुखुरा खरिद गर्ने मासु व्यवसायीले पनि राम्रो व्यवसाय गर्न सकेका छैनन् ।

दशैंजस्तो चाडपर्वको बेला कुखुरा तस्करहरुले झन बढी कुखुरा भारतबाट भित्र्याएका थिए । विभिन्न साईड बाटोहरु हुँदै दिनदिनै तस्करहरुले साईकल, मोटरसाइकल, रिक्सा लगायतमा राखेर कुखुरा भित्र्याएको किसान र व्यवसायीले बताएका छन् ।

नेपाली किसान र व्यवसायीको आग्रहमा प्रहरीले कडाई गर्दा मूख्य नाकाबाट कुखुरा भित्रिने कार्य कम भएपनि साइड नाकाहरुबाट दिनहुँजसो ठुलो परिमाणमा कुखुरा भित्रिने गरेको छ ।

कुखुरा तस्करहरुले चाडपर्वलाई लक्षित गरी भारतबाट विभिन्न नाका हुँदै साईकल, मोटरसाईकलमा राखेर दिनदिनै बोईलर कुखुरा नेपालगन्ज ल्याउदा पनि नियन्त्रण गर्ने निकायले चासो नदिएको नेपालगन्ज विपि चोकका कुखुरापालक किसान निजामुद्दिन ईद्रिसीले बताए ।

नेपालमा उत्पादन गरिएका कुखुरा भन्दा भारतमा उत्पादित कुखुरा बढी तौल र मुल्य पनि धेरै सस्तो हुने भएकोले तस्करहरु सक्रिय भएको उनले जनाए । भारतमा उत्पादन गरिएका कुखुरा हार्मोनको ईन्जेक्सन लगाएर २५ दिनमै ३ किलो हुने तथा नेपालमा ४५ दिन पाल्दा पनि २ किलो हुन कठिन हुने गरेको इद्रिसीले बताए ।

भारतमा जिउदो कुखुरा १२० रुपैयाँ प्रति किलो पाइन्छ भने नेपालमा २३० रुपैयाँ प्रतिकिलो पर्ने भएको कारण कुखुरा तस्करी बढेको स्थानीय व्यवसायीको भनाई छ ।

कुखुरा तस्करी रोक्न लामो समयदेखि आग्रह गर्दा पनि पूर्ण रुपमा नियन्त्रण नभएको जनाउँदै उल्टै केही सुरक्षाकर्मीकै मिलेमतोमा तस्करी मौलाईरहेको नेपालगन्ज धम्बोझीका मासु व्यवसायी दिनेश चौधरीले जनाएका छन् ।

उनले हरेक दिन साइकल र मोटरसाईकलमा राखेर डेढसय क्वीन्टल भारतमा उत्पादन भएका कुखुरा नेपालगन्ज भित्रिने गरेको जनाउँदै ती कुखुरा नेपालगन्ज लगायत अन्य ठाँउहरुमा पनि पठाईने गरेको दाबी गरे ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले कुखुरा आयातमा कडा प्रतिबन्ध भएकोले मूख्य नाकाबाट भित्रिन नदिएको दावी गरेका छन् । उनले अरु साइड नाकाबाट भित्रिएको भए आफुलाई जानकारी नभएको पनि बताएका छन् ।

खुला सीमानाका कारण धेरै कुराहरु नियन्त्रण गर्न खोज्दा पनि गर्न नसकिएको प्रहरीले जनाएको छ । सिमित जनशक्ति र साधन श्रोतले गर्दा सबै ठाउँमा निगरानी गर्न नसकिएको सुरक्षाकर्मीहरुको भनाई छ ।

टिप्पणी थप्नुहोस्