चीन पुगे मुख्यमन्त्री शंकर पोखरेल : लुम्बिनी भ्रमणको दिए निम्ता

रुपन्देही । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाल र चीनबीचको लामो मैत्रीपूर्ण सम्बन्धले आपसी हित र सहकार्यमा फाइदा पुगेको र आगामी दिनमा सहकार्य अझ फराकिलो हुने बताएका छन् ।

चीनको छेन्दुमा विकास र सहकार्यका लागि विआरआई सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री पोखरेलले नेपाल र चीनबीच लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध राष्ट्रपति सि चिनफिङको हालै सम्पन्न भ्रमणबाट दुई देशबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको बताए । उनले राष्ट्रपतिको भ्रमणपछि दुई मुलुकबीचको सहकार्य अझै मजबुत र नयाँ ढंगले अघि बढ्ने बताए ।

“दुई मुलुकबीच भाइ भाइको सम्बन्ध छ, त्यही अनुसार सहकार्य र सहयोग गर्दै आएका छौं” उनले भने “हिमाल र नदीले जोडिएका दुई मुलुकबीचको सम्बन्ध राष्ट्रपतिको भ्रमणले अझ बलियो भएको छ ।”

सम्मेलनमा सहभागीहरुलाई मुख्यमन्त्रीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा स्वागत गर्न चाहेको बताउँदै बौद्ध दर्शनको उद्भव स्थल लुम्बिनी भ्रमणको लागि अनुरोध समेत गरे ।

तीन महिना अघि मात्र प्रदेश ५ र चीनको सिचुवान प्रान्त बीच भगिनी सम्बन्ध कायम भएको छ । सिचुवान प्रान्त र प्रदेश ५ बीचको भगिनी सम्बन्धले अनुभव आदान प्रदान र धेरै क्षेत्रमा ढोका खोलेको मुख्यमन्त्रीले बताए ।
तस्विरः मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसी

टिप्पणी थप्नुहोस्