नेपालमा ढुक्कसँग लगानी गर्न एनआरएनएलाई आग्रह

काठमाडौं । गैर आवसीय नेपाली संघ(एनआरएनए)अन्तराष्ट्रिय समन्वय परिषदको नवौं विश्व सम्मेलन मंगलबारबाट काठमाडौंमा सुरु भएको छ । सम्मेलनमा विश्वका ८१ देशबाट २५ सय प्रतितिधि सहभागी छन् ।

सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा सक्रिय योगदान गर्न गैरआवासीय नेपालीलाई आह्वान गरिन । उनले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा उपयुक्त वातावरण बनेकाले ढुक्कका साथ लगानी गर्न आग्रह गरिन्।

राष्ट्रपति भण्डारीले नेपालमा विकसित हुँदै गइरहेको सहज र अनुकूल वातावरणमा संसारभरि आर्जेका ज्ञान, सीप अनुभव र उद्यमशीलतालाई सदुपयोग गर्नुपर्नेमा जोड दिइन् ।

उनले व्यक्तिगत तथा सामूहिक लगानीमार्फत समुन्नत नेपाल निर्माणको महाअभियानमा सहभागी हुन गैरआवासीय नैपालीलाई आग्रह गरिन्।

“पूर्वाधार विकास, कृषिको आधुनिकीकरण एवं व्यवसायीकरण, औद्योगिकीकरण र आर्थिक समृद्धि अहिलेको हाम्रो साझा प्राथमिकता हो। सरकारको समग्र प्रयास, नीति तथा कार्यक्रम ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय साझा आकाङ्क्षा पूरा गर्ने दिशातर्फ केन्द्रित छन्, विकास र समृद्धिको यो यात्रा एउटा अभियानका रुपमा अघि बढिरहेको छ”, उनले भनिन्, “गैरआवासीय नेपालीले नेपालमा गर्ने लगानीलाई थप प्रोत्साहन र सहजीकरण गर्न सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको छ।”

नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग र उपयोग गर्ने गरी गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरेको उल्लेख गर्दै उनले यो संवैधानिक व्यवस्थालाई व्यवहारमा उतार्न गैरआवासीय नेपालीसम्बन्धी नयाँ ऐन र नागरिकता ऐनलाई संशोधन गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको बताइन् । यसो भनिरहँदा हायात होटलको हलमा तालीले गुन्जयमान भएको थियो । उनले आगामी दिनमा गैरआवासीय नेपालीलाई ज्ञान, सीप र पूँजी नेपाल भित्र्याउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

“देशभक्ति र मातृभूमिप्रतिको समर्पण भौगोलिक सीमाभित्रमात्र सीमित हुँदैन। राष्ट्र र राष्ट्रियताको भावना मानवजातिको विकासक्रमको उच्चतम मान्यता हो । यसले मानिसलाई व्यक्ति, परिवार र समाजभन्दा माथिल्लो तहमा सङ्गठित गरी साझा राष्ट्रिय आकाङ्क्षा एवं उद्देश्यप्राप्तिका लागि प्रेरणा दिन्छ”, उनले भनिन्।

राष्ट्रपति भण्डारीले आआफ्नो जीवनयात्रा, बाध्यता र परिस्थितिले संसारको जोसुकै कुनामा छरिएर रहेका भए पनि सबै नेपाली एकै परिवार भएको उल्लेख गरिन् । उनले देश बाहिर बसेका र देशभित्र रहेका निरन्तर सम्पर्क, आवतजावत, सहयोग, सहकार्य हुनुपर्नेमा जोड दिइन्। उनले एनआरएनको भूमिका नेपाल र नेपालीको परिचय, पहिचान र उन्नतिमा मात्र सीमित नभई नेपाल र विश्वलाई भाइचारा र सद्भावनामा जोड्ने पनि हो भनिन् ।

विश्वशान्तिका अग्रदूतको पवित्र जन्मभूमिसँग गहिरो सम्बन्ध भएका गैरआवासीय नेपालीहरुले सहिष्णुता, करुणामैत्रीको सन्देशलाई बलियोसँग आत्मसात् गर्दै उनले विश्वमा सद्भावना दूतका रुपमा प्रस्तुत गर्नुपर्दछ भनिन्। राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन बनाउन सङ्घले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिइन्।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको विकासका निम्ति सरकारले आयोजना गरेको लगानी सम्मेलन, नेपाल भ्रमण वर्ष अभियानलगायतलाई सफल बनाउन गैरआवासीय नैपालीमो भूमिका महत्वपूर्ण हुने भन्दै यसलाई अगामी दिन थप प्रभावकारी बनाउन आग्रह गरे।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले आफू एनआरएनसँग सहकार्य गरेर मुलुकको आर्थिक विकासमा सरकारलाई सहयोग गर्ने बताइन् ।

सङ्घका पूर्वअध्यक्ष शेष घलेले सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियानलाई सार्थक बनाउन सङ्घले सक्रिय भूमिका निभाउने बताए। कार्यक्रममा सङ्घका अध्यक्ष भवन भट्टले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन आफूले लाग्ने बताए। उनले पूर्वाधार, ऊर्जा, पर्यटनमा लगानी गर्ने बताए।

‘म मेरो एनआरएनए र मेरो नेपाल’भन्ने नाराका तीन दिनसम्म सम्मेलन सञ्चालन हुनेछ। सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ। नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्यले उम्मेदवार घोषणा गरेका छन्। नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुनेछ।

टिप्पणी थप्नुहोस्