कर्णालीको स्याउले भारतीय र चिनियाँ स्याउ विस्थापित

-सिराज खान

नेपालगन्ज । कर्णाली स्याउ बजारमा पुगेपछि भारत र चीन दुबै ठाउँबाट आउने स्याउको विक्री बन्द भएको छ ।

कर्णाली प्रदेशका जुम्ला, कालिकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको अर्गानिक स्याउ ठुलो मात्रामा स्थानीय बजारमा आएपछि भारत र चीनबाट आयात गरिने स्याउ विस्थापित भएको छ ।

चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगन्जमा अहिले कर्णालीको स्याउले जताततै बजार पाएको छ । कर्णालीका स्याउको प्रमुख बजार नेपालगन्ज हो । अहिले बजारमा जताततै कर्णालीकै स्याउ विक्री भइरहेको छ ।

भारत र चीनबाट भित्रिएका महँगो स्याउले बजार ओगटेको समयमै कर्णाली प्रदेशबाट ल्याइएका स्याउ कोहलपुर र नेपालगन्जमा ठुलो परिमाणमा बिक्री भैरहेका छन् ।

भारतीय स्याउ प्रति किलो १ सय ७० रुपैयाँ र चीनको स्याउ प्रतिकिलो १ सय ४० रुपैयाँ भन्दा बढीमा विक्री भैरहेको बेला कर्णालीको अर्गानिक स्याउ बाँकेमा ९० देखि एक सय बीस रुपैयाँसम्ममा पाइन थालेपछि अरु स्याउको विक्रि बन्द भएको ब्यबसायीले जनाएका छन् ।

कर्णालीको जुम्ला र कालिकोटबाट ठुलो परिमाणमा स्याउ नेपालगन्ज ल्याएर विक्री सुरु गरिएकोले अन्य स्थानबाट ल्याईएका स्याउ विक्री हुन छाडेको स्थानीय व्यवसायी रमजान कबडियाले बताए ।

उनका अनुसार अहिले जताततै कर्णालीकै स्याउ विक्री भैरहेको छ । भारतीय स्याउ महंगो र चीनको स्याउ त्यति स्वादिलो नभएकोले कर्णालीको स्याउको माग अत्याधिक रहेको छ ।

यसैगरी फलफूलका अर्का थोक विक्रेता शमसेर मियाँले अहिले बजारमा जताततै कर्णालीकै स्याउको माग उच्च रहेकोले अरु स्याउको विक्री बन्द भएको जनाए ।

उनले सीमापारी समेत कर्णालीको स्याउ जान थालेको बताए । सीमापारी रुपैडिहाका केही फुटकर व्यवसायीले कर्णालीको स्याउ लगेर भारतीय सीमावर्ती क्षेत्रमा विक्री गरिरहेका छन् ।

बाँकेको कोहलपुरस्थित कृषि उपज केन्द्रमा दैनिक करिब ३ देखि ५ टनसम्म कर्णालीको स्याउ विक्री भैरहेको छ । सो केन्द्रका अनुसार जुम्लाबाट व्यापारीहरुले कर्णालीका स्याउ कोहलपुर र नेपालगन्ज पठाउने गरेको र त्यसको व्यापार कोहलपुुर र नेपालगन्जमा निकै फस्टाएको छ ।

भारत र चीनका स्याउले बाजार ओगटिरहेका बेला स्वदेशी स्याउ विक्री गर्न पाउँदा निकै खुशी लागेको स्थानीय व्यवसायीको भनाई छ ।

यस क्षेत्रमा कर्णालीको स्याउको माग बढ्दै गएपछि कोहलपुरस्थित भेरी शीतभण्डार सहकारी संस्थामा ठुलो परिमाणमा स्याउ भण्डार भैरहेको र आउने क्रम अझै जारी रहेको भेरी शीतभण्डारले जनाएको छ ।

जुम्लाको स्याउ बजारमा आएपछि अरु सबै स्याउ हराएको स्थानीयले जनाएका छन् । कर्णालीको स्याउ सस्तो र स्वास्थ्यका लागि हितकर समेत भएकाले उपभोक्ताले बढी प्राथमिकता दिएको उनीहरुको धारणा छ ।

टिप्पणी थप्नुहोस्