गौतम बुद्ध बिमानस्थलको निर्माण अन्तिम चरणमा

-राधेश्याम विश्वकर्मा
भैरहवा । भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बिमानस्थलको धावन मार्गको काम सकिएको छ भने प्रशासनिक भवनमा फिनिसिङको काम धमाधम भई रहेको छ ।

भुईमा मार्वल्स बिछ्याउने तथा टाइल्स लगाउने काम भई रहेको छ । टर्मिनल भवनमा पनि मार्बल, टायल, सीसीटिभी, एक्स–रे मेसिन जडान लगायतको काम सुरु भएको छ ।

यस्तै आगमन तथा प्रस्थान भवन तर्फ पनि छानो लगाउने काम अन्तिम अन्तिम चरणमा पुगेको आयोजनाले जानकारी गराएको छ ।

विमानस्थल सुदृढीकरण कार्य आयोजना इकाई रुपन्देहीका प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थल संचालनका लागि आवश्यक संरचना निर्माण अन्तर्गतका भौतिक संरचना निर्माणको अन्तिम अन्तिम अवस्थामा रहेको छ ।

टर्मिनल भवनमा फिनिसिङ र उपकरण जडानको काम सुरु भएको उनको भनाइ छ । उनले अबको काम भनेको बिशेष गरि उपकरण जडानको काम मात्र भएको हँुदा उपकरण आएर जडान भए पछि भौतिक प्रगति स्वतः बढ्ने बताए । अहिले भौतिक पूर्वाधार तर्फ ८२ प्रतिशत काम सकिएको अधिकारीले जानकारी दिए ।

गौतम बुद्ध बिमानस्थलमा अहिले फिनिसिङ्ग, उपकरण जडान तथा कार पार्किङ्ग निर्माणको कामले तिव्रता लिएको छ । उसका साथै ओभरहेड ट्याकीं निर्माण, टर्मिनल भवनमा छानो लगाउने काम कामहरु सामानान्तर रुपमा अगाडी बढाईएको छ । “अब स-साना काम मात्र बाकी छ, सबै उपकरणहरु आई नसकेको कारण यी कामहरुलाई अगाडी बढाउने सकिएको छैन ।”

विमानस्थल सुदृढीकरण कार्य आयोजना इकाई रुपन्देहीका प्रमुख प्रवेश अधिकारीले भने “अहिले उपकरण यहा सम्म आई पुग्नु नै मुख्य चुनौती रहेको छ । बिभिन्न युरोपियन देश, अमेरीका तथा चीन लगायतबाट आउने उपकरण बाटोमै रहेको छ ।”

उपकरणहरु आई सके पछि सम्भवतः सन २०१९ को डिसेम्बर सम्म बिमानस्थलको काम सम्पन्न हुने अनुमान रहेको अधिकारीले बताए । सबै काम सकाएर नेपाल भ्रमण बर्षको पहिलो त्रैमासिक सम्म बिमानस्थल सञ्चालनमा ल्याउने गरि प्रयास भै रहेको उनले बताए ।

त्यसअघि बिमानस्थल सञ्चालनको लागी आवश्यक पर्ने अध्यागमन, क्वारेन्टाईन, भन्सार, मौषम बिभाग, सुरक्षा निकाय लगायतका पदाधिकारीहरु संगको छलफल अगाडी बढाइएको छ ।

सरकारले २०१४ नोभेम्बरमा चिनियाँ ठेकेदार कम्पनी ‘नर्थ वेस्ट सिभिल एभिएसन’ सँग गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि सम्झौता गरेको थियो ।

सम्झौता अनुसार सन २०१७ को डिसेम्बर ३१ सम्म विमानस्थलको ‘आइसिबी एक’ अन्तर्गतका भौतिक पूर्वाधारको सबै काम सक्नुपर्ने थियो ।

तर, बिभिन्न कारणले निर्माण कम्पनीले समयमा काम नसकेपछि समय थप्दै सन् २०१९ को डिसेम्बर सम्ममा ठेकेदार कम्पनीले निर्माणको काम सक्नुपर्ने म्याद रहेको छ ।

सरकारले ६ अर्ब २२ करोड रुपैयाँमा ‘आइसिबी–एक’ अन्तर्गत विमानस्थलको ३ हजार मिटरको रनवे, ट्याक्सी वे, एप्रोन, टर्मिनल भवन र टावर कन्ट्रोल भवन निर्माणका लागि सम्झौता गरेको थियो ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री