जिल्ला प्रशासन कार्यालयको अतिरिक्त सेवाहरु प्रभावकारी भएन्

भैरहवा । समय १० बजेर २० मिनेट गई सकेको छ । सेवाग्राहीहरुको घुईंचो रहेको जिल्ला प्रशासन कार्यालयमा अधिकृतहरुको अत्तोपत्तो छैन । अधिकृतको कोठा अगाडी सेवाग्राहीको लाईनले अधिकृतलाई कुरेको बिहानै देखि हो ।

भीड ब्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयले टोकन प्रणाली ल्याएको थियो तर त्यो टोकन मेसिन पनि प्रयोगविहीन अवस्थामा छ । सेवाग्राहीलाई निःशुल्क चिया कफी उपलब्ध गराउने भनिएको मेसिनमा पनि महिनौं भयो पानी समेत नहालिएको ।

यति मात्र हैन सेवाग्राहीकै लागी संचालनमा ल्याइएको पुस्तकालयमा पनि ताला लगाइएको थियो । प्राथमिक उपचार कक्षको अवस्था पनि उस्तै तालबन्दी ।

यो दृश्य अन्त कतैको नभई नेपालमा पहिलो आईएसओ चिन्ह प्राप्त जिल्ला प्रशासन कार्यालय रुपन्देहीको दृश्य हो । पछिल्लो समय नियमित सेवा बाहेक सेवाग्राहीमुखी अन्य सेवा प्रदान गरी लोकप्रिय हुँदै आएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीको प्रायः अतिरिक्त सेवाहरुले अहिले निरन्तरता पाएका छैनन् । गत जेठसम्म प्रत्येक महिना नयाँ कामको थालनी गर्ने परम्परा तोडिएको छ नै भएको सेवालाई पनि सुचारु गर्न सकिएको छैन ।

टोकन मेसिनमा टोकन नम्बर प्रदान गर्ने कागज नभएर मेशीन महिनौ देखी प्रयोग विहिन अवस्थामा रहेको छ । कर्मचारीहरुले मेसिनमा लाग्ने कागज नै नपाएको बताए । यस्तै मासिक रुपमा सहयोग माग गरी संचालन गर्ने प्रतिवद्धता जनाएको चिया मेसिन पनि संचालनमा आएको केही दिनपछि नै बन्द रहेको छ ।

यस अतिरिक्त पुस्तकालय, निःशुल्क वाईफाई सुविधा, प्राथमिक उपचार कक्षको अवस्था पनि उस्तै छ । अन्य कार्यालयको छड्के अनुगमन गर्ने कार्यालय जिल्ला प्रशासन कार्यालयमै निर्धारित समयमा कर्मचारीहरु उपस्थित हुँदैनन् । सेवाग्राहीहरु घण्टौं कुर्न बाध्य हुने गरेका छन् । पोखराबाट काम गराउन बिहानै जिल्ला प्रशासन कार्यालय पुगेका एक सेवाग्रहीले कार्यालय समय भै सक्दा पनि कर्मचारी नआएको बताउँदै रोष ब्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी महादेव पन्थले गृह मन्त्रालय संग जिल्ला प्रशासन कार्यालयले गर्ने कार्य सम्पादनहरुको सम्झौता गरिएको बताए ।

उनले जिल्ला प्रशासन कार्यालयले गर्ने कामहरु समय अनुसार गर्दै आएको दावी गरे । उनले बिशेष गरि सार्वजनिक सेवाहरुलाई बढी भन्दा बढी रुपमा कसरी प्रभावकारी गर्न सकिन्छ भन्ने बिषयमा कार्यालयले जोड दिएको बताए ।

टोकन मेशीनको पेपर सकिएकोले पेपर आउने बित्तिकै संचालनमा ल्याउने तथा चिया मेसिन आफू आउँदा नै संचालनमा नरहेको प्रमुख जिल्ला अधिकारीले बताए ।

टिप्पणी थप्नुहोस्