सहकारीका बचतकर्ताको ४३ करोड हिनामिना, ४१ विरुद्ध मुद्दा दायर

-सिराज खान
नेपालगन्ज । नेपालगन्जको एक सहकारी संस्थामा बचतकर्ताको ४३ करोड रुपैयाँ भन्दा बढी हिनामिना गरिएको प्रहरी अनुसन्धानले देखाएको छ ।

पाँच महिना लगाएर प्रहरीले गरेको अनुसन्धान अनुसार नेपालगन्जमा रहेको सहकारी वित्तिय विकास संस्थामा ४३ करोड २ लाख ५३ हजार ९५ रुपैंयाँ हिनामिना भएको छ । हिनामिना गर्नेमा संस्थाका ४१ जना कर्मचारी र संचालकहरुको हात रहेको देखिएको छ ।

संस्थाका अध्यक्ष हरदेवबक्स चौधरी लगायतका कर्मचारी र संचालकहरु मिलेर बचतकर्ताको ४३ करोड बढी रकम हिनामिना गरेको पाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सो सहकारी संस्थाका ४१ जना संचालक, पूर्व कार्यसमिति र कर्मचारी लगायतलाई प्रतिवादी बनाएर जिल्ला अदालत बाँकेमा मुद्दा दायर गरिएको छ । मुद्दामा कुल ४३ करोड २ लाख ५३ हजार ९५ रुपैयाँ हिनामिना भएको निष्कर्ष सहितको मागदाबी प्रहरीले गरेको छ ।

जसमा बचत रकमको दाबी गर्दै उजुरी गरेका १ हजार ९ जना २६ करोड ९६ लाख ५ हजार ५ सय ८२ रुपैयाँ पनि संलग्न छ । बचतकर्ताहरुका सावाँ र ब्याज सहितको रकम भराई दिन अनुरोध गरिएको छ ।

४१ जना प्रतिवादी रहेको मुद्दामा अधिकांस भने फरार नै छन् । अपचलन प्रकरणमा प्रहरीले ६ जनालाई मात्रै पक्राउ गरेको छ । प्रहरीले अपचलन र हिनामिनामा संलग्न रहेका दाबी गरेका मध्ये ६ जनाको मृत्यु भैसकेकाले उनीहरु विरुद्ध मुद्दा दायर गरेको छैन ।

प्रहरीले अरुण कुमार पाठक, गंगाधर सुवेदी, गोपाल भण्डारी, बलराम यादव, स्थिरमणी बज्राचार्य, ओम प्रकाश चौधरी, किरण श्रेष्ठ, गौरब कुमार श्रेष्ठ, सुर्य बहादुर बि.क, लिला प्रसाद वली, गंगा भुसाल, सुरत राम खटिक, बिजय कुमार पाठक, हरदेब बक्स चौधरी, रबिन्द्र थापा, चन्द्र प्रसाद तिमिल्सिना, अम्बर बहादुर खड्का लगायत माथि मुद्दा दर्ता गरेको छ ।

प्रहरीले विज्ञ समूह बनाएर अपचलनको अनुसन्धान गरेको थियो । सुरुमा ३५ जनालाई पक्राउ पूर्जी जारी गरेको प्रहरीले पछि ६ जनालाई थप गरेको हो । लामो समयदेखि बचत रकम फिर्ता बारे अन्योलता भएपछि बचतकर्ताहरु सडक आन्दोलनमा छन् ।

सहकारीका पीडित बचतकर्ताले एकदिन पहिले मात्र जिल्ला अदालत, जिल्ला सहकारी संघ र जिल्ला सरकारी वकिलको कार्यालय अगाडि दोषीलाई कारवाही र आफ्नो बचत सुनिश्चित गर्न भन्दै प्रदर्शन गरेका थिए ।

अपचलनमा संलग्न केही कर्मचारीले अपचलन स्वीकार गर्दै सहकारीमा उक्त रकम तिर्ने प्रतिबद्धता सहितको कागज गरेपनि रकम फिर्ता नगरेपछि जेठमा सहकारी वित्तिय विकास संस्था आर्थिक संकटमा फँसेको थियो ।

अपचलन गर्ने कर्मचारीले सुरुमा ३ करोड बढी रकम फिर्ता गरेपछि १० प्रतिशतका दरले केही बचतकर्तालाई फिर्ता समेत गरिएको थियो । तर, पछि प्रतिबद्धता अनुसार, कर्मचारीले रकम फिर्ता नगरेपछि सहकारी बन्द भयो भने प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।

गत पाँच महिनादेखि सहकारीका बचतकर्ताहरुले दिनदिनै सहकारीको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला सहकारी संघको कार्यालय र जिल्ला प्रहरी कार्यालयको घेराउ गर्दै आएका छन् ।

टिप्पणी थप्नुहोस्