रुपन्देहीमा भारतीय अपराधी सक्रिय, कुर्मीका हत्या आरोपी प्रहरी नियन्त्रणमा

-राधेश्याम विश्वकर्मा

भैरहवा । भारतका बिभिन्न स्थानका अपराधीहरु रुपन्देहीका बिभिन्न स्थानमा सक्रिय भएका छन् । जिल्लाका बिभिन्न बैंकमा निर्धक्क पसेर मौका हेर्ने र बैंकबाटै “टार्गेट” पहिचान गरि उनीहरुको पिछा गर्ने तथा मनमाफिक स्थान पाएपछि लुटपाट गर्न अहिले भारतीय अपराधीहरु सक्रिय रहेको प्रहरीले जानकारी दिएको छ ।

भाद्र २९ गते रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ मा अज्ञात समूहको गोली प्रहारबाट मृत्यु भएको ओमसतिया गाउँपालिकाका महेन्द्र कुर्मीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । हत्या आरोपीलाई सार्वजनिक गर्दै प्रहरीले अब प्रहरी मात्र नभई बैंकहरु पनि चनाखो हुनु आवश्यकता औंल्याएको छ ।

कुर्मीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका भारत उत्तर प्रदेश जिल्ला गोरखपुर थाना कम्पियरगन्ज मछरी गाँउ बस्ने बर्ष ४० को मनिष हरिजन (चमार) को लुटपाट गर्ने उद्देश्य मात्र रहेको प्रहरी अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक हेमबहादुर थापाले जानकारी दिए ।

“हत्या गर्ने मनासाय थिएन, तर कुर्मिले रकम रहेको ब्याग छोड्न नमाने पछि उनलाई तर्साउन गोली प्रहार गरिएको थियो ।”हत्या आरोपीको बयानलाई उद्धृत गर्दै थापाले बताए । सुरुमा २ राउण्ड हवाई फायर गरेको र त्यति गरेपछि पनि ब्याग नछोडे पछि उनलाई गोली हानेको हत्या आरोपीले प्रहरीलाई बयान दिएका छन् ।

हत्या गर्नु अघि हत्याराहरु २ वटा मोटरसाईकलमा भारतबाट नेपाल आएर भैरहवा भन्सार कार्यालयको यात्रु शाखाबाट सुविधा पास बनाएको देखिएको थापाले बताए । यस्तै भैरहवाकै एक पसलबाट नेपाली सीम खरिद गरि कुमारी बैंक, हिमालयन बैंक लगायतमा शिकार तलाश गरेका थिए ।

बिशेषगरी महिला र बच्चा रहेको महेन्द्र कुर्मि सजिलै लुट्न सक्ने भएकोले उनिहरुलाई कुर्मिलई पछ्याउदै गएको र अन्ततः हत्या गरि उनीसंग भएको रकम लुटेको प्रहरीको अनुसन्धानमा देखिएको प्रहरी उपरिक्षक थापाले बताए ।

प्रहरीले केन्द्रिय अनुसन्धान ब्यूरोको प्राविधिक सहयोगमा मसिनो गरि अनुसन्धान गरेपछि मात्र यो सफलता हात लागेको प्रहरी प्रमुख थापाले बताए । बिभिन्न बैंकका सीसीटिभी फुटेज, फोन डिटेल लगायतको गहन अध्ययन गरिएको र अपराधी पक्राउ गर्न बिभिन्न टोली परिचालन गरिएको थापाले बताए ।

भारतमा समेत हिष्ट्रिशिटर रहेका यी अपराधीहरुको भारतीय प्रहरीले खोजी गरि रहेको नेपाल प्रहरीको दावी छ । महेन्द्र कुर्मि मारिएका ठिक एक महिना पछि रुपन्देही प्रहरीले उनको हत्यामा संलग्नलाई समाउन सफल भएको छ ।
यससंगै अब यस आसपासमा लुटपाटका घटनामा केही कमि आउने आशा गर्न सकिन्छ । अहिले पक्राउ गरिएका हरिजन यस अघि गैड्हवा गाउँपालिकामा भएको लुटपाटमा संलग्न रहेको प्रहरीको दावी छ ।

प्रहरीको अनुसन्धानबाट कुर्मीको हत्यामा अहिलेसम्म कुनै पनि नेपाली पक्षका संलग्नता नदेखिएको प्रहरीको भनाई छ । बिशेष गरि लुटपाट गर्ने उद्देश्यले भारतीय अपराधीहरुबाट गरिएको उनले बताए ।

हरिजनलाई बिशेष सुराकीका आधारमा सिद्धार्थनगर नगर पालिका वडा नम्बर २ मेउडिहवाबाट पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक हेम बहादुर थापाले बताए ।

सेतो रंगको हेलमेट लगाई युपी ५३ डिबी ९९८३ नम्बरको कालो रंगको पल्सर मोटरसाईकलमा भारत तर्फबाट नेपाल तर्फ आउँदै गरेका हरिजनलाई नियन्त्रणमा लिइएको थापाले बताए । हत्यामा अन्य २ जनाको समेत संलग्नता रहेको अभियुक्तहरुको तदारुकताका साथ खोजी कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी प्रमुख थापाले अब बैंकले पनि आफ्ना ग्राहकहरु प्रति निगरानी बढाउन आवश्यक रहेको बताए । उनले बैंकमा अनावश्यक रुपमा बस्ने, टेलरसम्म नपुग्ने लगायतका ग्राहकहरु माथी निगरानी राखी शंकास्पद ब्यक्ति बारे प्रहरीलाई खबर गर्न समेत आग्रह गरे ।

उनले अझै पनि सो गिरोहका केही ब्यक्तिहरु फरार रहेको हुँदा सर्वसाधारण पनि चनाखो भई कारोबार गर्न सुझाव दिए ।

टिप्पणी थप्नुहोस्