काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैर आवासीय नेपालीहरुलाई सकेसम्म स्वदेशमै आएर आफ्नो सीप र क्षमताको उपयोग गर्न, नभए विदेशबाटै गैर आवासीय नेपालीका रुपमा स्वदेशको विकासका लागि विविध क्षेत्रबाट योगदान गर्न आह्वान गरेका छन् ।
भर्खरै सम्पन्न गैर आवासीय नेपाली संघको नवौं अन्तर्राष्ट्रिय सम्मेलननबाट निर्वाचित पदाधिकारीलाई बालुवाटारमा आमन्त्रण गरी बधाई-शुभकामना दिँदै उनले देशमा पहिलेको भन्दा बढी भ्रष्टाचारका विरुद्धमा कारवाही चलिरहेको बताए ।
सुशासनका दिशामा उल्लेखनीय कामहरु भइरहको बताउँदै उनले भने, ‘दुई वर्षपछि अर्को अधिवेशनका समयमा तपाईंहरुले देशको मुहार निकै फेरिएको पाउनु हुनेछ ।’
गैर आवासीय नेपालीहरुले नेपालमा सामाजिक जागरण फैलाउन र समाजलाई नै उद्यमशीलता तर्फ द्रूतगतिका साथ अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास आफूलाई भएको बताउँदै उनले भने, ‘अहिले तपाईंहरु गर्व गर्न सक्नुहुन्छ, अन्तर्राष्टिकय रुपमै नेपालको छवि माथि उठेको छ ।’
प्रधानमन्त्रीले भने, ‘गैर आवासीय नेपालीले परिचय पत्र पाउने छन, जसमा राजनीतिक अधिकार वाहेक सबै अधिकारहरु त हुने नै छन, हामी अझ बढी केही सुविध वा लगानी गर्न सहज हुने अधिकारहरु पनि समावेश गर्न चाहिरहेका छौं ।’
उनले अगाडि भने, ‘अरु देशमा काम गरिरहेको नेपालीहरुका लागि बसेको देशमा बढीभन्दा अधिकार सुरक्षित होस, श्रमको रोजगारीमा जानेले कसरी अधिकार सुरक्षित र सुविधा कसरी हुनसक्छ भन्ने विषयमा ध्यान पुर्याएर काम गरी रहेका छौं । त्यसैका लागि हामी विभिन्न देशहरुसँग श्रम सम्झौता गरिरहेका छौं ।
टिप्पणी थप्नुहोस्