आलम पक्राउ प्रकरणः कांग्रेसको चरित्रमाथि प्रश्न

-रोमन आचार्य

काठमाडौं । २७ असोज २०७६ मा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै लेखे,‘अनुसन्धान मार्फत निर्दोष या दोषी ठहर हुने कानुनी प्रक्रियालाई सबैले सघाउनु पर्छ । अफताव आलम पक्राउ प्रकरणमा पनि सत्य यही हो । कांग्रेसको यो केन्द्रीय धारणा रौतहट कांग्रेसले मंगलबारबाट अनिवार्य बोक्नेछ । निर्दोष कहिल्यैपनि दण्डित हुनुहुन्न दोषी कसैलेपनि उन्मुक्ति पाउनुहुन्न ।’

२६ असोज २०७६ मा पूर्वमन्त्री तथा रौतहट कांग्रेसबाट प्रतिनिधि सभा सांसद अफताव आलम पक्राउ परेसँगै प्रवक्ता शर्माको यस्तो ट्वीट आएको थियो । शर्माको ट्वीटलाई रिट्वीट गर्दै २७ असोज २०७६ कै दिन अर्का कांग्रेस नेता तथा सांसद गगन कुमार थापाले ‘निर्दोष कहिल्यैपनि दण्डित हुनुहुन्न दोषी कसैले पनि उन्मुक्ति पाउनुहुन्न । यही नै हो कांग्रेसको धारणा । पात्र र परिस्थिति हेरेर हाम्रो धारणा बन्दैन/बदलिँदैन’ भन्दै ट्वीट गरे ।

त्यसको भोलिपल्ट अर्थात् २८ असोजका दिन कांग्रेस नेता धनराज गुरुङ्ले ‘हत्या, बलात्कार, भ्रष्टाचार लगायतका अपराधलाई राजनीतिको पछ्यौरीले छोपेर सिंगो राजनीतिलाई विकृतिको थलो बनाइरहेका छौं । जतिसुकै उच्च ओहदाको भएपनि निष्पक्ष छानविनको लागि अपराधको आरोपी कानुनको कठघरामा उभिनै पर्छ । लोकतन्त्र भनेकै विधिको शासन हो’ भनि ट्वीट गरे ।

कांग्रेसको राजनीतिमा पछिल्लो समय फरक पहिचान बनाइरहेका शर्मा, थापा र गुरुङ्को अडान आपसमा मिलेपछि आलमलाई कारवाहीको दायरमा ल्याउनु पर्ने कांग्रेसको धारणा बुझियो । तर, १ कार्तिक २०७६ मा भने एकाएक राजनीतिक परिस्थिती बदलियो । पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाले १२ वर्ष अघिको मुद्दालाई ब्यूझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको भनि सार्वजनिक कार्यक्रममा भाषण गरेसँगै लोकतान्त्रिक दल कांग्रेसको लोकतान्त्रिक चरित्र उदाङ्घो भएको भनि आलोचना भएको छ ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा शुक्रबार भक्तपुरमा आयोजित दुईदिने प्रशिक्षणको उद्घाटन गर्दै देउवाले यस्तो भाषण गरेका थिए । उनले भनेका थिए–‘१२ वर्षसम्म के हेरेर बसेको ? यसबाट सबै कुरा स्पष्ट हुन्छ । यो दुःख दिने काम हो ।’ यही अभिब्यक्तिबाट आलोलित बनेका देउवाले पछि विज्ञप्ती नै निकालेर सच्याए ।

आलमको कर्तुत

घटना १२ वर्ष पुरानो हो । अर्थात् २७ चैत २०६४ को हो । तत्कालीन राजपुर फरहदवा गाविस–४ हालको राजपुर नगरपालिका–२ मा बम विष्फोट भएको थियो । त्यो विष्फोटको मुख्य दोष आलममा छ । घटनामा कति जनाको मृत्यु भएको थियो, त्यो भने खुल्न सकेको छैन ।

२८ चैत २०६४ मा पहिलो संविधान सभाको निर्वाचनमा मतदान हुने दिन थियो । मोहम्मद अफताव आलम रौतहट क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । जसरी भए पनि उनले त्यहाँबाट निर्वाचन जित्नु थियो । बुथ कब्जा गर्ने, जनतालाई त्रसित बनाउने योजना उनले बुने । त्यसका लागि बम बनाउने र जनता तर्साउने योजना बन्यो । योजना मुताविक बम तयार हुँदै थियो, तर २७ चैत्र २०६४ को त्यो साँझ बम अचानक विष्फोट भयो । बम बनाउने कार्यमा लागेकाहरु घाइते भए । अवस्था नाजुक बन्यो । योजना अनुरुप काम हुन नसक्ने अवस्था आयो ।

उनले घाइतेहरुलाई उपचार गरेनन् । उनीहरुलाई लगेर इटाभट्टामा हत्या गर्ने काम भयो । उनीहरुलाई जिउँदै इटाभट्टामा लगेर पोल्ने काम भयो । उक्त बम प्रकरणमा घाइते भएका आलमा विश्वास पात्र सखी मोहम्मद पनि पक्राउ परेसँगै प्रहरीले थप अनुसन्धान गरिरहेका छ । जिल्ला अदालत रौतहटले आइतबार प्रहरीलाई अनुसन्धान गर्न थप पाँच दिनको म्याद थपिदिएको छ ।

घटना भएको केही दिन पश्चात् अध्ययन गर्न पुगेको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)को टोलीलाई प्रत्यक्षदर्शीले त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँ कवारी घाइते भएको र उनीहरुलाई इटाभट्टामा लगेर हत्या गरिएको जानकारी दिएका थिए । आलमले प्रहरीको सहयोगमा घाइतेहरुलाई इटाभट्टामा लगेर हत्या समेत रहस्यहरु सार्वजनिक भएका छन् ।

विवादित अभिब्यक्ति

रौतहट घटना हुँदा सरकार कांग्रेसको थियो । प्रधानमन्त्रीको स्व. गिरिजाप्रसाद कोइराला थिए भने गृहमन्त्रालय नेता कृष्णप्रसाद सिटौलाले सम्हालेका थिए । तत्कालीन गृहमन्त्री तथा नेता सिटौला अहिले आलमको बचाउ गर्ने किसिमका अभिब्यक्ति दिइरहेका छन् । १ कार्तिक २०७६ को दिन सभापति देउवासँगै भक्तपुरको आयोजित कार्यक्रमलाई सम्बोधन गर्न पुगेका नेता सिटौलाले कार्यक्रमलाई सम्बोधन गर्दै ‘पत्रपत्रिकालगायत सबै संचारमाध्यमले समेत ‘ग्रान्ड डिजाइन’ बनाएर कांग्रेसविरुद्ध लागेका छन् । कांग्रेस सांसद मोहम्मद अफताब आलमको विरुद्ध आएका समाचार यसको नमूना हो ।’

तर, उनै सिटौलालाई सोही समयमा घटनाको सत्यता पत्ता लगाउन गम्भीरता नदेखाएको आरोप लागेको छ । लोकतान्त्रीक पार्टीको जिम्मेवार नेता तथा तत्कालीन गृहमन्त्रीको भएको कारणले पनि सत्यतथ्य उजागर गर्न दवाव दिनुपर्ने समयमा नेता सिटौला आरोपीको पक्षपोषण गर्न लागि परेको भनेर आलोचना भइरहेको छ । तर कतिपयले सिटौलाको सो अभिब्यक्तिलाई गलत ब्याख्या गरिएको बताइरहेका छन् ।

कांग्रेस केन्द्रिय सदस्य धनराज गुरुङ पूर्वमन्त्री, पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत जो कोही पनि आफ्नो व्यक्तिगत स्वार्थ र अपराधिक आरोपमा अनुसन्धानमा रहेका व्यक्तिको पक्षपोषण गर्न नहुने तर्क गर्छन् । ‘‘व्यक्तिको हितमा बोलेर देशको अहित पुर्‍याउने छुट र अधिकार कसैलाई छैन’, रुपान्तरणसँग कुराकानी गर्दै उनले भने,‘‘व्यक्तिगत धारणा नै राख्ने हो भने देश र जनताको हितमा हुनुपर्छ ।’’

नेपालको कानुन र नेपालको राजनीतिलाई नजिकबाट नियालेका वरिष्ठ अधिवक्ता तथा कानुनविद श्री हरी अर्याल देउवा र सिटौलाले अभिव्यक्ति कांग्रेसभित्र लोकतान्त्रिक मूल्य मान्यता समाप्त हुनुको उपज हो भन्छन् । रुपान्तरणसँग कुराकानी गर्दै अर्यालले भने–‘‘ प्रहरीले पक्राउ गरेर अनुसन्धानमा रहेका आरोपीको पक्षमा कांग्रेसका जिम्वेवार नेताहरुले बोल्छन् भने, लोकतान्त्रिक पार्टीले लोकतन्त्रको विरुद्धमा काम गरेपछि यो देशमा लोकतन्त्रको भविष्य सुरक्षित छैन ।’’

पार्टी वक्तव्यको प्रसंग

पार्टीको जिम्मेवार व्यक्तिले नै आपराधीक कृयाकलापमा संलग्न सांसदको संरक्षण गरेको भन्दै आलोचना भइरहेको छ । यद्यपी, आलमका विषयमा आएका अभिब्यक्तिहरुको गलत ब्याख्या गरिएको भनी शीर्ष नेताहरुले आपत्ति जनाइरहेका छन् । सामाजिक संजालमा कांग्रेस क्रियाशिल सदस्य तथा कार्यकर्ता पदम निरौलाले लेखेका छन्–‘‘शेर वहादुर देउवा र कृष्ण सिटौलाको मित्रता प्रगाढ छ । हेर्नुस् दुबै आलम पक्राउको विरोध गर्दैछन् । फेरि आउने महाधिवेशनमा कृष्ण सिटौला प्रस्तावक अनि शेरवहादुर देउवा सभापति । यसैलाई भन्छ ‘अपना काम बन्ता भाड मे जाए पार्टी जनता ।’’

वरिष्ठ अधिवक्ता अर्याल वक्तव्यमा प्रयोग भएको भाषा सार्वजनिक कार्यक्रममा प्रयोग गरेको भए कांग्रेसको शाख जोगिने बताउँछन् । उनी देउवा र सिटौलाले शुक्रबार सार्वजनिक कार्यक्रममा दिएको मन्तव्यले उनीहरुको वास्तविक धारणा वुझ्न सकिने बताउँछन् । नेपाली जनताले शिर्ष नेताहरुको मन र मस्तिष्कको कुरा बुझीसकेपछि जनताको मस्तिष्कमा बसेको कुरा र परेको छाप मेट्न गाह्रो हुने तर्क गर्छन् ।‘ शेरबहादुर ज्यूले जुन् किसिमको भाषण गर्नुभयो र अभियुक्तको संरक्षणमा शव्दहरु खेर फाल्नुभयो, त्यसले कांग्रेसलाई धेरै ठूलो धक्का लागेको छ,’उनी भन्छन् ।

पार्टी केन्द्रिय सदस्य धनराज गुरुङ भने सभापति र जिम्मेवार नेता सिटौलाले के कारण र स्वार्थले त्यस्तो अभिव्यक्ति दिनुभयो त्यो आश्चर्यजनक भएको बताउँछन् । उनी व्यक्तिपिच्छे फरक फरक धारणा बनेका कारणले पार्टीले आधिरकारिक वक्तव्य निकालेको बताउँछन् । ‘‘म सबैलाई आलम प्रकरणमा त्यहीँ वक्तव्यलाई आधिकारीक मान्न अनुरोध गर्दछु’’, उनी भन्छन्–‘‘सानालाई ऐन र ठूलालाई चैन भन्ने कुरा हुँदैन, जुनसुकै ओहोदाको भए पनि दोषीले कारवाही पाउनुपर्छ । निर्दोषले न्याय पाउनु पर्छ ।’’

टिप्पणी थप्नुहोस्