माटाका भाडा बनाउने कोहार उत्साहित

-राधेश्याम विश्वकर्मा
भैरहवा । तिहारका लागि माटोबाट बनेको पाला (दियो) को ग्राहक बढेपछि पाला बनाउने कोहार समुदाय उत्साहित छन ।

बिशेषगरी तिहारलाई नै लक्षित गरि बनाएको माटोको सामाग्रीले राम्रो बजार लिएको भनि उनीहरु हर्षित भएका हुन । रोहिणी गाउपालिका– ३ धकधईका ६८ बर्ष पुगी सकेका रामनरेश कोहारले यस बर्षको दिपावलीमा ४० हजार वटा विक्री गर्नेगरी माटाका पाला तयार गरेका थिए ।

दिपावलीबाट नै बर्षभरि पुग्ने खर्चको जोहो गर्नुपर्ने उनलाई बाध्यता छ । उनले पाला बिक्री गरेर नै चारगोन जति धान र २० हजार जति पैसा कमाएको बताए ।

उमेर ढल्किंदै गएका कारण कारण पहिलाको तुलनामा धेरै कम पाला बनाउने गरेको उनले बताए । ‘१४–१५ बर्षको उमेरदेखि नै माटोको भाँडा बनाउन शुरु गरेको हुँ, ’ कोहारले भने, ‘यसको बजार पहिले भन्दा अहिले राम्रो छ ।’

रामनरेश जस्तै रोहिणी गाउँपालिका–३ मा रहेका ३२ कोहार परिवारलाई अहिले माटोका सामाग्री पाला, घण्टी, कोसा, भुडकी लगायतका सामाग्री बिक्री गर्न भ्याई नभ्याई छ । उनिहरु स्थानिय बजार मात्र नभई नारायणगढ, स्याङ्गजा पोखरासम्म माटोको सामाग्री विक्री गर्ने गरेको बताउँछन् ।

रामनरेश जस्तै ३५ बर्षिय साधे कोहारले अहिले त ग्राहकहरु घरमै समान किन्न आउने गरेका बताउँछन । ‘बनाउन मात्र धौधौ हो, बजारलाई समस्या छैन’ साधेले भने ।

बजार राम्रो रहेपनि अबका पुस्ताले आफ्नो पराम्परागत पेशामा रम्न नसकेको अगुवा कोहारहरुको गुनासो छ । रामनरेशका दुई छोरा मध्ये रामजस अहिले बिदेशबाट कमाएर घर फर्किएका छन ।

उनले माटोको काममा लगानी बढी र आम्दानी कम भएपछि आफुले यो कलामा रुचि नदेखाएको बताए । ‘भाँडा बनाउन माटो नै पाईन, जर्ना दाउराको पनि उस्तै समस्या छ । लगानी नै बढी आउँछ त्यसैले बुवा नै यसको अन्तिम कलाकार हो, ’ रामजसले भने ।

माटोलाई सुन्दर आकृति दिन खप्पीस मानिने कोहार समुदाय बिभिन्न समस्याहरुका ै कारण यो कलात्मक पेशा गुमाउने अवस्थामा पुगेका छन । माटोबाट भगवान, जनावरको आकृति, भुडकी, पाला लगायतको सामाग्री बनाउने यो समुदायका अधिकांश युवा पाला बाहेक अरु केही बनाउनै सक्दैनन् । आम्दानी नै कम भएको हुँदा बैकल्पिक पेशा तिर लागेको उनीहरुको भनाई छ ।

कोहार समुदायलाई सबै भन्दा बढी समस्या माटो र जर्ना दाउराको रहेको अगुवा रामनरेश कोहार बताउँछन । यो सिजनमा ४० हजार पाला विक्री गर्ने लक्ष्य राखेका उनले जर्ना दाउराले लागत बढाएको सुनाए ।

‘बनाउन सके त जति पनि बिक्छ, बजारको कमी छैन तर भाँडा पकाउन दाउरा नै पाईन्न’, कोहारले आफ्नो समस्या सुनाए । १५ बर्षको उमेरदेखी माटो सित खेल्दै आएका उनले स्थानिय तहको सहयोगको आश समेत गरे ।

लगानी बढी भए पनि यसैलाई आफ्नो पेशा नै बनाएका पनि केही कोहार समुदाय छन । कोही दिपावलीमा मात्र त कोही अन्य महिना यहि कामबाट आम्दानी गरि आफ्नो परिवार पालेका छन ।

५६ बर्षिय रामदेव कोहार सिजनको रुपमा ब्यापार गर्छन । यो दिपावलीमा उनले करिब ३० हजार पाला बेचेर चारगोन जति धान र २० देखी २५ हजार नगद कमाउने लक्ष्य राखेका छन । यसबाट र अन्य खेतीको उत्पादनबाट उनी आफ्नो परिवारको खर्च धान्ने मनस्थितिमा छन ।

उनीभन्दा अलि ठूलो कारोबार गर्ने हुन राम किसुन कोहार उनले माटोको भुडकी बनाएर पोखरासम्म बजार फैलाएका छन । बिशेष गरि माटोको भुडकी र अन्य भाँडा बनाउन खप्पिस उनी यसैबाट आफ्नो परिवार चलेको सुनाए ।

स्थानीय तहहरुले यस्ता पराम्परागत सीपलाई संरक्षण गर्न आवश्यक रहेको उनीहरुको भनाई छ । स्थानिय सरकारले यस्ता सीपमूलक ब्यवसायमा लगानी गरे नयाँ पुस्ता यसमा आकर्षण हुने सम्भावना प्रयाप्त रहेको स्थानिय महेश कोहारले बताए ।

‘यस्ता मौलिक पेशालाई ब्यवस्थित र सीपमूलक बनाउन तर्फ राज्यको ध्यान गए आफ्नो पेशा पनि संरक्षित हुने र जिवन निर्वाहको लागी बिदेशिनु पर्ने समस्या हट्ने छ’ महेशले भने ।

टिप्पणी थप्नुहोस्