पाँच बर्ष वित्यो, बाढीपीडितले राहत पाएनन्

-सिराज खान

नेपालगन्ज । बाँकेका बाढीपीडितका लागि सरकारले दुई करोड रुपैयाँ पठाएको पाँच बर्ष विते पनि अझै पीडितले सो रकम पाएका छैनन् । सो रकम के भयो भन्ने बारेमा अहिले आएर बाँके प्रशासनले छानविन शुरु गरेको छ ।

वि.स. २०७१ सालमा आएको बाढीबाट पीडित भएकाहरुका लागि आएको रकम तत्कालिन गाविस सचिवहरुले ‘पेश्की’ का रुपमा लिएर खर्च गरेको हुँदा रकम पीडितले नपाएको थाहा भएको छ । सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय बाँकेले छानविन शुरु गरेको जानकारी गराएको छ ।

बाढीपीडितका लागि गाउँमा गएको रकम हालसम्म वितरण नगरी तत्कालिन गाविस सचिवहरुले खर्च गरेको भन्दै लक्ष्मणपुर बाँध पीडित संघर्ष समितिले दिएको निवेदनलाई आधार मानेर जिल्ला प्रशासन कार्यालय बाँकेले छानविन शुरु गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले सो को सम्पूर्ण विवरण उपलब्ध गराउन संघीय अयोजना कार्यान्वयन इकाईका नाममा पत्र लेखेको छ । २०७१ सालमा आएको बाढीबाट आंशिक पीडित भएकालाई प्रतिघर पाँच हजार रुपैयाँ दिन दुई करोड रुपैयाँ जिल्लामा आएको थियो । त्यो रकम अहिलेसम्म बाँडिएको छैन ।

तत्कालिन गाविस सचिवहरुले ‘अपुग’ पैसा आएको भन्दै बाँडेका थिएनन् । खर्च गरिएको रकमको सोधिखोजी हुन थालेपछि गाविस सचिवहरुले पेश्कीको रुपमा खर्च गरेको भन्दै देखाउन थालेका छन् ।

छानविन शुरु गरिएपछि तत्कालिन वनकट्टी गाविसका सचिव नन्दकिशोर मिश्रले पाँच लाख रुपैयाँ फिर्ता गरेका छन् । अरु गाविस सचिवहरुले फिर्ता गरिसकेका छैनन् । केहीले गाउँपालिकाको खातामा राखिदिएको जानकारी दिएका छन् ।
संघर्ष समितिले सूचना माग्दा संघीय आयोजना कार्यान्वयन इकाईले अहिलेसम्म त्यो रकम बाँडेको थाहा नभएको र पेश्की पछ्र्यौट नगरेको जानकारी दिइसकेको समितिका सचिव राजकुमार शुक्लाले बताए ।

उनले त्यति बेला घरबारविहिन भएकाहरुले अझैसम्म पनि राहात नपाएकोले विचल्लीमा परेको बताए । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार २०७१ सालमा बाँकेमा आंशिक क्षति भएका ९ हजार तीन सय ३० घरपरिवार थिए ।

उनीहरुलाई ५/५ हजारका दरले राहत दिने भनिएको थियो । आर्थिक वर्ष २०७१/०७२ मा आंशिकका लागि आएको दुई करोड रुपैयाँ सम्बन्धित गाविसमा पीडितलाई दिन दामासाही हिसावले बाँडेर पठाइएको थियो । त्यतिबेला राप्ती नदीमा आएको बाढीले सबैभन्दा धेरै साविकको फत्तेपुर, होलिया, बेतहनी, गंगापुर, कम्दी, वनकट्टी गाविसमा क्षति पुर्याएको थियो ।

२०७१ सालका बाढीपीडितका लागि आएको रकम अझै पनि पीडितले नपाएको जानकारी आएलगत्तै छानविन शुरु गरिएको जनाउँदै सो रकम जसले खर्च गरेको भएपनि असुल उपर गरेर पीडितलाई वितरण गरिने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाले बताए । सो रकम खर्चगर्ने अधिकांश तत्कालिन गाविस सचिवहरु सम्पर्कमा आइसकेको पनि उनले जनाएका छन् ।

टिप्पणी थप्नुहोस्