गाउँपालिकामा पनि विकास सम्मेलन : मुख्यमन्त्रीले गरे उदघाटन

-सिराज खान

नेपालगन्ज । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विकास र लगानी सम्मेलन हुने गरेको त हामी सबैलाई थाहै छ । तर, बाँकेको एउटा गाउँपालिकाले पनि आफ्नो पालिकाको विकासका लागि बिकास सम्मेलन गरेको छ ।

बाँकेको खजुरा गाउँपालिकाले देशकै नमुना गाउँपालिका बनाउने उदेश्यले आफ्नो गाउँपालिकामा विकास सम्मेलनको आयोजना गरेको हो । गाउँपालिकाले गरेको सो सम्मेलनलाई प्रदेश पाँचका मुख्यमन्त्रीले आएर उदघाटन गरेपछि सम्मेलनको महत्व झनै बढेको हो ।

खजुराको बृहत्त विकासका लागि भनेर आयोजना गरिएको विकास सम्मेलनको बुधवार प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले उदघाटन गरे । उनले एउटा सानो स्थानीय तहले विकास र लगानीका संभावनाको खोजी गर्न सम्मेलननै गरेर शुरु गरेको पहल निकै सकारात्मक रहेको बताए ।

सरकारले विकासमा नै बढी ध्यान केन्द्रित गरेको बेला गाउँपालिकाले पनि विकासको यति ठुलो चिन्ता गर्नु भनेको अतिनै सराहनीय रहेको उनले बताए ।

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिका अनुसार, खजुरा समृद्धिका आधार, अवसर र सम्भाव्यतालाई पहिल्याउँदै खजुरा गाउँपालिकाको नीतिगत प्राथमिकता तय गर्न सहज वातावरण बनाउन, सहभागितामुलक, लोकतान्त्रिक तथा समावेशी आर्थिक विकास गर्न, खजुरा गाउँपालिकाको योजना निर्माणका लागि मार्गरेखा तय गर्नका लागि सम्मेलन आयोजना गरिएको हो ।

गाउँपालिकाको दिगो र समतामुलक विकासको आयाम र प्रवद्र्धनका अभ्यास यसको प्रभावबारे सिकाई आदानप्रदान गर्न र खजुरा क्षेत्रका विषय विज्ञ, प्राज्ञिक सामाजिक तथा आर्थिक विकासमा अभ्यासरत व्यक्तित्वहरुबाट पृष्ठपोषण ग्रहण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको उनले बताए ।

दुई दिनसम्म संचालन हुने सम्मेलनमा खजुरा क्षेत्रका तथा खजुरामा स्थायी बसोबास रही कामको शिलशिलामा विदेशमा रहेका २५० जना बढी व्यक्तिहरुको सहभागिता रहेको सम्मेलन आयोजक समितिका संयोजक भक्तबहादुर केसीले जनाए ।

संयोजक केसीका अनुसार, सम्मेलनमा विषय विज्ञहरुले तयार पारेको आर्थिक विकास, विकासमा जनसहभागिता, योजनावद्ध खजुरा शहर, लैंगिक र महिला सशक्तिकरणमा खजुरा, खजुरामा कृषि : समृद्ध खजुराको आधार, गुणस्तरीय र प्राविधिक शिक्षाको मार्गरेखा, गुणस्तरीय स्वास्थ्य सेवा र खजुरा, समावेशी खजुरा, खेलकुद र सिर्जनशील खजुरा विषयमा कार्यपत्र प्रस्तुत गरिने छ ।

त्यस्तै हरेक कार्यपत्रको अध्यक्षता छुटाछुटै हुने, कार्यपत्रमाथि विशेष छलफलसहित कार्यपत्र पारित गरिने छ । खजुरामा पहिलो पटक भैरहेको सो प्रकारको सम्मेलनमा खजुरा गाउँपालिकाका जनप्रतिनिधि, खजुरा क्षेत्रबाट संघीय तथा प्रदेशमा प्रतिनिधित्व गर्ने सदस्य, विषय विज्ञ, प्राज्ञ तथा विभिन्न पेशामा लागेका पेशाकर्मीहरुको समेत सहभागिता रहेको छ ।

स्थानीय तहले गरेको विकास सम्मेलन देशमैं पहिलो नमूना अभ्यास भएको जनाउँदै खजुरा सम्मेलन आयोजक समितिका सचिव किरण ढकालले सम्मेलनमा बिभिन्न बिषयमा कार्यपत्र प्रस्तुत गरि खजुराको नमूना विकासका लागि दीर्घकालीन अवधारणा तयार गर्ने उद्देश्य राखिएको जनाए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री