बाँकेमा १८ हजार हेक्टर धान खेतीमा फौजी किराको प्रकोप फैलियो

नेपालगन्ज । बाँकेको कुल धानखेतीमध्ये आधामा फौजी किराको प्रकोप फैलिएको छ । कुल ३६ हजार पाँचसय हेक्टर क्षेत्रफलमा धानखेती भएकोमा हालसम्म १८ हजार हेक्टर क्षेत्रफलको धानबालीमा फौजी किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ ।

कृषि ज्ञान केन्द्र नेपालगन्जका बाली संरक्षण अधिकृत शकिल अहमदका अनुसार बाँकेमा जताको खेतमा गयो त्यता फौजी किराको प्रकोप देखिएको छ ।

उनका अनुसार, बाँकेमा प्रति हेक्टर तीन मेट्रिक टन धान उत्पादन हुने गरेको छ । फौजी किराले १८ हजार हेक्टरको धान सखाप पारेपछि बाँकेमा यसवर्ष धान उत्पादनमा करिब ४० प्रतिशत र्‍हास आउने देखिएको छ ।

बाँकेमा बार्षिक सरदर एक लाख नौ हजार ५०० मेट्रिक टन धान उत्पादन हुने गरेकोमा यसवर्ष करिब ४० प्रतिशत र्‍हास आउने बाली संरक्षण अधिकृत अहमदले बताए । उनले विषादी छर्किएपनि फौजी किराको प्रकोप नियन्त्रण नभई झनै फैलिंदै गएको जनाए ।

उता, पाकेर काट्न तयार रहेको धानबालीमा लागेको फौजी किराले धान सखाप पारेपछि जिल्लाका सयौं किसान चिन्तामा डुबेका छन् । उनीहरुले किराको नियन्त्रण र क्षतिपूर्तिको माग गर्दै पहिले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई र पछि प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापन पत्र बुझाएका छन् ।

डुडुवा गाउँपालिका वडा नं. ६ मा भएको किसानहरुको भेलाले क्षतिपूर्ति र किरा नियन्त्रणका लागि सरकारलाई दबाब दिन किसान रामधिन यादवको अध्यक्षतामा फौजी किरा पीडित संघर्ष समिति गठन नै गठन गरेको छ ।

फौजी किराको प्रकोप फैलिएको अवस्थामा स्थानीय तहहरुले वेवास्ता गरेको आरोप पनि अधिकांश किसानको छ ।

नियन्त्रणका लागि समिति गठन

बाँके र बर्दियामा पाक्न लागेको धानबालिमा फैलिएको फौजी किराको प्रकोप नियन्त्रणका लागी एक समिति गठन गरिएको छ । कृषि ज्ञान केन्द्र नेपालगन्जका बालि संरक्षण अधिकृत सकिल अहमदको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा किसान परीयोजनाका टुकनारायण अर्याल, सीमिट परीयोजनाका कार्मीन जोशी, आपिएम आइएलका पदम वहादुर खड्का र फियान नेपालका प्रकाश नेगी रहेका छन् । समितिले फौजी किराबाट जोगिन किसानहरुलाई सचेत पार्ने कार्य गर्नुका साथै विषादी छर्कने काम पनि गर्ने बताईएको छ ।

कृषि मन्त्रीद्धारा स्थलगत निरिक्षण

यसैविच प्रदेश नम्बर ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रि आरती पौडेलले बाँके र बर्दियामा धान बालिमा फौजि किराको प्रकोपबाट क्षति व्यहोरेका किसानको खेतमै पुगेर अनुगमन गरेकी छन् ।

कृषि प्रावधिक सहित बाँके र बर्दियाका प्रभावित क्षेत्रमा पुगेर मन्त्रि पौडेलले निरिक्षण र अनुगमन गरेकी हुन् । बाँकेको डुडुवा गाउँपालिका देखि अनुगमन सुरु गरेर मन्त्रि पौडेलले बर्दियाको राजापुर क्षेत्रसम्म पुगेकी थिइन् । धानबालिमा फौजी किराले ठुलो नोक्सानि पुर्‍याएको पाईएको जनाउँदै उनले सरकारले किसानलाई सहयोग गर्ने बताएकी छन् ।

टिप्पणी थप्नुहोस्