भाटभटेनीको १८ औं शाखा नेपालगन्जमा, निर्माण अन्तिम चरणमा

-सिराज खान

नेपालगन्ज । देशभरी १७ वटा भाटभटेनी सुपर मार्केट संचालन गरिरहेको भाटभटेनी सुपर मार्केट व्यवस्थापनले नेपाली उपभोक्तालाई सीमापारी जानबाट रोक्न नेपालगन्जमा पनि सुपर मार्केट निर्माण भइरहेको छ ।

यो भाटभटेनीको १८ औं शाखा हो । नेपालगन्जको कारकाँदोमा एक अर्बको लगानीमा निर्माण भैरहेको सो सुपर मार्केटले नेपाली उपभोक्तालाई सामान खरिदका लागि सीमापारी जानबाट रोक्ने र सीमापारीका उपभोक्तालाई नेपालगन्ज भित्र्याउने अपेक्षा गरिएको छ ।

आगामी फागुनबाट संचालनमा ल्याउने गरी निर्माण भैरहेको उक्त सुपर मार्केट बुटवलबाट पश्चिमतर्फको हालसम्मकै पहिलो ठूलो सुपर मार्केट भएको भाटभटेनी सुपर मार्केट नेपालगन्ज शाखाका प्रबन्धक बिनोद भट्टराईले बताए ।

सीमापारी भन्दा सस्तोमा सबै प्रकारका उपभोग्य वस्तु लगायत अन्य आवश्यक सामाग्री एउटै छानामुनीबाट उपलब्ध गराएर नेपाली उपभोक्तालाई सीमापारी जानबाट रोक्ने र भारतीय उपभोक्तालाई समेत तान्ने मुख्य उद्देश्यका साथ यहाँ सुपर मार्केट निर्माण भैरहेको उनले जनाए । यद्यपी, सुपर मार्केट संचालनमा आए पनि सस्तो सामान खरिदका लागि नेपाली उपभोक्ताहरु सीमापारी जानेक्रम नरोकिने स्थानीय व्यवसायीको भनाइ छ ।

भुईतला गरेर सात तलाको उक्त सुपर मार्केटको अन्तिम तलामा दुई वटा अत्याधुनिक सिनेमा हल पनि निर्माण गरिने छ । २०७५ साल फागुन महिनाबाट निर्माण शुरु गरिएको सो सुपर मार्केटको निर्माण करिब ७५ प्रतिशत पूरा भैसकेको जनाउँदै प्रबन्धक भट्टराईले मार्केट संचालनमा आएपछि त्यहाँ दुईसय स्थानीयले रोजगारी पाउने बताए ।

उपभोक्तालाई अत्याआवश्यक पर्ने करिब सबै गुणस्तरीय सामानहरु सुपथ मूल्यमा एउटै छानामुनि विक्री गर्ने लक्ष्यका साथ निर्माण भैरहेको सो सुपर मार्केटले यस क्षेत्रको आर्थिक गतिविधि बढाउनमा ठुलो योगदान दिने छ ।

पछिल्लो समयमा आएर नेपालगन्जमा ठुला ठुला व्यवसायीक प्रतिष्ठान, होटल, वाटरपार्क, उद्योग र अटोका डिलरहरु खुल्ने क्रम बढेको छ । यसका साथै यो सहर कैलाश मानसरोवर जाने भारतीय धार्मिक पर्यटक र बर्दिया निकुञ्ज, स्वर्गद्धारी, राराताल मुगु लगायतका स्थानमा जाने पर्यटकका लागि मुख्य ट्रान्जिट प्वाइन्ट पनि बन्दै गएको छ ।

नेपालगन्ज–कोहलपुर सडकखण्डमा यस अघिनै दर्जनौं ठुला ठुला उद्योग र कलकारखाना समेत संचालनमा आइसकेकोले यो सहर प्रदेशकै प्रमुख आर्थिक केन्द्र बन्दै गएको छ ।

प्रदेश मै सबैभन्दा बढी यात्रुलाई सुविधा दिंदै आएको र व्यस्त विमानस्थल समेत नेपालगन्जमा रहेकोले यहाँबाट देश विदेशमा उडानहरु बढाएर यो क्षेत्रलाई अन्तराष्ट्रिय व्यापारिक केन्द्र बनाउन सकिने समेत व्यवसायीको भनाई छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री