कलेज संचालक अन्सारीले गुण्डा लगाएर विद्यार्थी कुटेको आरोप

काठमाडौं । चिकित्सा शिक्षा संघर्ष समितिले विहीबार(कार्तिक ७ गते) नेसनल मेडिकल कलेज वीरगन्जमा कलेज संचालक तथा निजी मेडिकल कलेज एसोसिएनका अध्यक्ष बसरुद्दिन अन्सारीले शान्तिपूर्ण आन्दोलन र संघर्षमा उत्रिएका विद्यार्थीमाथि दुव्र्यवहार, कुटपिट र हातपात गरेको भन्दै घट्नाको निन्दा गरेको छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दैै संघर्ष समितिले उक्त मेडिकल कलेजका सञ्चालक अन्सारीकै उपस्थिति र निर्देशनमा जायज माग राखी शान्तिपूर्ण आन्दोलनमा उत्रिएका विद्यार्थीहरुमाथि हातपात, कुटपिट, गालीगलौज, स्पिकर तोडफोड, ब्यानर च्यात्ने र विद्यार्थीको गाडी तोडफोडजस्ता अमानवीय र घृणित घटना घटाईएकोमा घोर भत्र्सना गरेको हो ।

चिकित्सा शिक्षा संघर्ष समिति तथा चितवन मेडिकल कलेज विद्यार्थी परिवारको तर्फबाट संयोजक प्रकाश चन्द र चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्ता नरेश भट्टको संयुक्त नाममा जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘त्यति मात्र होईन, उक्त राति होस्टल परिसरभित्रै केही स्थानीय गुण्डा र आफ्नो नजिकका सिनियर विद्यार्थीद्वारा गरिएको निर्घात कुटपिटजस्ता अपराधिक घट्नाले हामी विद्यार्थीहरु स्तब्ध भएका छौं ।

राज्यको न्यायिक निकाय र अस्पताल सञ्चालनको माफियामूखी र भ्रष्टाचारमुखी प्रणालीप्रति विद्यार्थीको अविश्वास छ । राज्य र अस्पताल प्रशासन दुवै विद्यार्थी र आम नागरिकप्रति गैरजिम्मेवार बन्दै जानुको परीणामस्वरुप उक्त घट्ना भएको हो भन्नेमा दुईमत छैन र हुनुहुँदैन् ।’

चिकित्सा शिक्षा संघर्ष समिति तथा चितवन मेडिकल कलेज विद्यार्थी परिवारको तर्फबाट संयोजक प्रकाश चन्दले हिजो भएको घट्नाको निन्दा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग फोटो खिचाएर नेसनल मेडिकल कलेज वीरगन्जका संचालक अन्सारीले आफू शक्तिशाली भएको देखाउन खोजेको टिप्पणी गरे ।

उनले मेडिकल माफियाहरुले राज्य संयन्त्रलाई नै प्रभावमा पारेर विद्यार्थीमाथि चरम दमन र शोषण गरेको हो भने आफूहरु सडक संघर्षमा एप्रोसनसहित कडा रुपमा उत्रिने चेतावनी दिए ।

तर, प्रधानमन्त्री ओलीले थ्रेट गर्नुपर्ने मान्छेसँग तस्विर खिचाएर उल्टै संरक्षण गर्नु दुर्भाग्य भएको पनि उनको टिप्पणी छ । शक्तिको आडमा बसेर अन्सारीले विद्यार्थीहरुको गाडी तोडफोड गर्न लगाएको घट्नाको पनि उनले कडा निन्दा गरे ।

त्यस्तै, कार्यक्रममा समितिका प्रवक्ता नरेश भट्टले मुलुकबाट निरंकुशता हटेको भनेर दाबी गरिएपनि हिजोको घट्नाले अझै पनि मुलुकमा निरंकुशताको अवशेष बाँकी नै रहेको टिप्पणी गरे । उनले अहिलेपनि कलेजका विद्यार्थीहरु आफ्नै छात्रावासमा सुरक्षित नभएको पनि बताए । यसतर्फ पनि सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

कार्यक्रममा संघर्ष समितिकी सदस्य मान्यता थापाले विद्यार्थीहरुमाथि दमन गर्ने र हातपात गर्ने मेडिकल कलेज सञ्चालक अन्सारीसँग प्रधानमन्त्री ओलीको किन साँठगाँठ भन्दै प्रश्न गरिन् । उनले भनिन्, ‘हिजो वीरगन्ज मेडिकल कलेजका संचालक अन्सारीले आफैं विद्यार्थीमाथि लात हानेको छ ।’

अर्का सदस्य नसिम अख्तारले मेडिकल कलेज वीरगन्जका संचालक अन्सारीले सोही कलेजमा अध्ययनरत आफ्ना नातेदारपर्ने सिनियर विद्यार्थीहरु प्रयोग गरेर शान्तिपूर्ण आन्दोलनमा रहेका जुनियर विद्यार्थीमाथि हातपात र दुव्र्यवहार गरेको आरोप लगाए ।

सदस्य प्रविण स्याङतेनले हिजोको घट्नाबाट विद्यार्थीको अधिकारमाथि चरम दमन भएको टिप्पणी गरे । संविधानकै मौलिक हकको रुपमा स्थापित विद्यार्थीको अधिकार सुनिश्चित गर्न सबै सरोकारवाला गम्भिर हुनुपर्ने बताए । विद्यार्थीसँग लिईएको बढी शुल्क तत्काल फिर्ता गर्नुपर्ने पनि उनले माग गरे । उक्त घट्नाबारे सरकारले तत्काला छानबिन गरि घट्नामा संलग्न जो कोही भएपनि कारबाहीको दायरामा ल्याउनुपर्ने समितिको माग छ ।

टिप्पणी थप्नुहोस्