देवदहमा राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता हुने

भैरहवा । गौतम बुद्धको जन्मस्थल मानिएको रुपन्देहीको देवदहमा राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता आयोजना हुने भएको छ ।

देवदह नगरपालिका–११ स्थित सिक्टहनमा प्रथम देवदह खुल्ला कुस्ती प्रतियोगिता–२०७६ हुने भएको हो । नगर खेलकुद विकास समिति, देवदहको आयोजना तथा स्थानीय युवा क्लबको संयोजनमा यही कार्तिक १४ गते उक्त प्रतियोगिता हुन लागेको हो ।

विशेष गरी देवदहको दक्षिण र नेपालको तराई–मधेश भेगमा निकै प्रचलित रहेको कुस्ती खेल बदलिदो परिवेशमा ओझेल परेकोले यसको संरक्षण गर्ने उद्देश्यले छठपर्वको अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको नगर खेलकुद विकास समिति देवदहका संयोजक तथा वडा नम्बर ४ का वडा अध्यक्ष दिपक चापागाईले बताए ।

कुस्ती प्रतियोगितामा स्थानिय पहलवानहरु उत्पादन गर्ने उद्देश्य रहेको हँदा यसमा भारतीय पहलवानहरुलाई सहभागी नगराउने आयोजकले बताएका छन् । अन्तर्राष्ट्रिय स्तरमै ख्याती कमाएका नेपाली पहलवान बसन्त थापा, देवा थापा, धर्मेन्द्र यादव, बैजनाथ यादव लगायत एकसय बढी पहवानले सहभागिता जनाउने आयोजकको भनाई छ ।

प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्धितीयले ३५ हजार, तृतीय हुनेले १५ हजार तथा सान्त्वना हुनेले ५ हजार र ३ हजार नगद पाउने चापागाईले जानकारी दिए ।

देशभरीबाट एकसय जना पहलमानको सहभागिता रहने कुस्ती खेलको लागि २ लाख ५० हजार खर्च लाग्ने उनले बताए । अन्य खेल जस्तै कुस्तीलाई पनि प्राथमिकता दिएर प्रतियोगिताको आयोजना गरिएको उनले बताए ।

खेलाडीहरुको उत्साह र अपेक्षालाई स्थान दिदैं खेलकुदका अन्य विधाहरुलाई पनि सम्बोधन गर्न नगर खेलकुद विकास समिति देवदहले यस वर्ष कुस्ती प्रतियोगिताको आयोजना गरेको देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्रीले बताए ।
खेलकुद विकास समितिले युवाहरुलाई खेल क्षेत्रमा अधिकतम सहभागी गराउन विभिन्न कार्यक्रम सञ्चालन गरेको र यस वर्ष तराई–मधेशमा लोकप्रिय कुस्ती खेलको आयोजना गरिएको उनले बताए ।

खेलकुद क्षेत्रलाई संस्थागत तरिकाले अगाडी बढाउन नगर खेलकुद विकास समिति गठन गरिएको र यस वर्ष नगरपालिकाको वडा नम्बर ११ र १२ का वासिन्दा तथा भुगोललाई समेटने गरी कुस्ती प्रतियोगिताको आयोजना गरिएको नगरप्रमुख खत्रीले बताए ।

‘देवदह नगरपालिकामा चुरे देखि तराई मधेश समट्ने नगरपालिका पर्ने भएकोले सबैलाई सम्बोधन होस् भन्ने उद्धेश्यले यस वर्ष अन्य खेल जस्तै कुस्ती प्रतियोगिताको आयोजना गरेका छौं,’ उनले भने ।

टिप्पणी थप्नुहोस्