‘डुप्लिकेट’ प्रचण्डको ‘ओरिजिनल’ स्वीकारोक्ति

  • पुरुषोत्तम लम्साल

अठार महिनाअघि भारतमा एकजना माओवादी नेताले प्रहरीसमक्ष आत्मसमर्पण गरे । प्रहरीको आँखामा तिनी टाउकाको मूल्य तोकिएका कुख्यात अपराधी थिए र विद्रोहीको आँखामा कमाण्डर । माओवाद र विद्रोहको नाममा भोगेका, देखेका र अनुभव गरेका दृष्य जब तिनले प्रहरीसमक्ष बयान गर्न थाले भारतीय माओवादीको असली अनुहार छताछुल्ल भयो । मुखुण्डो खुल्यो । पर्दा च्यातियो ।

उनले भने ‘लेबीको नाममा कार्यकर्ताबाट उठाइएको पैसा, न्याय र मुक्तिका नाममा सर्वसाधारणबाट लिइएको चन्दाको ठूलो हिस्सा विद्रोही नेताको मनोरञ्जनको नाममा दुरुपयोग भइरहेको छ । अधिकांश नेता भ्रष्ट र ‘औरतखोर’ भएका छन् । कतिपय नेता आफ्नै छापामारसँग सामूहिक यौन सम्बन्ध राख्नपर्ने लतमा छन् । नेता र तिनका परिवार रंगीन जिन्दगीमा अभ्यस्त हुँदै गइरहेका छन् । कतिसम्म भने महिलामाथिको यौन हिंसा पार्टीमै स्वाभाविक बन्दै गएको छ र नेताहरु नारीमुक्तिको नारा लिएर निःसंकोच महिला छापामारहरुलाई बलात्कार गरिरहेका छन् ।’ यो कुन्दन पाहन नाम गरेका माओवादी नेताको साबिती बयान हो ।

त्यति नै बेला प्रहरीले पक्राऊ गरेका र आत्मसमर्पण गरेका दर्जनौं महिला छापामारसँग बयान लिएको थियो । बयानमा उनीहरुले एक स्वरमा ‘पुरुष कामरेडहरुले गरेका जबरजस्ती शारीरिक शोषण’का दर्जनौं उदाहरण दिएका थिए । बयान दिनेमध्येकी एकजना किशोरीले भनिन्, नेताहरुले दार्जिलिङ, गोवालगायतका स्थानमा रहेका विलासी होटलहरुमा धेरै रात हामीलाई बन्धक बनाएर बलात्कार गरेका छन् । उनीद्वारा आरोपित नेताको सूचीमा माथि उल्लेख गरिएको कुन्दन पाहनको नाम पनि उपल्लो लहरमा थियो ।

भाग्य चम्काउन र रंगीन जीवनशैली बिताउन माओवादी भएका प्रमोद मिश्रा त्यस्तै अर्का पात्र हुन् जसले माओवादीको आन्दोलनबाटै उठाएको द्रव्य लगानी गरेर आफूलाई नामूद रियलटर (घरजग्गा कारोबारी) बनाएका छन् । भारतमा ती नेताले बैंकपिच्छे नगद जम्मा र शहरपिच्छे गरेको लगानीका बारे कन्दैया भलारीको खोजमूलक समाचार सार्वजनिक भएको एक वर्ष पनि पुगेको छैन ।

भारतीय माओवादीको यो पछिल्लो तस्वीरलाई नेपाली सन्दर्भमा तुलना गर्ने जिम्मा पाठकलाई छाडें । तर यो बीचमा मैले पनि नेपाली माओवादीका केही कुरुप अनुहार सम्झिएँ । सर्वहारा सत्ताको नाममा कुलीन, सभ्रान्त र नवपूँजीपति बनेका दर्जनौं नयाँ अनुहार सम्झिएँ । साँस्कृतिक क्रान्तिको खोलभित्र भएका उनीहरुकै भाषामा ‘साँस्कृतिक विचलन र पतन’का दृष्टान्त सम्झिएँ । गमेर ल्याउँदा ठहर गरें, मुहानले नै म नक्कली हूँ भनिसकेपछि बगेको पानी सङ्लो खोज्ने मै मूर्ख हूँ ।

प्रचण्डको स्वीकारोक्ति

भर्खरै तात्कालीन नेकपा माओवादीका प्रमुख, माओवादी विद्रोहका सर्बोच्च कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटा आत्मस्वीकारोक्ति सार्वजनिक गरे । माओवादी विद्रोहको पतन भएको १४ वर्षपछि उनले भने, ‘म पनि ओरिजिनल (सक्कली) माओवादी होइन ।’ पूर्वमा आयोजित एउटा सभामा उपस्थित जनतातर्फ फर्किएर उनले दोहार्याए –‘कमरेडहरु ! भ्रममा नपर्नुहोला म पनि सक्कली माओवादी होइन ।’ र, त्यसपछि उनी आफूलाई मदन भण्डारीसँग तुलना गर्नतिर लागे ।

सभामा उपस्थित धेरैले प्रचण्डको भनाईलाई हाँसेर टारे । हाँसोमै उडाए । तर प्रचण्डको आत्मस्वीकारोक्तिले तात्कालीन माओवादीको वैचारिक दिवालियापनलाई पनि प्रष्ट पार्दछ र राजनीतिक भ्रमहरुको पनि निवारण गर्दछ भनेर ठम्याउने कष्ट उठाएनन् । माओवादको आवरणले ढाकेर संसदीय जनवादको उत्कर्षमा पुग्ने बेलामा प्रचण्डले ‘म पनि माओवादी होइन र थिइन’ भन्नुको तात्पर्य र सँगै आफूलाई मदन भण्डारीसँग तुलना गर्नुको औचित्य भोलीको अभिष्टसँग जति जोडिएको छ त्यति नै जुन विरासतबाट प्रचण्ड उठेका थिए त्यसबाट अलगहुन सहज भएको छ ।

हिजो माओवादीइतरको सिंगो पंक्तिले सशस्त्र विद्रोहलाई लेनिनको शब्द सापटी लिएर ‘वामपन्थी भड्काव’ भनेकै हुन् । ऊ बेला प्रचण्डविरुद्ध लगाइएका आरोपहरुलाई उनी आफैं विस्तारै एकएक गर्दै स्वीकार गर्दै गइरहेको स्थिति छ । जनताका बीच क्रान्तिकारी मनोदशाको निर्माणविना एवम् उक्त मनोदशालाई सुविधाजनक बनाउने क्रान्तिकारी कार्यनीति कहिल्यै विकास हुनसक्दैन । खरिपाटीसम्म आइपुग्दा त्यो ठहर भएकै थियो । भलै संसद्मा सहभागिता अस्वीकार गर्न वा संसदीय अवसरवादको आलोचना गरेर क्रान्तिकारिता प्रदर्शन गर्न सजिलो छ तर संसदीय सरलतालाई क्रान्तिरुपमा बदल्न वा विद्यमान समस्याको समाधान खोज्न त्यत्ति नै कठीन छ । त्यो कठीन अवस्था चिर्न नसक्दा ‘म पनि नक्कली थिएँ’ भनेर उम्कन सबैभन्दा सजिलो हुन्छ ।

भएको त्यही नै हो । जहाँ छिन्नभिन्न मजदुर आन्दोलन एकीकृत हुने कुनै गुञ्जायस छैन, जहाँ भूमिहीन, विपन्न र किसानका दैनिक जीवनसँग सम्बन्धित कुनै कार्यक्रम र आन्दोलन छैन, जहाँ ग्रामीण क्षेत्रको बर्गीय सन्तुलन निम्नपुँजीवादी चिन्तनबाट उठाउन कुनै अगुवाई छैन, जहाँ बजार साम्राज्यवादको कठपुतली मात्र भएर राष्ट्रिय अन्तर्राष्ट्रिय पूँजीपतिकै मात्र ताबेदारी र पक्षपोषण गर्न परिरहेको छ, जहाँ क्रान्तिको आवरणबाट उठेका नवसामन्त, नवसंभ्रान्त, नवकूलीन बर्गकै मात्र संरक्षण र भरणपोषण गर्न परिरहेको छ त्यहाँ प्रचण्डले हिजो पनि आफू माओवादी थिइन र आज पनि होइन भन्नुमा कुनै आश्चर्य मान्नपर्दैन । यो अवस्थामा सांसारिक कर्म छाडेर हवनयज्ञादी, गोठपूजा उद्घाटन र चरु होम गरेर बशिभूत र द्रविभूत हुनु कसरी आश्चर्य हुन्छ ?

प्रचण्ड झापा विद्रोहको जगमा उभिएको पार्टीको मुख्तियारी पाएकोमा दंग थिए । चारु मजुमदारको नक्सलवादी आन्दोलन र झापा विद्रोहको नियति लगभग उस्तै थियो । मजुमदारले गिरफ्तारीपूर्व नै लिखित दस्तावेजको रुप दिएको एउटा अंशमा भनिएको छ, ‘विनाशको सन्दर्भमा आवश्यकताभन्दा बढी काम भयो, हामीले गरेका गल्तीहरु सयौं छन्, त्यसलाई सच्याएनौं भने हामी पतनको बाटो उन्मुख हुन्छौं ।’

एकदिन प्रचण्डले मजुमदारको यही शब्द सापटी लिएर ग्लानीपूर्ण भावमा अर्को स्वीकारोक्ति सार्वजनिक गर्लान् नै । संकीर्णतावाद नेपाली माओवादी आन्दोलनले पनि धेरै ठाउँमा स्वीकार गरिसकेको छ । तर, सुधार गरेको होइन । परिणामतः हिजोदेखि भन्दै आएको क्रान्तिकारी आन्दोलन फर्जी थियो किनकि हामी आफैं फर्जी विचारधाराबाट ‘गाइडेड’ थियौं भन्नपर्ने नियतिसँग प्रचण्ड ठोक्किएका छन् । म पनि सक्कली होइन, वा म पनि ओरिजिनल होइनन भन्नुको अर्थ अरु के हुन्छ ?

नेतृत्वकारी शक्तिको विचारधारात्मक भड्काव वा कमजोरीको गम्भीर फाइदा पुँजीवादी तप्काले उठाएको अवस्थामा क्रान्तिको प्रयास वा विद्रोहको अवस्थिति गलत, फर्जी वा नक्कली थियो भन्ने अभिव्यक्ति आउने गर्दछ । यहाँ त तात्कालीन बैचारिक सांगठनिक नायकले नै भनिदिएका छन् ‘म पनि सक्कली चाँहि होइन है’ भनेर ।

तात्कालीन पार्टीपंक्तिलाई मेरो तर्फबाट हार्दिक बधाई ! तपाईहरुले हिजोका विषयमा जवाफ दिन सबैभन्दा सजिलो ‘जार्गन’ प्राप्त गर्नुभएको छ ।

हो, प्रचण्डको अभिव्यक्तिबाट पूर्वमाओवादीहरुलाई उनीहरुले भन्दै आएको ‘अग्रगामी आन्दोलन’को सारतत्व लाज नमानी ग्रहण गर्न सजिलो बनाइदिएको छ । लेनिन भन्छन्, ‘माक्र्सवादी विचारधारा यसकारण समाजमा जीवित रहन्छ किनकि एक समय त्यो क्रान्तिकारी र वैज्ञानिक दुबै थियो ।’ तर प्रचण्ड सारतः त्यसलाई अस्वीकार गर्ने बाटोउन्मूख देखिन्छन्, ‘कमरेडहरु ! भ्रममा नपर्नुहोला हामी ओरिजिनल थिएनौं’ भन्दै । हामी नक्कली थियौं भन्नुको अर्थ माओवादी आन्दोलन फगत बौद्धिक विलास थियो भन्नु पनि हो । आरोप लगाउनेहरुलाई प्रचण्डले सजिलो बनाइदिएका छन् । उनीहरुलाई पनि बधाई !

प्रचण्डले आफूलाई अरुसँग तुलना गर्न हम्मेसी छाड्दैनन् । कुनैबेला लेनिनले पूर्णता दिन नसकेको संविधानसभाको नारालाई आफूले पूर्णता दिएको भनेर आफूलाई लेनिनभन्दा माथि देखाउने धृष्टता भएकै हो । रणनीतिक शक्ति सन्तुलनको अवस्थामा भएको अन्तरिम सम्झौता र संविधानसभाको चुनावलाई अक्टोबर क्रान्तिको तहमा राखेर व्याख्या गर्ने प्रयासमा ताली बजाउने तात्कालीन पार्टीपंक्ति अहिले झ्याङऽऽऽग भएका होलान् ।

देब्रेतिर मुन्टो बटार्दै प्रचण्डले भनेका छन् ‘म पनि चौमको मदन भण्डारी हूँ ।’ समकालीन राजनीतिमा अवसर खोज्ने उच्चतम रुप र पूजिन खोज्ने मोह सजिलै अनुमान लगाउन सकिन्छ । गत वर्ष फागुन २१ गते प्रधानमन्त्री केपी ओलीले शब्दमा जे जे राखिए पनि ‘मदन भण्डारीप्रदत्त भनिएको जनताको बहुदलीय जनवाद स्वीकार गर्ने कि पतन रोज्ने ?’ प्रश्न तेस्र्याएपछि मदन भण्डारीसँग आफ्नो व्यक्तिगत एकीकरण गराउन पनि प्रचण्डले अथक प्रयत्न गरेको सहजै बुझ्न सकिन्छ ।

मुख्य कुरो आफूले आफैंलाई नक्कली करार गरेर ‘भँडुवा विकृति’ लाई प्रश्रय दिनु र ‘मौकापरस्त’ को आरोप लगाउनेहरुलाई तिमीहरुको ठीक थियो भनिदिनु अचम्म छ । हाइपोथेटिकल नै भन्नुहोला तर ठट्टैठट्टामा एकदिन प्रचण्डले जनयुद्धकारी घटकलाई ‘अविवेकपूर्ण सैन्यवादमा फसेका’ थियौं नभन्न के बेर ?

अन्त्यमा,

जुनवेला माओवादी संसदीय राजनीति गर्न सुकिलामुकिलाको दैलो प्रवेश गरेको थियो त्यो बेला एउटा स्थायी आत्मरती थियो–जताततै वाम, जताततै जनवाद, जताततै साम्यवाद, जताततै सत्ताकब्जा, जताततै सर्वहारा अधिनायकत्व । उफ् !

हिन्दीभाषी कवि शमशेर बहादुर सिंहले कतै लेखेका छन्ः

दिशा वाम वाम वाम

समय साम्यवादी

नेपाली सन्दर्भमा यसलाई प्रचण्डकृत गरौंः

दिशा दक्षिण दक्षिण दक्षिण

समय पूँजीवादी ।

टिप्पणी थप्नुहोस्