आशिर्वाद : एक चिन्तन

  • पुरुषोत्तम लम्साल

ॐ आयुर् द्रोणसुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्त पवने, मानं च दुर्योधने
सौर्य शान्तनवे, बलं हलधरे सत्यंच कुन्ती सुते
विज्ञानं बिदुरै भवतु भवतां कीर्तिश्च नारायणे ।

संस्कारका हिसाबले हामीले आजसम्म प्राप्त गरेको सबैभन्दा ठूलो आशिर्वचन यही होला । मान्यजनले शिरमा हात राखेर दिएपछि आशिर्वादमाथि प्रश्न उठाउने कुरो भएन । बा, हजुरबा, सानोबा, ठूलो बालगायतका मान्यजनले दिनुभएका आशिषमै त्रुटी देख्ने पो कसरी ? आशिर्वचनविरुद्ध विद्रोह वा असन्तुष्टी ओकल्दा श्रापित हुनपर्ने भय पनि होला । तर, हामीले ग्रहणगर्दै आएको बडादशैंको आशिर्वचन सही छ ? महाभारत र रामायणकालीन पात्रका बाँकी दुर्गुणलाई चटक्कै बिर्सिएर गुणहरु मात्र समेटिएको आशिषमाथि सन्देहगर्नु शास्त्रको प्रतिकूल हुन्छ ? धर्म, सँस्कृति, रीति औ परम्पराविरुद्ध नगई आज त्यसभित्रको ज्यादै सानो अंश आशिर्वादमा छोटो सन्देह गरौं ।

आशिष के हो ? छोटकरीमा यो ‘तपाईका लागि गरिएको कामना’ हो । विशेषतः दशैंमा पुरुषका लागि तय गरिएको माथि उल्लिखित आशिषमा प्रयुक्त पात्र र तिनका प्रवृत्ति केलाउनु भयो भने पक्कै तपाईमा सन्देह पैदा हुन्छ । माथिको श्लोकमा प्रयुक्त पात्रहरु सत्पात्र वा सद्गुणसम्पन्न त ठानिए तर तिनका दोषहरुलाई अन्देखा गरियो भन्ने मेरो तात्पर्य हो । सन्देह नै भएपछि प्रश्न उठाउने अधिकार पक्कै सुरक्षित हुनपर्छ ।

ब्यासको महाभारत र वाल्मिकीको रामायण पूर्वीय संस्कृतिका त्यस्ता ग्रन्थ हुन् जसले हिन्दू धर्म र दर्शनलाई नै दिशानिर्देश गर्ने सामथ्र्य राख्दछन् । तिनका पटकथामा जादू भेटिन्छ । पात्र, चरित्र उठान, उत्कर्ष र अन्त्यमा विष्मयकारी सम्बन्धहरु जोडिएका छन् । मानव कल्याणहेतु सृजित हरेक पात्र, विषय र घटनामा फरकफरक सन्देश सन्निहित छ । अब श्लोकतिर लागौं :

ॐ आयुर् द्रोणसुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे

श्लोकको पहिलो हरफमा चार पात्र छन्, द्रोण र उनका पुत्र अश्वस्थामा, दशरथ र राधव । आयुर्वेदका ज्ञाता ऋषी भारद्वाजका पुत्र द्रोण परशुरामका सर्वकालीन श्रेष्ठ शिष्यमध्ये एक थिए । परशुरामबाट यावत् शस्त्रअस्त्रको विधि र ज्ञान हासिल गरेपछि भीष्म पितामहमार्फत् उनी हस्तिनापुरका राजकुमारहरुको शिक्षक नियुक्त भए । उनी पक्षपाती थिए । आफूलाई मनपरेको शिष्यलाई श्रेष्ठ देखाउन उनले गरेका केही कर्म कुकर्म सर्लक्कै बिर्सने ? जस्तै एकलव्य जस्ता दक्ष धनुर्धरको बुढीऔंला गुरुदक्षिणाको रुपमा लिनु, कर्ण जस्ता क्षमतावान निशानेबाजलाई जातको हवाला दिएर बहिष्करण गर्नु र कर्णकै दाजुको हत्याको साक्षी बस्नु ।

श्लोकमा उनै द्रोणपुत्र अश्वस्थामाको जस्तो आयुको कामना गरिन्छ । किनकि, उनी अष्टचिरञ्जीवीमध्ये एक हुन् । अजर, अमरको कामना स्वभाविक नै होला । अश्वस्थामा वीर, साहसी योद्धा, शास्त्रको ज्ञानी भए पनि उनका केही कर्म छन् जसले उनीप्रति सम्मानभाव जाग्दैन बरु मन अमिलो हुन्छ ।

शास्त्रले धर्मात्मा, निन्द्रामा भएको व्यक्ति, नशामा चूर भएको व्यक्ति, स्त्री र बालकको हत्या निन्दनीय हो भनेकोछ । त्यो अमानवीय अपराध हो । अनि सम्झन्छु, सुतिरहेको समयमा द्रौपदीका पाँच सन्तानको शीर छेदन गर्ने अश्वस्थामालाई शास्त्रले नै अपराधी करार गरिसकेपछि अपराधीको आयु बोकेर किन हिड्नु ? उनै अश्वस्थामाले ब्रम्हशेर अस्त्रको दुरुपयोग गरी उत्तराको गर्भको शिशुको हत्या प्रयास गरे । दैवी अस्त्र चलाउन जान्ने तर त्यसको उपचार नजान्ने अवगुण त छँदैछ । अझ, महाभारतमा कौरव पक्षलाई अन्यायको पर्यायको रुपमा ब्याख्या गर्ने हामी नै हौं । अनि, त्यसका एघार सेनापतिमध्येका मुख्य सेनापतिलाई आदर्श किन मान्नुपर्ने ? श्रापकै कारण हजारौं वर्ष भड्किएर हिंड्नुपर्ने अश्वस्थामाको आयुको कामना कसरी स्वीकार गर्ने ? सन्देह यही हो ।

तेस्रो पात्र छन् दशरथ । त्रेतायुगकालीन दशरथको श्री अयोध्याको राजा हुनुमा बढी हो वा रामको पिता हुनुमा ? वा मनुले गरेको नारायणको तपस्याबाट प्राप्त वरदानमा ? रामायण बुन्ने बाल्मिकीको पटकथा लेखनशैली अपूर्व नहुँदो हो त दशरथको संयोग र वियोगका तस्वीर यतिविधि आउँदैनथ्यो । तर, दृष्टिविहीन मातापिताको सेवामा रहेका श्रवणकुमारको हत्याका दोषी पनि त हुन् दशरथ । होइनन् ? हो भने एउटा हत्याराका लागि श्री किन ? कि राजाले हत्या गरेकाले सबै छुट दिइएको हो ? तिनै श्रवणकुमारका मातापिताको श्रापका कारण उनले पुत्रवियोगमा प्राण अन्त गर्नपरेको भनेर हामीले नै पढेका होइनौं ? नीतिमा निपूण हुँदाहुँदै नारीमोहका लागि पनि त उनको कीर्तिमाथि धब्बा छ । अनि कसरी दशरथको जस्तो श्री सहर्ष स्वीकार गर्ने ?

रामले जस्तो शत्रुको क्षय गर्नु भनिन्छ । राम धेरैका आदर्शपुरुष हुन् । विष्णुका सातौं अवतार मानिन्छन् । रावणको आतङ्क निवारण गरेकै हुन् । तर, दोस्रो व्यक्तिसँग युद्ध गरिरहेको बालीलाई छलपूर्वक मार्ने पनि त राम नै हुन ! तर बालीको हत्यामा सुग्रिवको राज्यमोह वा सत्तामोह गाँसिएको थियो जसलाई छलपूर्वक रामले पूरा गराइदिए भनेर तथ्यलाई नै बिर्सने ? पटकपटक रावणलाई समेत पराजित गरिसकेका बालीबाट राज्य हत्याउन सुग्रिवले आफ्नो सेना रामलाई सुम्पिए । बालीको बध गर्न रामको छलको सहारा लिए । सुग्रिव र विभिषण रामायणमा राजनीति बोकेर आएका पात्र हुन् जसलाई राममार्फत पूर्णता दिइएको छ । अतः शत्रुलाई परास्तगर्न शत्रुकै घरबाट मित्रता गाँस्नुपर्छ भनेको भए कूटनीतिक रामलाई झन् ठूलो आदर्श मानेर आशिष ग्रहण गर्न सजिलो हुन्थ्यो भन्ने लाग्दैन ?

श्लोकको दोस्रो पंक्तिः
ऐश्वर्यं नहुषे, गतिश्च पवने, मानं च दुर्योधने
एक महान सम्राट । वंशावलीअनुसार भगवान विष्णुका सातौं पुस्ता (विष्णु, ब्रम्हा, अत्रि, चन्द्रमा, बुध, पुरुरवा, आयु , नहुष) का दरसन्तान । ब्रम्हहत्याका अभियोगी इन्द्रको अनुपस्थतिमा हजार वर्षका लागि स्वर्गको कार्यवाहक राजा बनेका । अर्थात्, इन्द्रको विकल्पको रुपमा चुनिएका चन्द्रवंशी । तर त्यहींबाट अहंकार पालेका, इन्द्रको अनुपस्थितिमा गैरजिम्मेवार शासन चलाएको आरोप लागेका, इन्द्रको आशनमै बसेर इन्द्रपत्नी शची (इन्द्राणी) माथि नजर डुलाएका । सप्तऋषीले बोकेको पालकीमा बसेर आए मात्र आफूले अपनाउन सक्ने शचीको शर्तपछिका किस्सा सुन्नुभएको छ ? यही सन्दर्भमा अगस्त्य ऋषिको शीरमा नहुषले लात्ता हानेको र ऋषीले ‘अहंकारले तेरो मति भ्रष्ट गरेको छ, तँ मान्छे हुनसमेत लायक छैनस’ भनेर अजिंगरको सर्पयोनीको श्राप दिएको पनि त कथा छ । त्यसो भए ऐश्वर्य कमाएर नहुषको चरित्र ग्रहण गर्नु ? नहुष झैं कामान्ध हुनु ? होइन भने अहंकारको दुष्प्रभावका कारण पतन भएका ऐश्वर्यम् नहुषे आशिर्वचनमा सुधार गर्न मिल्दैन ?

पवनको गतिसँग कुनै गुनासो छैन । समयले सुस्त हुनु भनेको पछि पर्नु हो भन्छ । अणु र परमाणुदेखि सुक्ष्मभन्दा सुक्ष्म कण पराकणको विकास भइसकेको विज्ञान र प्रविधिनिर्देशित जमानामा जो अल्छी वा ढिलो भो त्यो पछि पर्यो ।
महाभारतको शुरुमै भनिएको छ, यो कथा सार्थको, पुरुषार्थको । महाभारत स्वार्थको पनि हो, सत्तास्वार्थको । धृतराष्ट्रपुत्र दुर्योधन जो निकै बलशाली छन्, अडानमा कटिवद्ध, प्रतिवद्ध छन् । उनको स्थायी शत्रु पाण्डव हुन् । दुर्योधन जन्मनुअघि नै गान्धारीले गर्भपातको प्रयास गर्दागर्दै पनि तुहिएको गर्भबाट कौरवको अस्तित्व देखिनुमा व्यास कारण देखिन्छन् । यहींबाट दुर्योधनको अस्तित्व प्रारम्भ हुन्छ ।

प्रेमको अर्को नाम प्रेम नै हो । तर राजनीतिको अर्को नाम महाभारत पनि हो । र, त्यही महाभारतमा शकुनीको कपट र जाललाई आँखा चिम्लेर व्यवहारिकीकरण गर्ने पात्र हुन् दुर्योधन । (शकुनीले दुर्योधनको सहारामा कौरवसँग लिएको बदलाबारे पछि चर्चा गरौंला) । हामीलाई पढाइएको महाभारतमा दुर्योधन भनेको क्रोधी हो, हठी हो, दुष्ट हो, शकुनीको कपटमा चल्ने घमण्डी हो भनिन्छ । अनि आशिषमा चाहीँ मानञ्च दुर्योधने रे ! यो विरोधाभाषले आशिषलाई हलुका बनाएन ? कर्णसँग मिलेर युवती अपहरण गर्ने पनि दुर्योधन, द्रौपदीलाई निर्वस्त्र बनाउने पनि दुर्योधन । यस्ता पात्र दुर्योधनले पाएको मान ठीक छ ? महाभारत सत्य र असत्य, धर्म र अधर्मबीचको द्वन्द्व–कथा मानिन्छ । कौरव भनेको असत्य र अधर्मको प्रतिनिधि भनेर शिक्षा दिइन्छ । अनि तिनै कौरवका महानायक दुर्योधनको जस्तो मान रे ! असत्य र अधर्मीका महानायकको मान कत्रो हुन्छ ? सन्देह यसैमा हो ।
राधेय, कुन्तीपुत्र वा सूर्यपुत्र जे भने पनि कर्ण श्रद्धा र आदर्शका पात्र हुन् । कुमारी आमा अर्थात् कुन्तीको अवैध गर्भबाट जन्मिएका । उनको अस्तित्व र अन्त्यसम्मको कथा महाभारतभित्र कृष्णपछिको सबैभन्दा ‘ग्ल्यामरस’ लाग्छ । ज्ञान र वीरताले सज्जित हुँदाहुँदै पनि कर्ण अपमानित हुन्छन । उनी महाभारत भरी नै उज्यालोको खोजीमा भौंतारिरहेका पात्रको भूमिकामा छन् ।

अपमानले कर्णभित्र स्थायी ईखको जन्म गराउँछ । पाण्डवका पाँच भाइमा पनि मूलतः अर्जुनसँगको ईख, गुरु द्रोणसँगको पनि ईख । र, कमजोर मनोदशाका दुर्योधनले पाण्डवसँग जुध्न अंगराज बनाइएका कर्ण मित्रताको नाममा अधर्मको पक्षमा लड्ने सेनापति पनि हुन् ।

प्रतिकूल परिस्थितिसँग जुधेर नै श्रेष्ठता हासिल गरेका पात्र हुन् कर्ण । नियति कस्तो भने फरकफरक सन्दर्भमा श्रापित भएका कर्णका सबै श्राप युद्ध मैदानमा अन्तिम समयमा क्रियान्वयन हुनपर्ने । अचम्म ! अस्त्रविहीन, रथविहीन, असहाय अवस्थामा उनको कारुणिक अन्त हुन्छ । गुरुको पनि श्राप, धर्तीको पनि श्राप बोकेका कर्णको दानशील चरित्रको मात्र वर्णनमा चित्त नबुझाउन पाइदैन ? शारीरिक, आत्मिक र बौद्धिक रुपमा सुन्दर हुँदाहुँदै उनको दानवीर चरित्र नै उनको कमजोरी होइन ? त्यही कमजोरीको फाइदा इन्द्र र कुन्तीले उठाएका होइनन् ? अनि कर्णजस्ता अद्धितीय वीर योद्धाको त्यही कमजोरी आशिष मानेर ग्रहण गर्नु ? खास जँच्दैन ।

कर्ण द्रौपदीको चिरहरणका द्रष्टा र साक्षी दुबै हुन् । र, राजसभामा द्रौपदीलाई वेश्या करार गरेर दुर्योधनको घमण्डको आगोमा घिऊ थप्ने वा हौसला दिने पात्र पनि हुन् । अभिमन्यूलाई पीडामुक्त गराउनै सही, कर्णले छुरी चलाए । लडाईमा घाइते, निशस्त्र अवस्थामा आफ्नो घेरामा परेको एउटा महान पराक्रमी योद्धामाथि अस्त्र उठाउनु पनि त अपराध नै त होला । हो, यहींनेर कर्णको पराक्रम स्खलन हुन्छ । मित्रताको नाममा एउटा अधर्मी पात्रका खातिर कर्णले अधर्म गरेका छन् भने हाम्रो आशिषमा अधर्मको कण रहन्छ कि रहदैन ? सन्देह यहीं हो । कर्णको दानशील चरित्र भन्दा उनको जीवनका सङ्घर्ष पो प्रधान हुन् कि ?

युधिष्ठिर । सत्यवादी । महाभारतमा धर्मलाई केन्द्रमा राख्ने तीन प्रमुख पात्र कृष्ण, बिदुर र युधिष्ठिर छन् । उनी कस्तै विषम परिस्थितिमा पनि शान्त रहने सक्ने, दम्भ र कामलाई जितेका पात्र । क्षमाशील हुनु, मातृ पितृ गुरु भक्ति उनको गुण हो । सत्यवादी, धर्मराज आदित्यादी । यी त भए, गम्भीर पक्ष । यसका बिपरित युधिष्ठिर जुवाको अम्मली थिए, जुवाको व्यसनमा लिप्त । (युधिष्ठिर जुवाको अम्मली नै थिए भन्ने कुरा गुप्तवासताका विराट दरबारमा कंकुको नाममा रचिएको उनको भूमिकाले पनि भन्छ ।) उनको यही कमजोरीको फाइदा शकुनीले उठाए र हस्तिनापुरको राजसभामा द्रौपदीको चिरहरणको प्रयास भयो । सर्वश्व हारिसकेपछि उनले द्रौपदीलाई नै खालमा राखिदिए । एकछिन मानौं यो कृष्णकै लीला हो । पूरा महाभारत कथाको ‘ट्विस्ट’ युधिष्ठिरको एउटै महान झुठबाट हुन्छ । अश्वस्थामा र द्रोण एकअर्काका पूरक थिए । दुबै अति शक्तिशाली थिए । अनि यी दुबैको अन्त्य तीर वा गधा चलाएर मात्र सम्भव थिएन । द्रोणको अन्तविना न युद्धमा कर्णको आगमन सम्भव थियो न महाभारतको अन्त । यस्तो अवस्थामा युधिष्ठिरले ‘अश्वस्थामा हतः इति नरो वा कुञ्जरो वा’ भनिदिए । द्रोणको हातबाट हतियार खस्यो, धृष्टद्युम्नले निमेषमै उनको शिर छेदन गरिदिए र समग्र महाभारतको नयाँ आयाम खोलियो । महाभारतमै अर्जुनको एउटा विचारबाट धारणा बनाऔं :

चिरं स्थास्यति चाकीतिस्त्रैलोेके सचराचरे
रामे बालीवधाद् यद्धदेवं द्रोणे नियातिते (द्रोणपर्व)

हे राजा युधिष्ठिर ! रामले लुकेर बालीको हत्या गरे र अपकीर्तिको भागिदार बने । तपाई पनि झुठको सहारामा गुरु द्रोणको हत्याको अपकीर्तिको भागिदार बन्नुभयो ।

अब भन्नुस् थाहा पाउँदा पाउँदै कसरी युधिष्ठिरको त्यो ‘सत्यवादिता’ स्वीकार गर्ने ? यो त संकटमा झुठको सहारा लिए हुन्छ भनिएको होइन ?

बिदुरको नीति, धर्मवादिता र ज्ञानसँग कुनै गुनासो रहेन । माथिका तीन शीर्षकमा हस्तिनापुरका प्रधानमन्त्री बिदुरभन्दा शक्तिशाली मेरा लागि भगवान भनिएका कृष्ण पनि छैनन् । बिदुर स्वयम् धर्मराजको अंश थिए, जो पछि युधिष्ठिरमा विलय भए । उनको तर्क न्यायको, विधिको र धर्मको पक्षमा थियो । धृतराष्ट्रको पुत्रमोहविरुद्ध सभामा बोल्नसक्ने एकजना बिदुर नै त थिए । धर्मको पक्षमा विद्रोह ओकलेर सभा नै बहिष्कार गर्नसक्ने अरु को थिए ? सभामा भीष्म र द्रोणहरु मूर्तिवत् लाचार भइरहँदा बिदुरले बोलेका हरेक वाक्य न्याय र समानताको पक्षमा देखिन्छ ।

सभामा दुर्योधनले गरेको अपमानको बदला लिन उनले अर्जुनको गाण्डिवभन्दा शक्तिशाली धनुष फ्याँकेर पाण्डव वा धर्मको जीतको बाटो सहज गराइदिए । उनी युद्धमा संलग्न नहुने घोषणा गर्दै तीर्थाटनमा जानु भनेको पाण्डवको जीतका लागि नयाँ आधार दिनु पनि हो । तर, एउटा क्षेत्रीय राज्यको प्रधानमन्त्री राज्य संकटमा परेको बेला हतियार त्यागेर तीर्थाटनमा जानु ठीक हो ? राज्यको सुरक्षा उनको कर्तव्यभित्र किन परेन ? धर्मभित्र कर्तव्य पर्दैन ? कि यसलाई बिदुरको बिद्रोह नै ठान्ने ?

बसाई लामो भयो ।

नारायणको रुप र प्रतिरुप बारे धेरै सुनेका छौं । अहिलेको अवस्थामा कर्म नगरी कीर्ति प्राप्त हुँदैन । कर्मका लागि पाइताला, मस्तिष्क र पाखुरासहितका अन्य इन्द्रियको प्रचूर उपयोग महत्वपूर्ण छ । मान्यजनका आशिष सद्भाव, शुभेच्छा मात्र हुन् । तिनले भित्री बल त दिन्छन् तर नवीन आविष्कार, नयाँ प्रयोग, नयाँ तथ्य र नयाँ सूचना दिंदैनन् । आशिष दिनेले गुण मात्र सम्झेर दिए पनि ग्रहण गर्नेले उनीहरुका दोष पनि थिए भनेर सचेत भइदिए आजको बसाईको तात्पर्य भेटिन्छ । आगे मान्यजनले दिएको आशिर्वाद तिरस्कार नगरौं तर मिलाएर बुझम् ।
भवतु सब्ब मंङ्गलम् ।

टिप्पणी थप्नुहोस्