प्रम ओलीको डायलासिस अब बालुवाटारमै ?

  • आरती शर्मा

काठमाडौं । १४ कात्तिक शुक्रवार दिउसै डायलासिस सकिएपनि प्रधानमन्त्री केपी ओली ग्राण्डी अस्पतालको अति सघन उपचार कक्षमा आराम गरिरहे । दुई पटक डायलासिस गरेपछि निवास बालुवाटार फर्कने क्रममा भने उनले आफू फिट रहेकोसन्देश दिन खोजे । तर, उनको बडी ल्याङवेज अस्वाभाविक थियो ।

यति बेला प्रम ओली बालुवाटारमा आराम गरिरहेका छन । उनको मिर्गौलाको कार्यक्षमतामा अस्वाभाविक ढंगले ह्रास भएकोछ । चिकित्सकहरु चिन्तामा छन । उनको मिर्गौलाले रगत सफा गर्न नसक्ने भएपछि डायलासिस गरिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन । मिर्गौलाले कामगर्न नसकेपछि मेशिनको सहयोगमा शरीरको फोहोरतत्व, शरीरमा बढी भएको नून र पानी बाहिर निष्काशन गरि रक्तचापलाई नियन्त्रणमा राख्न डायलासिस गरिएको हो ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले डायलासिसपछि मिर्गौलाले राम्रोसँग कामगर्न थालेको दावी गरेका छन । तर, उनलाई सातामा दुईपटक नियमित डायलासिस गर्ने कि मिर्गौला प्रत्यारोपणगर्ने ? छलफल चलिरहेको छ । १४ कात्तिकमा प्रधानमन्त्री ओलीसंग भेटगर्न आएका नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग चिकित्सकहरुले प्रम ओलीको मिर्गौलाको कार्यक्षमतामा समस्या देखिंदा छिटाछिटो संक्रमण देखिएको बताएका थिए । ६ वर्ष अघि प्रम ओलीको हातमा संक्रमण देखा परेको थियो । त्यतिबेला उपचारका लागि प्रम ओली दिल्ली र बैंकक पुगेका थिए । गत वर्ष छातीमा संक्रमण भएपछि उपचारकालागि उनी अस्पताल भर्ना भएका थिए ।

गत वर्ष प्रधानमन्त्रीको शपथ लिनु केही दिन अघि उनी थाइल्याण्डस्थित ब्रुमरुङग्राड इन्टरनेशनल अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए ।

विग्रँदै स्वास्थ्य

मिर्गौला प्रत्यारोपण भएको बाह्रवर्षपछि उनको शरीरमा संक्रमणको समस्या दोहोरिएको छ । कात्तिक १३ गते साँझ र १४ गते दिउसो चौबिस घण्टाभित्र दुई पटक उनको डायलासिस गरिएको छ । । पहिलो डायलासिसबाट स्वास्थ्यमा अपेक्षितसुधार नभएपछि विहिवार दिउँसो पुनः डायलाइसिस गरिएको थियो । उनको शरीरमा पोटासियमको मात्रा बढेर छातीमा पानी जम्मा भएको अस्पताल स्रोतले जनाएको छ । त्यस्तै क्रियटनिनको मात्रामा पनि वृद्धि हुँदा मिर्गौैलाको कार्यक्षमता घटेको थियो ।

चौबीस घण्टाभित्र दुई पटक डायलासिस गरेका प्रम ओलीको नियमित डायलासिस गर्नु पर्ने ÷ नपर्ने बारे नीजि चिकित्सक डा. दिव्या सिंह शाहले चिकित्सकहरुसंग छलफल थालेकी छिन । नियमित डायलासिस गर्नुपर्ने पनि हुन सक्छ । विदेशी चिकित्सकसँग पनि छलफल गरेर भन्न सकिन्छ – एक चिकित्सकले भने । नियमित डायलाईसिस गर्ने सम्बन्धमा निष्कर्ष ननिस्केको उनले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको ०६४ सालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । भारतको अपोलो अस्पतालमा प्रत्यारोपण गराएको १२ वर्षपछि उनलाई पटक पटक संक्रमण भएको छ । प्रत्यारोपण गरिएको मिर्गौलाले प्रभावकारी ढंगले कार्य गर्न नसकेपछि संक्रमण हुन्छ – एक वरिष्ठ मिर्गौला रोग विशेषज्ञले भने । प्रधानमन्त्री ओलीलाई हात र छातीको पटक पटक संक्रमण हुने गरेको छ । उनको शरीरमा एन्टिबडी निष्काशन हुन थालेपछि सिंगापुरस्थित अस्पतालमा गत महिना प्लाज्मा फेरेसिस गरिएको थियो ।

अहिले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले दावी गरेका छन । अस्पतालको सघन उपचार कक्ष (आइसीयु) मा राखेर डायलासिस गरिएको भएपनि प्रम ओलीको बास्तबिक स्वास्थ्य अवस्था लुकाइएको छ । चौबिस घण्टाभित्र डायलाईसिस गर्नु भनेको मिर्गौला मात्र नभएर संक्रमण अन्य अंगमा समेत भएको पुष्टि हुन्छ – एक मिर्गौला रोग विशेषज्ञले भने ।

प्रधानमन्त्री ओलीको मिर्गौलाले कामगर्न नसकेपछि डायलासिस वा प्रत्यारोपण के गर्ने सम्बन्धमा अन्योल देखिएको छ । प्रधानमन्त्री ओलीको खकार, रगत, क्रियटिनिन लगायतको परीक्षणगर्दा रगतमा क्रियटिनिन, पोटासियम र युरियाको मात्रा बढेको स्रोतले जनाएको छ ।

गुपचुप राख्न नीजि चिकित्सकको दबाब

प्रधानमन्त्री ओलीको स्वास्थ्य रिपोर्ट लुकाइएको छ । प्रधानमन्त्री ओलीको नीजि सचिवालयले कुनै जानकारी दिएको छैन । अस्पतालले समेत वास्तविक स्वास्थ्य अवस्था लुकाएर दुई पटक सामान्य पे्रस विज्ञप्ति निकालेर औपचारिकता निभाएको छ ।

प्रधानमन्त्री ओलीको नीजि चिकित्सक डा. दिव्यासिंह शाह र परिवारको निर्देशन अनुरुप स्वास्थ्य अवस्था लुकाइएको स्रोतले जनाएको छ । अस्पतालका मेडिकल निर्देशक डा. चक्रराज पाण्डे र अन्य चिकित्सकलाई समेत स्वास्थ्य अवस्थाबारे सार्वजनिक नगर्न दबाब दिइएको थियो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले नियमित स्वास्थ्य परिक्षण गर्न अस्पताल गएको दावी गरेका कारण उनको सामाजिक संजालमा आलोचना भइरहेको छ । डा. अर्यालले जे भनेपनि, प्रधानमन्त्री ओलीको अवस्थो गम्भीर भएका कारण अस्पताल भर्ना गर्नु परेको थियो ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले आफनो अस्पतालको चर्चा हुने भएकोले भर्ना हुने उपाय सुझाएको बताइएको छ । प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. शाह पनि ग्राण्डी अस्पतालको नेफ्रोलोजी विभागकी प्रमुख हुन । दुवै जना मिलेर अस्पतालमा दुई दिनसम्म राखेका हुन ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. पाण्डेले दुई पटक प्रेस विज्ञप्ति समेत ओलीको परिवारलाई देखाए पछि बाहिर सार्वजनिक गरेका थिए । अनुमति लिएर प्रेस विज्ञप्ति निकालिएको हो । अनुमतिविना काम गर्ने हुँदैन, डा. पाण्डेले भने ।

प्रधानमन्त्रीको स्वास्थ्य उपचार अस्पतालको सघन उपचार कक्ष (आइसीयु)मा राखेर गरिएको डा. पाण्डेले बताए । मन्त्री एवं नेताको भीड लाग्ने भएकोले आइसीयुमा राखिएको बताउँदै आएका डा. पाण्डेले डिस्चार्ज हुने दिने आइसीयु नभएर सुविधा सम्पन्न कक्षमा राखिएको बताएका थिए ।

१५ वर्ष मैदानमा ?

गत भदौं महिनामा सिंगापुरमा उडनु अघि प्रधानमन्त्रीले अन्यथा सोंच्नेहरुलाई चेतावनी दिंदै भनेका थिए, म अझै १५ वर्ष मैदानमै हुने छु । मरिगए हुन्थ्यो भन्ने चाहनेहरु अर्को चुनाव सामना गर्न तयार हुनुहोस ।

प्लाज्मा फेरेसिस गरेर शरीरमा उत्पन्न भएको अनावश्यक एन्टिबडी निष्काशन गरेको दुई महिना नबित्दै मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि प्रम ओलीको स्वास्थ्य अवस्था झन जटिल भएको हो । प्लाज्मा फेरेसिसले दीर्घकालीन कामगर्न नसकेकोले अब उनले डायलासिस वा पुनः मिर्गौला प्रत्यारोपणमा जानु पर्ने बिकल्प बाँकी रहेको एक मिर्गौला रोग विशेषज्ञले बताए । प्लाज्मा फेरेसिस नेपालका अस्पतालहरुमा हुने भएपनि प्रम ओलीको सिंगापुरस्थित नेसनल युनिभर्सिटि हस्पिटलमा भएको थियो ।

सम्भवत: डायलासिस् गर्ने निर्णय भयो भने बालुवाटारमै मसिन लगाएर गर्ने सम्भावना रहेको बताइन्छ ।

टिप्पणी थप्नुहोस्