तरुण दल अध्यक्ष शाहलाई फसाईएको केन्द्रिय अध्यक्ष बस्नेतको आरोप

-सिराज खान

नेपालगन्ज । नेपाल तरुण दल नेपालगन्ज नगरका अध्यक्ष सन्दीपजंग शाह लगायत ६ जनालाई हतियारसहित पक्राउ गरेको प्रहरीले जनाएको केही घण्टा नबित्दै शाहलाई फसाइएको आरोप लगाइएको छ ।

नेपालगन्ज उपमहानगरपालिका–२० स्थित नमस्ते भिलेज रिसोर्टबाट बिहीबार राती ८ः३० बजेको समयमा अवैध पेस्तोल र केही म्याग्जिनसहित तरुण दलका नगर अध्यक्ष शाह र उनका ६ जना साथीलाई कोहलपुर इलाका प्रहरीले पक्राउ गरेको थियो ।

तर, शुक्रवार विहान नेपाल तरुण दलको केन्द्रिय कमिटीले सो घट्नामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अध्यक्ष शाहलाई प्रहरीले फसाएको आरोप लगाएको छ ।

नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेतद्वारा जारी बिज्ञप्तीमा शाहबाट बरामद भएको भनिएको हतियारमा भएको ‘फिङ्गर प्रिन्ट’ तत्काल जाँच गरेर सत्यतथ्य बाहिर ल्याउन माग गरिएको छ ।

बाँके प्रहरीले तरुण दलका नगर अध्यक्ष शाह हतियारसहित पक्राउ परेको दाबी गरिरहेका बेला तरुण दलका केन्द्रीय अध्यक्ष बस्नेतले प्रहरीलाई हतियारमा भएको ‘फिङ्गर प्रिन्ट’ जाँच गरेर सत्यतथ्य बाहिर ल्याउन चुनौती दिएका छन् ।

बस्नेतले शुक्रबार विज्ञप्ती जारी गरेर प्रहरी आफैंले लगेको हतियार शाहको गाडीबाट बरामद गरेको देखाएको भन्दै झुठो बहाना बनाएर फसाउने र सामाजिक आतंक सृजना गर्ने र लोकतन्त्रवादी तरुणलाई दुःख दिने कुत्सित एवं दुरासययुक्त नियतले नगर अध्यक्ष शाहलाई पक्राउ गरिएको पनि दाबी गरेका छन् ।

अध्यक्ष बस्नेतले पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्न र निर्दाेष तरुण नेतालाई पक्राउ गरी फसाउन झुठा प्रपञ्च रच्ने प्रहरीहरुमाथि हदैसम्मको कारवाही गर्नसमेत माग गरेका छन् ।

तरुण दलले माग बेवास्ता गरे सरकारले गमभीर मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिएको छ । हाम्रो सदासयता र धैर्यतालाई बेवास्ता गरिएमा वर्तमान सरकार र यसका मतियारहरुलाई यसको गम्भीर मूल्य चुकाउनुपर्ने चेतावनी दिन चाहन्छौं, अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रहरीले नगर अध्यक्ष सन्दीप जंग शाहसँगै दिनेशकुमारी शाही, राघव शाह, पृतम थापा, माधव नेपाली र यामबहादुर बुढामगरलाई पनि नमस्ते रिसोर्टबाट पक्राउ गरेको थियो ।

नमस्ते भिलेज रिसोर्टमा पार्क गरिएको बा १८ च ४२११ नम्बरको मारुती गाडी चेकजाच गर्ने क्रममा चालक बस्ने सिटको मुनि लुकाई राखेको मेड इन यूसए लेखेको अटोमेटिक पेस्तोल एक थान, म्याग्जीन एक थान र लोड गरिएको २ थान बुलेट बरामद गरिएको प्रहरीले जनाएको थियो ।

सो अवैध हतियार के कति उदेश्यले राखिएको थियो सो बारेमा अनुसन्धान भैरहेको जनाउँदै उनिहरुले किन त्यहाँ सो हतियार लिएर गएका थिए उक्र सम्बन्धमा पनि छानविन भैरहेको प्रहरीले जनाएको छ ।

तरुण दलका अध्यक्ष शाहसहित पक्राउ परेका पाँचजनाहरुसंग पनि छुट्टा छुट्टै सोधपुछ भैरहेको बाँकेका प्रहरी प्रमुख एसपी वीर बहादुर ओलीले बताए ।

पछिल्लो समयमा आएर प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना लागु गरेकै कारण धेरै अपराधिक गतिविधी रोकथाम गर्न सकिएको र गैरकानुनी काममा संलग्न धेरैलाई पक्राउ गरिएको उनले जनाए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री