ओलीको स्वास्थ्य संकट

  • नरेन्द्र विमल

सर्व साधारण नेपालीले थाहा पाएको विषय के हो भने प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था जटिल छ । मृगौला प्रत्यारोपण गरेको व्यक्तिको, जुनसुकै समयमा पनि, स्वास्थ्यमा समस्याको संभावना हुन्छ । यो विषयलाई सबैले पहिलेदेखि नै बुझेका हुन् । १२ वर्षअघि भारतको अपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गर्दा ओली देशको होइन एमाले पार्टीको पनि पहिलो नेता थिएनन् । उनी एमालेभित्र शक्तिशाली गुट चलाउँदै आएका चर्चित नेता मात्रै थिए । त्यसवेला ओलीको स्वास्थ्यका बारेमा पार्टीका नेता तथा कार्यकर्तालाई मात्रै होइन सर्वसाधारणमा पनि सामान्य चासो रहेको थियो । तर देशको प्रमुख कार्यकारीको रुपमा अहिले सर्वाधिक चासो छ भने त्यो अस्वाभाविक पनि होइन ।

मृगौला प्रत्यरोपणपछि नियमित चेक जाँच र समस्या देखिएको समयमा उपचारका लागि ओलीको भारत, थाइल्यान्ड र सिंगापुरको आउजाउ सधै समाचारको विषय बनेको हो । सञ्चार माध्यममा केही आइहाल्छ कि ? भनेर अहिले तर्किएर हिडेपनि विगतमा कतिपय उपचारको क्रममा आउजाउको विषय उनको स्वास्थ्यमा मात्रै सीमित थिएन । ओलीका लागि शक्ति प्रदर्शनको माध्यम पनि थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई र स्वागतका लागि पुग्ने भीडले पनि त्यही देखाउँथ्यो । त्यस समयमा समाचार प्रवाहका लागि पत्रकारलाई विमानस्थलका आमन्त्रण हुन्थ्यो भने आफ्नो गुटका नेता तथा कार्यकर्ताका लागि उर्दी हुन्थ्यो । विमानास्थलमा ओलीले कडा शब्दमा गर्ने टिप्पणीको विषय उपचार गरेर फर्किएर आउँदासम्म समाचारको विषय बनी रहेको हुन्थ्यो ।

पार्टीिभत्र मजबुत गुटको नेता भएपनि तत्कालीन नेकपा एमालेको नेतृत्वमा पुग्नका लागि ओलीको कमजोर हुँदै गएको स्वास्थ्य एउटा कारणको रुपमा रहेको थियो । नवौ महाधिवेशनको समयमा पार्टीका कार्यकर्तामा ओलीले उमेर र स्वास्थ्यको कारण अर्को पटक नेतृत्वमा पुग्ने अवसर पाउन नसक्ने हुन कि भन्ने भावना जबरजस्त थियो । किनभने एकै उमेरका नेता मदन भण्डारी, सीपी मैनाली, झलनाथ खनाल, माधवकुमार नेपाल सबैले पार्टीको नेतृत्व गर्ने अवसर पाएको अवस्थामा ओलीले नपाउने कारण के ? भन्ने उनको पक्षको तर्क थियो । नेतृत्व व्यवस्थापनलाई गम्भीर रुपमा नलिएको कारण विगतमा नेपाली कम्युनिष्टहरु विभाजन भएको उदाहरण प्रस्तुतगर्दै ओलीका लागि अर्को पटक नभै यसै पटक अवसर दिनुपर्ने तर्क थियो । यो तर्कलाई त्यस समयका पार्टी प्रमुख प्रतिस्पर्धी माधवकुमार नेपाल पक्षले राम्रोसँग चिर्न सकेन । नेपाल पक्षले हस्तान्तरण नभै पुस्तान्तरणको विषयलाई प्रमुखताका साथ उठाएको थियो । पुरानो पुस्ताबाट नेतृत्व नयाँ पुस्तामा जानका लागि संक्रमणकालीन नेतृत्वका रुपमा माधव नेपाललाई अघि सारिएको तर्क थियो ।

तत्कालीन नेकपा एमालेको संसदीय दलको नेतामा चुनिएपछि ओलीको स्वास्थ्यमा समस्या देखिएको थियो । उनले पछि पटक पटक स्वास्थ्य उपचारकालागि थाइल्यान्ड जानु परेको थियो ।

नेतृत्वमा पुगेपछि ओलीले पछि फर्किएर हेर्नु परेन । आफू अघिका नेताहरुले भन्दा राम्रै नेतृत्व दिए उनले । त्यस समयको नेपाली राजनीतिको मूलधारका नेताको रुपमा आफूलाई स्थापित गराए । पार्टी अध्यक्षको रुपमा संविधान निर्माणमा जोड दिए, संविधान जारी भएपछिको नाकाबन्दीको प्रधानमन्त्रीको रुपमा सामना गरे । तेस्रो ठूलो दलका रुपमा रहेको तत्कालीन नेकपा माओवादी केन्द्रसँग पार्टी एकीकरण गरेर संघीय संसदको करीब दुई तिहाई स्थानमा बिजय हासिल गरे । त्यसपछि उनको नेतृत्वको सरकार नेकपामा भैरहेको खेलमा चलिरहेको छ ।

पछिल्लो समयमा नेकपा मात्रै नभएर देशको राजनीतिक कोर्स कुन रुपमा अघि बढ्छ भन्ने विषयको निर्धारण आगामी दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था कस्तो हुन्छ ? भन्ने विषयले निर्धारण गर्ने छ । यहीे कारण ओलीको स्वास्थ्य अवस्था कस्तो छ भन्ने विषयमा सबैको चासो रहेको छ । तर, जसरी ओली र उनको सचिवालयले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा सूचनाहरु लुकाएको छ त्यसले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई एउटा रहस्यको विषय बनाएको छ । यसले विभिन्न प्रकारका हल्ला र अफवाह फैलाएर राजनीतिक बिचलनवादीलाई मद्दत पुर्‍याएको छ । पछिल्लो पटक आएको जानकारी अनुसार, प्रधानमन्त्री ओलीको १२ वर्षअघि गरिएको मृगौलाको प्रत्यारोपणले पर्याप्त रुपमा काम गर्न छाडेको छ । जसका लागि प्रधानमन्त्री ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण गर्नु पर्ने छ । त्यसो नगरे साताको तीन पटक चार चार घण्टाको दरले डायलाइसिस गर्नुपर्ने हुन्छ । प्रत्यारोपण जोखिमपूर्ण छ । यसका लागि ओलीलाई मिर्गौलाको दुःख नहोला । मिर्गौलाको प्रत्यारोपण नगर्ने हो भने त्यसको बिकल्प डायलाइसिस नै हो । यो प्रक्रिया झण्झटिलो र खतरनाक पनि रहेको चिकित्सकहरु बताउँछन ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री