विधान मिचेर नेविसंघ तदर्थ समिति बनाउँदै देउवा

  • रोमन आचार्य

काठमाडौं । सातौं पटक संशोधन भएर बनेको नेपाल विद्यार्थी संघ (नेविसंघ) को विधान, २०७५ को भाग दुई, धारा ५ को उपधारा ५ मा नेपाल विद्यार्थी संघको सदस्य बन्न ३२ मुनिको हद तोकिएको छ । उपधारामा लेखिएको छ, ‘३२ वर्ष पूरा भएको व्यक्ति ने.वि.संघको सदस्य बन्न पाउने छैन । यो व्यवस्था संघको १२ औं महाधिवेशनबाट लागू हुनेछ ।’

उमेरको यही हदबन्दीको विवादले नेपाल विद्यार्थी संघ नेतृत्वविहीन भएको वर्ष दिन पुग्न लागिसकेको छ । २०७३ सालमा भएको ११ औं महाधिवेशनले नैनसिंह महरलाई संगठनको अध्यक्षमा निर्वाचित गरेपनि समयमा अधिवेशन गराउन नसकेर उनको कार्यसमितिले राजीनामा गरेको लामो समय भै सकेकोछ । तर, पार्टीमा प्रभावशाली मानिएको भातृ संगठन नेतृत्वविहीन बन्दा अन्य भातृ संस्था जस्तै यो पनि कमजोर बन्दै गएको छ ।

पार्टी सभापति स्वयमले लामो समयसम्म नेपाल विद्यार्थी संघको राजनीति गरेर इतिहासकै सबैभन्दा शक्तिशाली दलको सभापति बनिरहँदा नेविसंघको भविष्य अन्योलमा परेकोछ । राजनीतिक वृत्तमा यसको नकारात्मक सन्देश गएको छ । उपसभापति विमलेन्द्र निधि, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा , केन्द्रिय सदस्यहरु गगन थापा, गूरु घिमिरे, प्रदीप पौडेल, एनपी साउद लगायतले विभिन्न पदमा बसेर नेविसंघलाई नेतृत्व दिइसकेका छन् ।

माउ पार्टी कांग्रेसले प्रत्यक्ष हस्तक्षेप गरेर महाधिवेशन गराउन तदर्थ समिति बनाउने प्रयास नगरेको होइन । तर, संस्थापन र बिरोधी पक्ष बीच भागवण्डा नमिल्दा समिति बनाउने विषय पेचिलो बनेको स्रोत बताउँछ । ‘‘३२ वर्षको तगारो देखाएर निकाल्नुको कारण भागवण्डा नमिलेर हो’’, महामन्त्री शशांक कोइराला निकट एक विद्यार्थी नेताले भने–‘‘सबैलाई केन्द्रिय सदस्य बनाइदिने लोभ देखाउँने हो भने दुईदिन देखि हप्ता दिन भित्रमा समिति आउँछ ।’’

विधान मिच्दै देउवा

विधानले ३२ बर्षमुनि भने पनि संस्थापन पक्ष राजीव ढुंगानालाई तदर्थ समितिको अध्यक्ष बनाउन लागि परेको स्रोतको दाबी छ । ढुंगाना वर्तमान कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा नेविसंघ अध्यक्ष बन्दा सदस्य तथा वर्तमान केन्द्रिय सदस्य प्रदिप पौडेल संगठन अध्यक्ष हुँदा उपाध्यक्ष भएका थिए । स्रोतका अनुसार ढुङ्गानाको उमेर ५० नाघिसकेको छ ।

यस्तै अध्यक्ष बन्ने दौडमा पूर्व उपाध्यक्षद्वय मनोजमणि आचार्य र ऋषिकेशजंग शाह, निवर्तमान महामन्त्री सरोज थापा, अघिल्लो अधिवेशनमा अध्यक्ष पदमा पराजित शुभराम बस्नेत, निवर्तमान उपाध्यक्ष सागर परियार लगायतको नाम चर्चामा आएको छ । यी मध्ये पार्टी सभापति शेरवहादुर देउवाले राजिव ढुङ्गानालाई नै तदर्थ समितिको जिम्वेवारी सुम्पिने अन्तिम तयारी गरेको स्रोतको दावी छ । देउवा निकट एक विद्यार्थी नेताले भने–‘दशै तिहार नसकिदै समिति बनाउने सभापतिको योजना थियो, तर भागवण्डा मिलेजस्तो देखिएको छैन ।’

महामन्त्री कोइराला निकट खेमामा रहेकी निवर्तमान उपाध्यक्ष उर्मिला थपलियाले रुपान्तरणसँगको कुराकानीमा ३२ बर्ष मुनिका सदस्यहरुको नेतृत्वमा तदर्थ समिति बनाउनुपर्ने आफ्नो समूहको माग रहेको दाबी गरिन् । सातौं विधान संशोधन समितिमा रहेर काम गरेकी उनले विधान विपरित जाने हैसियत कसैको नभए पनि पार्टीनै विधान मिच्न उद्यत भएको बताइन् । ‘विधान बनाएर पार्टीलाई वुझाएपछि यसको कार्यन्वयन गराउन पार्टीले भुमिका खेल्नुपर्ने हो’, उनले भनिन्–‘निर्वाचन भएर कमिटि ल्याउनु परेको भए हाम्रो प्रत्यक्ष सहभागिता हुन्थ्यो । तर पार्टीले हामीलाई नालायकको संज्ञा दिएपछि हामीले संगठन छोड्यौं । अहिले हालत यस्तो छ।’

यता सभापतिका आकांक्षी देउवा निकट एक विद्यार्थी नेताले आफूभित्र भएको असन्तुष्टि मिलाउन नसक्दा संगठन अनिर्णयको बन्दी भएको स्वीकार गरे । उनले राजीव ढुङ्गाना नै समूहबाट सर्वस्वीकृत भएको संकेत गरे । ‘नेताहरु विमलेन्द्र निधि, ज्ञानेन्द्र बहादुर शाही लगायतले पनि वहाँलाई तदर्थ समितिको जिम्वेवारी दिनु पर्छ भन्दै लविङ्ग गरिरहनु भएको छ’, उनले भने–‘तदर्थ समितिमा विधान अनुसार कमिटि त आउने संभावना छैन, तर पनि के ले रोकिएको हो कारण स्पष्ट भइसकेको छैन।’

३२ मुनिको चर्चा

नेविसंघका संस्थापक अध्यक्ष विपिन कोइराला तदर्थ समितिको जिम्वेवारी लिन अहिले चर्चामा आएका नामहरु तरुण दलको नेतृत्व लिने हैसियतको समेत नरहेको बताउँछन् । आफू २७ वर्षको उमेरमा नेविसंघको अध्यक्ष भएको तथा वर्तमान पार्टी अध्यक्ष शेर वहादुर देउवा पनि त्यहीँ हाराहारीमा संगठनको अध्यक्ष भएको स्मरण गर्दै उनी अबको नेतृत्व ३२ मुनिका युवाहरुमा आउनुपर्ने तर्क गर्छन् ।

त्यसो त ३२ मुनिका आकांक्षीहरुको वेलावखत चर्चा नआएको पनि होइन । संस्थापन पक्षले उनीहरुमा विश्वास नगर्दा विधान सम्वत समिति नबनेको हो । निश्कल राई , डि.वि सुनुवार, प्रेम शाही , गिरी सुनुवार , गिताइन्द्र गुरुङ लगायतको नाम संस्थापन पक्षबाट चर्चामा आएको हो । यी नेताहरुले वारम्वार देउवा निवास वुढानीलकण्ठ पनि धाएकै हुन् । यता, सिटौला पक्षबाट नवराज त्रिपाठी, महेन्द्र भट्टराई, गणेश सापकोटा लगायतको नाम चर्चामा आएकै हो । नवराज त्रिपाठीले ३२ माथिको कमिटि ल्याए अनसन बस्ने चेतावनी दिएका छन् ।

११ औं महाधिवेशनमा सिटौला पक्षबाट महामन्त्री जितेका कुन्दन राज काफ्ले ३२ मुनिको समिति आउनु पर्नेमा जोड दिन्छन् । सातौं संशोधन हुँदा महत्वपूर्ण भुमिका खेलेका उनी विधान मिच्ने अधिकार कसैलाई नभएको बताउँछन् । विधान विपरित समिति आए के गर्नुहुन्छ भन्ने रुपान्तरणको प्रश्नमा उनले भनेका छन्–‘‘समानान्तर समिति बनाएर अघि बढ्छौं । विधान मिच्ने अधिकार कसैलाई छैन ।’’

संस्थापन पक्षको योजना

पार्टीको केन्द्रिय महाधिवेशनको चर्चा भइरहँदा प्रभावशाली भातृ संगठनमा देउवा आफ्नै मान्छे ल्याउन जुटेका छन् । मूल पार्टीमा समेत आफ्नो कार्यकाल दोहो¥याउने कसरतमा रहेका उनले अर्को भातृ संगठन तरुण दल पनि विघटन गरेर आफू निकट नयाँ कार्यसमिति ल्याउन खोजिरहेको स्रोतको दावी छ ।

नेविसंघलाई हतियार बनाएर माउ पार्टीमा राजनीति गर्नका लागि पनि गुट भित्र उपगुटको झगडा बढ्दै गएको प्रष्ट बुझ्न सकिन्छ । आफ्नै कारणले हुन नसकेको स्ववियू निर्वाचन र त्यसमा भएका आकाक्षी तथा ३२ वर्ष माथिका धेरै आकाक्षीलाई व्यवस्थापन गर्न विधान मिच्नुको विकल्प संस्थापन र विपक्षसँग नभएको बुझ्न सकिन्छ । निवर्तमान उपाध्यक्ष थपलिया एउटा पुस्ताले त्याग नगरे अर्को पुस्तामा सोझै समस्यापर्ने अवस्था रहे पनि पार्टीले त्याग गर्ने नेताहरुलाई कहाँ व्यवस्थापन गर्ने भन्ने अर्को समस्या रहेको तर्क गर्छिन् ।

३२ मुुुनिको समिति आउँदा ६ महिनाभित्र महाधिवेशन नहुने डर संस्थापन पक्ष र विपक्षमा पनि पलाएको पाउन सकिन्छ । देउवा पक्ष निकट तदर्थ समितिमा नेतृत्वको आकांक्षीका एक नेता सभापतिमा ३२ मुनिले महाधिवेशन गर्न नसक्ने आशंका पलाउनु र लामो समय नेविसंघको राजनीति गरेकाहरुले पनि त्यही अनुसारको रिर्पोटिङ्ग गर्नाले विधान मिचिने लगभग पक्का रहेको बताउँछन् । यस्तै निवर्तमान समितिका सदस्यहरु संस्थापन पक्षले ‘एस म्यान’ लाई टिका लगाउन गरेको प्रयत्नले सिङ्गो नेविसंघ अनिर्णयको बन्दी भएको दुःखेसो पोख्दछन । संस्थापक अध्यक्ष कोइराला औपचारिक विद्यार्थी जीवन नै ३०, ३२ मा सकिने भएकाले विधानको प्रावधान अनुसार अघि बढ्नु पर्ने तर्क गर्छन् । ३२ मुनिको एक जनालाई तदर्थ समितिको नेतृत्व दिएर अधिवेशन गर्ने म्यानडेट दिए समस्या नआउने उनको तर्क छ ।

सुशील दाइको पथमा शेरबहादुर : विपिन कोइराला

हामीले नेपाल बिद्यार्थी संघको स्थापना गर्दा देशमा पञ्चायती व्यवस्था थियो । नेताहरु जेलमा थिए । कोही हिन्दुस्थानमा थिए । त्यस्तो समयमा प्रजातन्त्रको दियो बाल्ने काम हामी युवाहरुले गर्नुपर्ने थियो र ग¥यौं पनि । १७ साल पश्चात् १० वर्षको अनवरत संघर्ष पछि हामीले नेविसंघको स्थापना ग¥यौं । पछिल्लो चरणमा नेविसंघलाई कव्जा गर्ने, आफ्नौ मान्छे चाहियो भन्ने मानसिकता पार्टीमा विकसित हुँदै गयो ।

हाम्रो समयमा नेताहरुले नेबिसंघमा हस्तक्षेप गर्दैन थिए । हामी त्यो वातावरण पनि बनाउँदैन थियौं । मैले मेरो एक वर्षको कार्यकाल जेलमै बसेर चितवनमा निर्धारित समयमै अधिवेशन गराएको हुँ । शेरवहादुरजी दोस्रो सभापति बने पनि उनले ३६ सालसम्म महाधिवेशन गराउन नसकेको इतिहास हामी माझ छ ।

चौथो सभापति देखि नवौं सभापति सम्म अधिवेशन हुन सकेन । मनोनयनको चलन आयो । त्यो बिचमा बुटबलमा सातौं महाधिवेशन भयो । एनपी साउद त्यहाँबाट सभापति बनेका हुन् । १२ औं सभापति प्रदीप पौडेल बनेपश्चात् त्यो समितिलाई भंग गराउने काम सुशील कोइरालाबाट भएको हो । त्यसको कारण समयमा अधिवेशन गर्न नसकेको देखाइयो ।

म शेरबहादुर जीलाई मात्र दोष दिन्न । सुशील दाइले प्रदीपलाई काम गर्न नदिएर तदर्थको बाटो खुल्ला गरिदिएको हो । शेरबहादुरले अहिले सुशीलको सिको गरेका हुन् । निष्पक्ष भएर भन्दा सुशील दाईले विगारेको कुरा शेरबहादुरजीले सच्याउन खोजेनन । मलाई उनीहरुले केही सोध्दैनन् । सायद मेरो कुरा उनीहरुलाई चित्त बुझ्दैन । नेविसंघ भनेको कांग्रेसलाई जीवन्त राख्ने संस्था हो । शेरबहादुरजीले अरु भातृ संगठनमा पकड फुस्क्यो भनेर नेविसंघमा आफ्नो हैकम जमाउने उद्देश्यले नेबिसंघलाई अनिर्णयको बन्दी बनाउन मिल्दैन ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री