श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु

  • सिराज खान

नेपालगन्ज, १७ कात्तिक । श्रीमान श्रीमतीको सामान्य विवादले उग्र रुप लिएपछि बाँकेको खजुरामा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । खजुरा गाउँपालिका–२ सीतापुरमा शनिबार राति गीता घर्ती मगरको कुटाईले उनका श्रीमान महेन्द्रकुमार घर्ती मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खजुरास्थित इलाका प्रहरी कार्यालय, धनौलीका इन्चार्ज प्रहरी निरीक्षक पोषणराज थपलियाका अनुसार, राति ९ बजेपछि श्रीमान र श्रीमतीका बीच विवाद बढ्दै जाँदा भएको झगडाले ठुलो रुप लिएपछि दुबैविच कुटाकुट भएको थियो ।
कुटाकुटका क्रममा श्रीमतीले काठले टाउकोमा हिर्काउँदा श्रीमानको टाउकोमा गम्भीर चोट लागेको थियो । स्थानीय मेडिकलमा लगेर उपचार गरिएपनि घर्तीको अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि उनलाई नेपालगञ्ज ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मदिरा सेवन गरेका श्रीमानसँग श्रीमतीको धान बेच्ने विषयमा झगडा भएको प्रहरी निरिक्षक थपलियाको भनाई छ । प्रहरीले श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती गीतालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बाँकेमा यसअघि मदिराले लट्ठिएको बेलामा भएको झगडामा कचनापुर र ढकेरीमा पनि श्रीमतीले श्रीमानको हत्या गरिसकेका छन् । श्रीमानले श्रीमतीको हत्या गरेका घट्नाहरु बाँकेमा धेरै पहिलेदेखि हुँदै आएको जनाउँदै प्रहरीले श्रीमतीले श्रीमानको हत्या गर्ने घट्ना केही समय यता हुन थालेको बताएको छ ।

टिप्पणी थप्नुहोस्