सूर्य अर्घसँगै सकियो छठ

भारतीयहरु पनि छठ मनाउन नेपालमा

-राधेश्याम विश्वकर्मा

भैरहवा । हिन्दुहरुको साझा पर्व छठ नेपाली र भारतीयहरुको समेत साझा बनेको छ । रुपन्देहीको रोहिणी गाउँपालिका–१ र २ मा नेपाल र भारतका श्रद्धालुहरुले साझा रुपमा छठ पर्व मनाउने गरेका छन ।

गाउँपालिकाको सेमरपानी र मैनिहवा भएर बग्ने रोहिणी खोलामा नेपाली र भारतीय छठ श्रद्धालुहरुको घुईचो लागेको थियो । भारतमा छठ घाट नभएपछि भारत तर्फका हजारां श्रद्धालुहरु नेपालतर्फ रहेको घाटमा छठ पूजा गर्न आउने गरेका छन् ।

रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले गाउँपालिकाको सीमावर्ती वडाहरुमा पर्ने नदी र पोखरीहरुमा दुवै देशका श्रदालुले सामुहिक रुपमा पूजा गर्ने गरेको बताए । उनले रोहिणी खोला मात्र नभई वडा नम्बर ७ को मनोहरापुरमा समेत दुवै देशका स्थानीयहरु साझा रुपमा सदभाव पूर्ण तरिकाले छठ मनाउने गरेको बताए ।

छठ मनाउन घाट मर्मत गरी दुवै देशका व्रतालुहरुका लागि पुजा सहज बनाएको थियो । सो घाटमा नेपाल तर्फका रोहिणी गाउँपालिकाका व्रतालुका साथै भारत तर्फका सामकाट, सुनौली लगायत आसपासका हजारौं श्रद्धालुहरुको घुईचो लागेको थियो ।

कुनै अप्रिय घटना हुन नदिन नेपाल तर्फबाट शसस्त्र प्रहरी नायब उपरिक्षक गोविन्द बहादुर खाती, ईलाका प्रहरी कार्यालय बेलहियाका ईन्चार्ज कमल बेल्वासे लगायतको टोली थियो । यता भारत तर्फबाट पनि प्रहरी चौकी सोनौलीका ईन्चार्ज र भारतीय सीमा सुरक्षा बलको टोली खटिएको थियो ।

भारत र नेपालको रहनसहन एवं सांस्कृतिक एक रुपताको ज्वलन्त उदाहरण छठ पर्व भएको रोहिणी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष सरोज कुमार पाण्डेले बताए ।

व्रतालुहरुले नदी, तलाउ, पोखरी, खोला र सार्वजनिक स्थानबाट व्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ दिएका छन् । उनीहरुले शनिबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए । सूर्यको उपासनासहित छठी माताको पूजा गरेमा रोगव्याधी निको हुने, सन्तान प्राप्त हुने तथा परिवारमा सुख शान्ति र समृद्धि हुने धार्मिक विश्वास छ ।

यस्तै भैरहवा तथा यस आसपासका नदी, खोला, पोखरी, तलाउ, नहरमा श्रद्धालुहरुको घुइँचो लागेको थियो । छठका व्रतालुहरु छठ घाटमा भजन किर्तन, रामलीला गरेर बसेका थिए । विशेषगरी तराई मधेसका जिल्लाका सार्वजनिक स्थलहरु भक्तिमय संगीत भजन एवम रामलीलाले गुन्जिने गरेको छ ।

भैरहवाको आर्मी ब्यारेक, हनुमान मन्दिर, लगायत यस आसपास बेथरी, मर्चवारको परसहवा, बसन्तपुर, चनुली, दुमदुमवा, मैनहिया, परासीझुंवा, धकधई, मनोहरापुर लगायत अधिकांश जलाशयहरुमा आईतबार व्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ दिएका थिए ।

टिप्पणी थप्नुहोस्