कोहलपुरका डीएसपी अनुसन्धानको दायरामा : छानविन समिति गठन

पत्रकार सम्मेलनमा घट्ना बारे जानकारी गराउँदै बाँकेका निमित्त प्रहरी प्रमुख सिंह ।

-सिराज खान

नेपालगन्ज । तरुण दल नेपालगन्ज नगरका अध्यक्ष सन्दीपजंग शाहलाई पेस्तोलसहित पक्राउ गरिएपछि ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी हेमबहादुर शाही विवादमा मुछिएका छन् ।

प्रहरी प्रमुख नै विवादमा मुछिएपछि उनीमाथि छानबिन गर्न पाँच नम्बर प्रदेश प्रहरीले एक समिति गठन गरेको छ । पाँच नम्बर प्रदेश प्रहरी प्रमुख डीआइजी सुरेशविक्रम शाहका अनुसार एसएसपी नरबहादुर केसीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

आइतबार गठन गरिएको समितिलाई १० दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन दिन समय दिइएको डीआइजी शाहले बताए ।

एसएसपीको नेतृत्वको टोली घटना अनुसन्धान र छानबिन गर्न बाँके आइसकेको छ । बिहीबार राति साढे आठ बजे बाँकेको गनापुरस्थित नमस्ते रिसोर्टबाट ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी शाही नेतृत्वको प्रहरी टोलीले नेपाल तरूण दलका नेपालगन्ज नगर सभापति सन्दीपजंग शाहसहित ६ जनालाई हतियारसहित पक्राउ गरेको थियो ।

पक्राउ परेको हतियार डिएसपी आफैंले राखेको भन्ने आरोप तरुण दलले लगाएको र डिएसपीले खसी मागेको तथा धम्की दिएको अडियो सार्वजनिक भएपछि प्रहरीले दुबै प्रकरणमाथि छानबिन गर्न समिति गठन गरेको हो ।

‘समितिले सत्यरतथ्य दिएपछि कारबाही हुन्छ’ उनले भने, ‘डिएसपीले आचरणविपरीतको कार्य गरेको भेटिए प्रहरी ऐन नियमावलीअनुसार कारबाही गरिन्छ ।’ तर, हतियार बरामद भएपछि मात्र उक्त अडियो आउनु चाँही शंकास्पद रहेको डिआइजी शाहीले बताएका छन् ।

यसैविच आइतवार जिल्ला प्रहरी कार्यालय बाँकेले एक पत्रकार सम्मेलनको आयोजना गरेर हतियार पक्राउ गरिएको घट्ना र अन्य अडियो सम्बन्धि घट्ना दुई अलग अलग घट्ना भएको जनाएको छ ।

सन्दिपजंग शाहलाई हतियारसहित पक्राउ गरिएपछि अडियो प्रकरणलाई अगाडी ल्याएर अपराध लुकाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रहरी प्रमुख डीएसपी शिव बहादुर सिंहले बताए ।

उनले हतियार बरामद गरिएको स्थानको सीसीटीभि फुटेजहरु हेर्दा पनि त्यहाँ कसैले हतियार राखेको नदेखिएको र गाडीमा अटोमेटिक लक सिस्टम भएको तथा सो लक शाह आफैंले नै आएर खोलेकोले अरुले हतियार राख्ने कुनै पनि संभावना नरहेको निमित्त प्रहरी प्रमुख सिंहले बताए ।

उनले सार्वजनिक गरिएका अडियो र अन्य आरोपका सम्बन्धमा छानविन गर्न समिति गठन भैसकेको जनाउँदै सत्य तथ्य छिटै बाहिर आउने बताए ।

‘गैरकानूनी हतियार बोक्नेलाई समात्ने प्रहरीको दायित्व हो, यसमा दोषीलाई कडाभन्दा कडा कारबाही हुन्छ,’ निमित्त प्रमुख सिंहले भने, ‘आचरणविपरीत काम गर्ने प्रहरीलाई प्रहरी ऐन नियमावली बमोजिम कारबाही हुन्छ ।’

अमेरिकन पेस्तोलसहित पक्राउ परेका नगर सभापति शाही बिरूद्ध कोहलपुर प्रहरीले हातहतियार तथा खरखजाना ऐनअनुसार अदालतमा मुद्दा दायर गरिसकेको छ ।

प्रहरीका अनुसार सात दिन म्याद थप गरेर शनिबारदेखि सभापति शाहसँग अनुसन्धान भइरहेको छ । हतियार बरामद पनि रितपूर्वक गरिएको सिंहले बताए । ‘गाडीबाट हतियार बरामद भएका वेलाका फोटो, भिडियो जस्ता प्रमाण पनि प्रहरीसँग सुरक्षित छन्,’उनले भने ।

उता, आफ्ना नेतालाई फसाईएको भन्दै तरुण दल नेपालगन्जले आन्दोलन गर्ने चेतावनी दिएको छ । सोही क्रममा कोहलपुरमा चक्काजाम पनि गरिएको थियो ।

टिप्पणी थप्नुहोस्