ढिलोचाँडो प्रधानमन्त्री बन्छु : प्रचण्ड

माधव नेपालको नोट अफ डिसेन्ट सामान्य

-सिराज खान
नेपालगन्ज । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ढिलोचाँडो आफू फेरि प्रधानमन्त्री बन्ने बताएका छन् ।

नेपालगन्जका उद्योगी व्यवसायीलाई मंगलवार यहाँ सम्बोधन गर्दै उनले भने,‘म ढिलो चाँडो फेरी प्रधानमन्त्री बन्नेछु र तपाईहरुका सबै माग पुरा गर्नेछु ।’

काठमाडौं फर्किए लगत्तै व्यवसायीका मागहरु प्रधानमन्त्री र मन्त्रीहरु समक्ष राखेर छलफल गर्ने प्रतिवद्धता पनि उनले गरे । उनले अहिले आफ्नो काम जनताका माग र कुराहरुलाई सुनेर सिंहदरबारसम्म पुर्याउने नै रहेको बताए ।

नेपालगन्जलाई पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र बनाउनु पर्ने व्यवसायीहरुको माग एकदम जायज रहेको जनाउँदै उनले यो सहरले विगतमा पनि केन्द्रविन्दुको काम गर्दै आएको थियो र अहिले पनि गरिरहेको तथा भविष्यमा पनि गरिरहने बताए ।

नेपालगन्ज विमानस्थललाई स्तरोन्नती गरेर अन्तराष्ट्रिय उडान शुरु गर्ने, कोहलपुरसम्म रेल ल्याउने र सुख्खा बन्दरगाहलाई छिटो निर्माण गर्नुपर्ने तर्फ सरकारको ध्यानाकर्षण गराउने उनले जनाए ।

‘नेपालगन्जमा पनि पोखरा र लुम्बिनीमा जस्तै विमानस्थल बनाउनुपर्ने र सुख्खा बन्दरगाहलाई छिटो पुरा गर्नु पर्ने भन्ने तपाईंहरुको माग जायज छ । यसमा मेरो पूर्ण समर्थन र पहल हुनेछ,’ उनले थपे ।

सो अवसरमा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले प्रचण्डसमक्ष नेपालगन्जको विकासका लागि सात बुँदे मागपत्र बुझाएका थिए ।

संघले पेश गरेको सात बुँदे मागमा नेपालगन्जमा वा पायक पर्ने ठाउँमा राजधानी बनाउनु पर्ने, नेपालगञ्ज–दिल्ली उडान शुरु गराउनु पर्ने, रुपैडिहा–कोहलपुर रेल छिटो संचालन गर्नु पर्ने, संघले पाएको १० विघा जग्गालाई फेरी उपलब्ध गराउनु पर्ने, छुटेका उद्योगहरुको नवीकरण तत्काल गर्नुपर्ने, घिउ निकासीलाई सहज पारिनु पर्ने र बैंकको चर्को व्याजदर घटाउनु पर्ने माग रहेका छन् ।

यसअघि नेपालगन्ज विमानस्थलमा प्रेस संगठन बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले प्रदेश प्रमुखको हेरफेर र नेकपाका वरिष्ठ नेता माधव नेपालको नोट अफ डिसेन्ट सामान्य कुरा रहेको बताएका थिए ।

सो बारेमा पार्टी र सरकार दुबै भित्र कुनै पनि मतभेद र विवाद नरहेको समेत उनले जनाए । पार्टीका वरिष्ठ नेता माधव नेपालले बैठकमा आफ्नो कुरा राख्नु र त्यो निर्णयमा नपरेपछि नोट अफ डिसेन्ट लेख्नु प्रजातान्त्रिक र स्वभाविक रहेको प्रष्ट पार्दै प्रचण्डले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसंग पनि सो बारेमा आफुले नै कुरा गरेकोे जनाए ।

यसअघि प्रचण्ड लगायतका नेताहरु नेकपा बाँकेले आयोजना गरेको चियापान र कोहलपुरमा आयोजना गरिएको चियापानमा पनि सहभागि भएका थिए ।

प्रचण्डसंगै उर्जा मन्त्री बर्षमान पुन, पूर्व सभामुख ओमसरी घर्ति र पूर्व उपसभामुख पूर्णा कुमारी सुवेदी पनि विभिन्न कार्यक्रममा सहभागि हुन मंगलवार नेपालगन्ज आएका छन् ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री