बाँकेमा विद्यार्थीले घन्काए नारा-‘गो ब्याक इण्डिया’

-सिराज खान
नेपालगन्ज । भारतले आफ्नो नयाँ नक्सामा लिपुलेक र कालापानी समावेश गरेकोमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले विहीबारदेखि बाँकेमा आन्दोलन सुरु गरेको छ ।

अनेरास्ववियुले एकै पटक बाँकेको कोहलपुर र नेपालगन्जमा सो नक्सा जलाउनुका साथै विभिन्न नाराहरु लगाउँदै विरोध र्‍याली सहित  कोणसभा गरेको छ ।

‘गो ब्याक इन्डिया, भारतीय बिस्तारबाद मुर्दाबाद, लेखिएका प्ले कार्डसहित विभिन्न नारा लगाउँदै सयौं विद्यार्थीहरु सडकमा उत्रिएका थिए । उनीहरुले चर्को नाराबाजी गर्दै नगर परिक्रमा गरेर वीपी चोकमा कोणसभा गरे ।

अनेरास्ववियु बाँकेका अध्यक्ष मोहित शाहले सभालाई सम्बोधन गर्दै भारतले नेपालको स्वाधीनतामा आँच आउने किसिमले नक्सा बनाएको जनाउँदै सो नक्सा नसच्याइएसम्म विरोध जारी रहने बताए । उनले यो विरोध सीमासम्म पुग्ने चेतावनी दिंदै छिटो सच्चाउन आग्रह गरे ।

‘भारतले आफ्नो नक्सामा समावेश गरेका ती सम्पुर्ण क्षेत्रहरु हाम्रो नेपालको हो त्यसैले छिटो भन्दा छिटो नक्सालाई सच्याओस,अन्यथा हामी यो आन्दोलनलाई अझै उग्ररुप दिएर सीमासम्म जानको निम्ति बाध्य हुनेछौं’, अध्यक्ष शाहले भने ।  बिरोध कार्यक्रममा अनेरास्ववियुका नेता राजेन्द्र बिष्ट र बिमल मल्ल ठकुरीले पनि सम्बोधन गरेका थिए ।

यसैगरी ‘भारतीय बिस्तारबाद मुर्दावाद’, ‘हाम्रो आन्दोलन जारी छ, सीमा मिंच्न पाइँदैन, यस्ता छिमेकी चाहिंदैन’ भन्ने नाराका साथ कोहलपुरमा पनि विहीबार विरोध प्रदर्शन गरिएको छ । कोहलपुरमा अनेरास्ववियको विरोध ¥याली नगर परिक्रमा गरी चौराहामा कोणसभाको परिणत भएको थियो ।

भारतले आफ्नो नयाँ नक्सामा लिपुलेक र कालापानी समावेश गराएकोमा सो बारेमा नेपाल र भारत दुबै सरकारको ध्यानाकर्षणका लागि प्रदर्शन गरिएको जनाउँदै नसच्याए कडा आन्दोलन गर्नेे चेतावनी अनेरास्ववियू बाँकेका जिल्ला सचिब टेकेन्द्र मल्लले दिएका छन् ।

बिरोधकै क्रममा अनेरास्ववियूले कोहलपुरमा ‘गो ब्याक ईन्डिया’को नारा लगाउँदै नारा जुलुस गरेर नक्सा समेत जलाएको उनले जनाए । अनेरास्ववियू बाँकेका जिल्ला सचिब टेकेन्द्र मल्लको अगुवाइमा भएको बिरोध प्रदर्शनमा भारतीय बिस्तारबाद मुर्दाबाद भन्ने नारा लगाउँदै तत्काल नक्सा सच्याउन माग गरिएको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री