लुम्बिनीमा हुने त्रिपिटक वाचनमा २५ देशको सहभागिता

-राधेश्याम विश्वकर्मा

भैरहवा । गत बर्ष लुम्बिनीमा आध्यत्मिक पर्यटकको संख्या उल्लेख्य रुपमा बढाउन सहयोग गरेको त्रिपिटक च्याण्टिङ्ग (वाचन) यस बर्ष पनि हुने भएको छ ।

गत बर्ष भएको त्रिपिटक वाचनले यस बर्ष पनि निरन्तरता पाएको हो । लुम्बिनीको आध्यत्मिक एवम पर्यटकिय विकासमा टेवा पु¥याउन दोस्रो पटक तीन दिने बौद्ध ग्रन्थ त्रिपिटक बाचन समारोह गर्न लागिएको छ ।

त्रिपिटक बारे धेरै नेपाली अनभिज्ञ रहेको र बौद्ध धर्ममा यसको बिशेष महत्व भएका कारण बुद्ध जन्मस्थल लुम्बिनीमा गत बर्षबाट त्रिपिटक वाचन सुरु भएको थियो ।

त्रिपिटक वाचन कार्तिक २८ गते बिहान ७ बजे देखि मायादेवी मन्दिर पवित्र उद्यान भित्र गरिदैछ । समारोह आगामी कार्तिक २८ गते देखी ३० गते सम्म लुम्बिनीमा आयोजन गरिदैछ ।

यसको लागि २५ देशका एक हजार भन्दा बढी बौद्ध भिक्षु, भिक्षुणी, उपासक, उपासिका लुम्बिनी आउँदैछन् । त्रिपिटक भगवान बुद्धले दिएको ज्ञान र शिक्षाको सार संग्रहित ग्रन्थ भएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवम आयोजक भिक्षु मैत्रीले बताए ।

अपि धम्मपिटक, सुत्तपिटक, विनयपिटक गरि त्रिपिटक नामाकरण गरिएको र अपि धम्मपिटक, सुत्तपिटक भगवान बुद्धकै पालामा लेखिएको र विनयपिटक दोस्रो शताब्दी ईशापूर्व सम्राट अशोकको पालामा लेखिएको बौद्ध ग्रन्थ हो ।

यस पटक लुम्बिनीमा ३ वटै पिटक संगै गौतम बुद्धले आफ्ना पिता राजा शुद्धोधनलाई धर्मदेशना (ज्ञान दिदा )गर्दा सुनाउनु भएको बसन्त जातक सुत्र र शाक्य र कोलिय राज्यहरुका विच युद्ध हुन लाग्दा कपिलवस्तुमै युद्ध समाप्तीका लागी देशना गरेका महासमय सुत्र पनि पाठ गरिने हुनाले यो समारोह लुम्बिनीको आध्यत्मिक दर्शनका लागी अत्यन्त महत्वपूर्ण रहने बताइएको छ ।

त्रिपिटक पाली, देवनागरी र थाई भाषा आदिमा वाचन गरिने छ । जसलाई सहभागी प्रत्येक देशका भिक्षुहरुले आ–आफ्नो भाषा र शैलीमा पछ्याई वाचन गर्ने छन ।
लुम्बिनीको आध्यत्मिक विकास र पर्यटकको बसाई अवधि लम्बाउन त्रिपिटक वाचन समारोह महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

अखिल नेपाल भिक्षु महासंघ, थाई बुद्ध विहार, लुम्बिनी विकास कोष लगायत ३५ सदस्यीय मूल आयोजक समिति गठन गरी सबैको संयुक्त आयोजनामा कार्यक्रम हुदैछ । कार्यक्रमका लागी भोजन आवास, यातायात ब्यवस्थापन सम्बन्धी काम अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिए ।

यसका साथै यस बर्ष शान्ती पदयात्राको समेत आयोजना गरिएको भिक्षु मैत्रीले बताए । शान्ती पदयात्रा नाम दिईएको यो यात्रा २५ गते भैरहवाबाट शुरु हुनेछ ।

२५ गते भैरहवाबाट रामग्राम स्तुपा सम्म, यस्तै २६ गते भैरहवाबाट मर्चवार हुँदै लुम्बिनीसम्म र २७ गते लुम्बिनीबाट कपिलवस्तुको तिलौराकोटसम्म पदयात्रा समेत आयोजना हुने छ ।

बिगत १५ बर्ष देखी भारतमा मात्र भैरहेको यो आध्यत्मिक कार्यक्रमले लुम्बिनीको आध्यत्मिक, सांस्कृतिक महत्व अझ बढाउने र पर्यटकहरुको चहल पहलमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

टिप्पणी थप्नुहोस्