भारतद्धारा एक्कासी सीमाना बन्द, सयौं यात्रु अलपत्र

-सिराज खान
नेपालगन्ज । शनिवार विहानैदेखि भारतले एक्कासी विना कुनै पूर्व सूचना यहाँस्थित नेपाल–भारत सीमा नाका बन्द गरेको छ । भारत जानभनि सीमानामा पुगेका सयौं यात्रुहरु नाका बन्द गरिएको सुन्दा आश्चार्यचकित भएका थिए ।

भारतको फैजावाद अयोध्यास्थित राम मन्दिर र बाबरी मस्जिद विवादको मुद्दामा शनिवार भारतको सुप्रिम कोर्टले फैसला सुनाउने भएपछि फैसलापश्चात हुन सक्ने घटनालाई मध्यनजर गर्दै भारतले एक तर्फी नाका सिल गरेको जनाइएको छ ।
सीमाना एक्कासी बन्द गरिएपछि नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने सयौं यात्रुहरु दुबैतर्फ अलपत्र परेका छन् ।

भारतबाट जानेहरुलाई निकै कडाई गर्दै कसैलाई पनि जान दिईएको छैन भने आउनेहरुलाई भने नागरिकता देखाएर मात्र केहीलाई आउन दिईएको छ । तर पनि दुबैतर्फ सयौं सर्वसाधारण अलपत्र परेका छन् । भारतको सुप्रिम कोर्टले विहान फैसला सुनाईसकेपनि सीमा नाका भने खुलेको छैन । झन कडाई गरिएको जनाईएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी शिव बहादुर सिंहका अनुसार भारतले शनिवार बिहानैदेखि केही समयका लागि भनेर नेपालगन्ज नाका बन्द गरेको जानकारी गराएको छ ।

अयोध्या विवादको फैसला पछि कुनै पनि अप्रिय घटना नहोस् भनेर भारतले एकपक्षिय रुपमा नेपालगन्ज रुपैडिहा नाका सील गरेको भारतले जानकारी दिएको डिएसपी सिंहले बताए । नाका सिल गरेपछि दुबैतर्फ मानिस तथा सवारी साधनहरु रोकिएकाले नाका सुनसान बनेको छ ।

सिल गरिएको बन्द नाका कहिले खुल्छ भन्ने बारेमा भारतीय पक्षले कुनै पनि आधिकारीक जानकारी नगराएको प्रहरी प्रवक्ता सिंहले बताए । अयोध्या विवादको फैसलापछि अवस्था सामान्य रहेमा छिटै नाका खोलिने तर अवस्था जटिल बनेमा सीमाना अनिश्चितकालिन समयसम्म पनि बन्द रहन सक्ने भारतीय प्रहरीले जनाएको नेपाल प्रहरीको भनाई छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री