दक्षिण एसियाली खेलकुद निर्धारित मितिमै

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मिति मै हुने स्पष्ट पारेका छन् ।

उक्त प्रतियोगिताको लागि सम्पूर्ण तयारी करिब अन्तिम चरणमा पुगेको पनि उनले विश्वास दिलाए । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले साग प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्नेगरि आफूहरुले दिनरात काम गरिरहेको जनाए ।

उनले भने,‘सागको लागि करिब करिब तयारी पूरा हुने दिशामा छ । यो गेम भव्य रुपमा र सफलतापूर्वक सम्पन्न हुने विश्वास दिलाउन चाहन्छु ।’ उनले साग राष्ट्रिय प्रतिष्ठासँग जोडिएको विषय भएकोले खेलप्रेमी र सरोकारवाला सबैले गम्भिरतापूर्वक आ–आफ्नो ठाउँबाट दायित्व निर्वाह गर्नुपर्ने सुझाए ।

साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले सामाजिक सञ्जालमा साग प्रतियोगिता समयमै नहुने हो कि भनेर अन्यौलतासँग जोडेर गरिएका टिकाटिप्पणीप्रति भने असन्तुष्टी पोखे । १२ औं साग प्रतियोगिता सफलतापूर्वक सम्पन्न भैसकेपछि १३ औं प्रतियोगिता २०७२ सालमा गर्ने अभिभारा नेपालको काँधमा आएपछि समयमै साग हुन नसक्नु दुःखद् भएको उनको गुनासो छ ।

आफूहरु सरकारमा आएपछि उक्त प्रतियोगिता समयमै गर्नेगरि अभिभारा र अवसरको रुपमा लिएको र सोहीअनुसार काम गरेको पनि उनले सुनाए । आफूहरुले ७/८ महिनामै पोखरा रंगशाला निर्माण काम सम्पन्न गर्न गैरहेको पनि मन्त्रीको भनाई छ । उनले भने,‘मंसिर पहिलो हप्ताभित्र निर्माण काम सम्पन्न हुन्छ ।

दशरथ रंगशालाको पनि निर्माण सम्पन्न हुँदैछ । सातदोबाटोमा पनि सम्पन्न हुँदैछ । तेक्वान्दो, कराँते र लङ टेनिशलगायतका नयाँ पूर्वाधारपनि सातदोबाटोमा निर्माण गरेका छौं ।’ साग आयोजना गर्नको लागि निकै जोखिम र चूनौतिहरु रहेपनि आफूहरुले ती सबै चूनौति र जोखिमहरुको सामना गरेर अघि बढेको उनले सुनाए ।

मन्त्री विश्वकर्माले रातदिन काम गर्नु के अपराध हो ? भन्दै प्रश्न गरे । उनले मंसिर १५ गतेको साग गेमको मिति तलमाथि नहुने दाबी दोहोर्याए । सागको लागि नेपाली खेलाडीहरुलाई प्रशिक्षणदेखि व्यवस्थापकीय सबै काम भैरहेको पनि उनले सुनाए । त्यस्तै, सागकोलागि विदेशी पाहुनाहरुलाई आमन्त्रण गर्ने काम पनि भैसकेको उनले जनाए ।

टिप्पणी थप्नुहोस्