सभामुख बन्न उपसभामुख पनि सक्षम छन् : डा. तुम्बाहाम्फे

नेपालगञ्ज । संघीय संसद प्रतिनिधिसभाका कार्यवाहक सभामुख डा. शिवमाया तुम्बाहाम्फेले सभामुख बन्नका लागि उपसभामुख पनि सक्षम र योग्य रहेको बताएकी छन् । उनले जिम्मेवारी पाएमा आफुले पनि सभामुखको जिम्मेवारी पूर्ण ईमान्दारीका साथ पुरा गर्ने बताइन् ।

प्रेस संगठन बाँकेद्धारा शनिवार नेपालगन्जमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका कार्यवाहक सभामुख डा.तुम्बाहाम्फेले सभामुखका लागि उपसभामुख पनि योग्य रहेको जनाउँदै जिम्मेवारी पाएमा आफु पनि सो जिम्मेवारी लिन तयार रहेको आशय व्यक्त गरिन् ।

सभामुखमा उनको दावीबारे सोधिएको एक प्रश्नको जवाफमा उनले प्रतिनिधिसभाका हरेक सांसदलाई सभामुख पदका लागि आफ्नो दावी गर्ने अधिकार रहेको बताउँदै आफू सो बाट अलग नरहेको प्रष्ट पारिन् ।

आफुले पनि अवसर पाएमा राम्ररी सभामुखको जिम्मेवारी पुरा गर्न सक्ने आशय व्यक्त गर्दै उनले सो बारेमा सत्तारुढ दलले आफुसंग छलफल र परामर्श गरेपछि बिस्तृत कुरा गर्ने बताइन् ।

‘उपसभामुख बन्नुभन्दा पहिलेसम्म आवद्ध रहेको सत्तारुढ दलले मसंग छलफल र सल्लाह गरेमा आफुले आफ्नो कुरा राख्नेछु, जिम्म्ेवारी दिएमा सम्हाल्न तयार छु’–उनले भनिन् ।

उपसभामुखमा निर्वाचित भएपछि आफु कुनै पनि दलसंग आवद्ध नरही स्वतन्त्र नागरिक भएको जनाउँदै उनले सत्तारुढ दलले आग्रह गरेमा राजिनामा दिने बताइन् ।
संविधान बमोजिमनै अबको सभामुख र उपसभामुख फरक फरक दलबाट हुने उनको भनाई थियो । अब सभामुखको चयन गर्दा संविधानलाई कार्यान्वयन गरेर मात्रै सोही बमोजिम अगाडी बढ्नु पर्ने डा. तुम्बाहाम्फेको धारणा छ ।

संसदको पाँचौ नियमित अधिवेशनबाट सभामुखको निर्वाचन गर्ने तयारी भैरहेको जनाउँदै उनले सो बारेमा प्रमुख प्रतिपिक्षी दल नेपाली काँग्रेस लगायत संसदमा रहेका अन्य दलहरुसंग छलफल भैरहेको बताइन् ।

‘संसदको पाँचौ नियमित अधिवेशन आगामी मंसिरको दोस्रो सातातिर बोलाउने तयारी भैरहेको छ, सो बारेमा सम्बन्ध सबैसंग परामर्श गरिरहेको छु’–उनले भनिन् ।

एक अर्को प्रसंगमा बोल्दै उनले अहिले संघियतालाई बलियो र सुदृढ बनाउन संघिय, प्रदेश र स्थानीय तीनवटै तहविच समन्वय र समझदारी आवश्यक रहेको जनाउँदै त्यसका लागि पनि तीनवटै तहले मिलेर काम गर्नुपर्ने कुरामा बिशेष जोड दिइन् ।

सो अवसरमा संविधानविद टिकाराम भट्टराई, कर्णाली प्रदेससभाका उपसभामुख पुष्पा घर्ती विष्ट लगायतको उपस्थिति रहेको थियो ।

टिप्पणी थप्नुहोस्