खुल्लामञ्च जोगाउन मानव सांङ्लो

-रोमन आचार्य

काठमाडौं । विहानको ८ बजेको छ । पाँच सय भन्दा बढी मानिसहरु भेला भएका छन् । हातमा पम्पेल्ट छ । कसैले ढाड र छातीमा टालेका छन् । नारामा लेखिएको छ–‘खुल्लामञ्च विक्रीमा छैन ।’ यस्तै कसैले टुँडिखेल खुल्ला गर लेखेको नारा सहितको पम्पेल्ट बोकेका छन् भने कसैले ‘पूर्खाको नासो जनताको हक’ लेखिएको पम्पेल्ट बोकेका छन् ।

यो दृश्य शनिवार देशको केन्द्रिय राजधानी काठमाडौंमा देखिएको हो । विगत केही वर्षदेखि राजधानीको खुलामञ्च र टुँडिखेल अतिक्रमणमा परेपछि नागरिकहरु यसको विरुद्धमा जुरुक्क उठेका छन् । उनीहरु राजनीतिक दल निकट भएर भन्दा पनि स्वतःस्फूर्त नागरिकका रुपमा सार्वजनिक सम्पत्ति जोगाउन लागि परेको बताउँछन् ।

टुँडिखेललाई अतिक्रमण मुक्त बनाउन ‘अकुपाई टुँडिखेल’ नाम दिएर शुरु भएको अभियानमा सर्वसाधारण जनतादेखि, जनप्रतिनिधि, वुद्धिजिवी तथा प्रतिनिधि सभा सांसदहरुको उपस्थिती रहेको थियो । मानव साङ्लो बनाएर यो अभियान सुरु भएको छ ।

अभियान्ताहरुको माग

केही महिना अघि खुल्ला मञ्चस्थित पुरानो बसपार्कमा सटर प्रकरण चर्चित भएको थियो । वसपार्क व्यवस्थापनको जिम्मा लिएको जलेश्वर स्वच्छन्द बिकोइ नामक निजी कम्पनीले महानगरपालिकासँग सम्झौता गरेर बसपार्क बनाउने जिम्मेवारी पाएको थियो । महानगरले निश्चित संरचना मात्र बनाउन पाउने गरी सम्झौता गरेको भएता पनि कम्पनीले ४२ भन्दा बढी सटर निर्माण गरी भाडामा लगाएको थियो ।

ठेकेदार कम्पनीको दादागिरी र महनागरपालिकाको वेवास्तालाई वुझेर स्थानीयबासीहरुले खुलामञ्च बचाउ अभियान गर्नुपर्‍यो । अहिले स्थानीय बासीहरुको माग बन्दै गरेको भ्युटावर भत्काउनु पर्ने रहेको छ । यस्तै खुलामञ्चमा भएको अस्थायी बसपार्कलाई हटाउनु पर्ने माग छ ।

अभियान्ता प्रगतिमान रञ्जित महानगरको लापारवाहीले ५० रोपनी भन्दा बढीमा फैलिएको खुलामञ्च अतिक्रमणको पर्नु घृणित विषय भएको बताउँछन् । ‘वीर अस्पताल, अर्कोपट्टी भ्युटावर, अलिक माथि बन्दै गरेको आलिसान होट, तल तिर आर्मी व्यारेक सबैको सास फेर्ने साझा स्थल खुलामञ्च नै हो । यसको अतिक्रमण हामीलाई स्वीकार्य छैन’ उनले भने ।

अभियान्ताहरुले तीन महिनाभित्र बनाइएका संरचनाहरु भत्काउन र टुँडिखेललगायत खुल्लामञ्चलाई पुरानै अवस्थामा फर्काउन माग गरेका छन् । अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना बनाएर काम गर्न महानगरपालिका सहित सम्बन्धीत निकायलाई उनीहरुले अनुरोध गरेका छन् । यस्तै योजना बनाएर आर्मी व्यारेकलाई पनि त्यहाँबाट हटाउन अभियान्तहरुले माग गरेका छन् ।

संस्कृतिमाथि प्रहार

पूर्व राजदुत तथा कुटनीतिक जानकार हिरण्यलाल श्रेष्ठ अतिक्रमणले राजधानीको संस्कृतिमाथि प्रहार भएको तर्क गर्छन् । नेवारी संस्कृतिले धनी राजधानीमा हुने ठूल ठूला सांस्कृतिक महत्वका जात्रा धान्ने स्थानमा अतिक्रमणको चपेटामा पर्नु संस्कार संस्कृति मास्ने खेल भएको आरोप उनको छ ।

मैंले नेहरु लगायत अन्य अन्तर्राष्ट्रिय नेताहरुको भाषण सुनेको ठाउँ यही हो’, उनी भन्छन्–‘९० साल लगायतको भुकम्पमा पनि यहाँ आएर धेरै मानिसहरुले ज्यान जोगाए, फेरि भूकम्प आए आश्रय स्थल यहीँ हो ।’

प्रतिनिधि सभा सदस्य सांसद भीमसेनदास प्रधान जनताको नासो सार्वजनिक स्थल अतिक्रमण गर्ने अधिकार कसैलाई नभएको बताउँछन् । रानीपोखरी, रत्नपार्क, दशरथ रंगशाला लगायतका नाममा यसअघि पनि धेरै खुलामञ्चको जग्गा अतिक्रमण भएकाले बचेको थोरै जग्गामा पनि भ्युटावर लगायतको नाममा वक्रदृष्टि परेको उनको तर्क छ । अतिक्रमणको सहयोगीको रुपमा काठमाडौं महानगरपालिका पनि भएको प्रधानको आरोप छ । ‘यसरी अतिक्रमण भएर महल मात्र ठडिने हो भने एउटा सानो इनारको रुपमा खुलामञ्च रुपान्तरण हुन समय लाग्दैन’, उनी भन्छन् ।

वडा नम्बर २८ का वडाअध्यक्ष भाइराम खड्गी (प्रकाश) आफू जनप्रतिनिधि भएपनि आफ्नै अघि टुँडिखेल अतिक्रमण भएको देख्दा दुःख लागेको तर्क गर्छन् । स्वच्छ हावा, स्वच्छ वातावरण भएको ठाउँमा सरकारी गलत नजर पर्दा खुल्लामञ्चको अस्तित्व संकटमा परेको उनी गुनासो गर्छन् । ‘यो ठाउँलाई पूरानै अवस्थामा फर्काउनु मेरो दायित्व हो’, उनी भन्छन्–‘मेरो वडा अभियान्ताहरुको पक्षमा छ, उहाँहरुसँगै सहकार्य गर्न म तयार छु ।’

टिप्पणी थप्नुहोस्