ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिंदा दुईको मृत्यु

नेपालगन्ज । बाँकेमा पछिल्लो समयमा आएर दुर्घटनामा मारिनेहरुको संख्या बढ्दै गएको छ । चालकको बेवास्ता र लापरवाहीका कारण अधिकांश दुर्घटनाहरु हुने गरेको प्रहरीले जनाएको छ ।

सोही क्रममा शुक्रवार राती पनि चालकको चरम लापरवाहीले गर्दा बाँकेमा काठ बोकेको टयाक्टरले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ७ फत्तेपुरमा काठ बोकेको ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको हो ।

२८०१ मात्रै देखिएको नम्बर प्लेटको ट्रयाक्टरले म २ प ७०३४ नम्बरको मोटरसाइकललाई शुक्रवार राती २ बजे ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भगवानपुरका अनुसार मृत्यु हुनेहरुमा राप्तीसोनारी ७ फत्तेपुरका २४ बर्षीय सुमन कुमार थारु र सोही स्थानकै १५ बर्षीय सन्जित थारु रहेका छन् ।
प्रहरीका अनुसार दुुर्घटनामा परि गम्भीर घाइते भएका दुबैलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजद्धारा सञ्चालित नेपालगञ्ज शिक्षण अस्पतालमा ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

ठक्कर दिने ट्रयाक्टरलाई इलाका प्रहरी कार्यालय भगवानपुरले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको प्रहरी निरीक्षक मान बहादुर बिसीले जानकारी दिएका छन् ।

घटनाको खबर थाहा पाए लगत्तै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले नेपालगन्ज शिक्षण अस्पताल पुगेर मृतकका आफन्तलाई भेटेर जिल्ला प्रहरी कार्यालयमा पुगेर फरार चालकलाई तत्काल पक्राउ गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

फरार चालकको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक बिसीले बताएका छन् ।

टिप्पणी थप्नुहोस्