मोहम्मद जयन्तीमा शान्तीको सन्देश

भैरहवा । मुस्लिम समुदायका धर्म गुरु पैगम्बर हजरत मोहम्मद मुस्तफाको १४ सय ९४ औं जन्मोत्सव भैरहवामा हर्षोल्लासका साथ मनाइएको छ ।

मुलुकको समृद्धिको कामना एवम शान्तीको सन्देश छर्देै भैरहवामा पैगम्बर हजरत मोहम्मद जन्मोत्सव हर्षोल्लासका साथ मनाइएको हो । जन्मोत्सवको अवसरमा आइतबार भैरहवा तथा यस आसापासमा भब्य र्‍याली निकालिएको छ ।

मुस्लिम समुदायको विभिन्न संघसंस्था, मदरसा, मस्जिद लगायतको आयोजनामा गल्लामण्डीबाट सुरु भएको र्‍याली नारायण पथ, बुद्ध चोक, देवकोटा चोक, बैंक रोड लगायतका स्थानमामा परिक्रमा गरिएको छ ।

र्‍यालीमा सहभागीहरूले ‘ईस्लाम शान्तीको धर्म हो, आतंकवादको कुनै धर्म हुँदैन’, ‘मुस्लिमले कहिल्यै पनि सहयोग गर्न छोड्दैन’, ‘शान्ती र सदभाव नै अल्लाहको साँचो सन्देश हो’, लगायतका प्ले कार्ड, धार्मिक वस्त्र, धार्मिक झन्डा, राष्ट्रिय झन्डासहित जन्मोत्सवको खुसीयालीमा नारा लगाएका थिए ।

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजारी सम्वतको रब्बिउल औवल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ ।

उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो । ईस्लाम धर्म गुरुको जन्मदिनको प्रत्येक बर्ष मोहम्मद जयन्ती मनाउने गरिएको मोहम्मद जयन्ती आयोजक समितिका संयोजक मोहम्मद सलिमले बताए ।

मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।

जन्मदिनको खुसीयालीमा मुस्लिम समुदायले जश्ने इद मिलादुन नवि (रबिउल औवल) को रूपमा मनाउने गर्दछन् । यस दिन र्‍याली निकाल्ने, सिन्नी बितरण गर्ने लगायत अन्य विविध कार्यक्रम गर्ने गरिएको मौलाना फैजुल्लाह असर्फीले बताए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री