टिएम यानेकि थाहामान

  • पुण्यसागर मरहट्ठा

कुनै एक भारतीय हास्यकविको रायचन्द नामक कविता सुनेको सम्झेपछि मलाइ नी थाहामान बारे लेख्न जंग चलेको छ । हजुरहरुले झैं मैले भेटेका टिएम यानेकि थाहामानहरु एटिएम जस्ता जहाँ पनि भेटिन्छन जो हरेक वाक्यको सुरुवात ’तपाइंलाई थाहै छैन’ बाट सुरु गर्छन । त्यतिमात्र कहाँ हो र? उस्तै परे पाखुरा समाउछन, घिच्याउछन, ह्याँ कुरो सुन्नुस् भन्छन, तपाइंलाई थाहै छैन भन्छन । नकराउनुस तपाईं, मलाइ थाहा छ त्यो कुरो भन्यो भने कुरो त्यसो होइन क्या, तपाइंलाई थाहै छैन भनिहाल्छन।

हालको प्रचलनको लवजमा टिन एजको अन्तिम बर्ष लागेको उपलक्ष्यमा ह्याप्पी बड्डे मनाएको दुइ अढाई महिना नबित्दै पखेटा हालेर उडियो युक्रेन पढ्न भनेर। एरपोर्टमा नै एक टिएम भेटिनुभयो। भाइलाई थाहै छैन, डलर ट्राभल चेक समेत लुट्छन माफियाले मस्को एरपोर्टमा, मलाइ राख्न देउ, लुभोभ पुगेपछि सहि सलामत फिर्ता दिन्छु भने ति दाजुले। सही नगरिएको ट्राभल चेक त लुटेर लगे भुस हुन्छ भन्थे त भनें मैले, टिएमको के स्वार्थ थियो कुन्नि, ह्याँ, तिम्लाई थाहै छैन भनेर कड्के, होला त नि भनेर दिइयो, फिर्ता पाउन महाभारत भयो ।

बिस्तारै युक्रेनको लुभोभ शहर त प्रचण्ड राष्ट्रवादी रहेछ भन्ने थाहा लाग्यो। एक बर्ष रुसी भाषामा कनिकुथी वाक्य फुटाउन भ्याइएको के थियो, लौ, अब सबैले उक्रेनी भाषामा पढ्नु पर्ने भयो भनेर फर्मान जारी गरे। पर्यो फसाद, केही भनुँ , जान्नेहरू जम्मै टिएम, लुसुक्क आफैं हिडियो बेलारुस तिर घुम्न । बेलारुसमा पनि टिएम भेटिए । तिम्लाई थाहै छैन, ह्याँ र त्याँ को लफडा त्यहाँ पनि सुरु भयो । तैपनि, बेलारुसमा रुसी भाषामै पढाइ हुने ग्यारेन्टी मागियो ठाडै डिनलाइ भेटेर, हुन्छ भन्ने वचन पाइयो। त्यो वचन लिएर युक्रेन फर्कियो, टिएमले के छोड्थे? हैत गुरु, फसाउने भए तिमीलाई, तिमीलाई थाहै छैन भन्न भ्याए। थाहा हुने तिमीहरु थुप्रिरहु म हिंडें भनेर कुम्लो कसेर हिंडे म।

मिन्स्क पुगियो। एकै पटक फड्केर थर्ड एअर आर्किटेक्चर पढ्न सुरु समेत गरियो। मिन्स्कमा भएका कक्षागत हिसाबले सिनियर र मिन्स्कमा बसेका आधारमा सिनियर (पढाइमा जुनियर भएपनि) एकाध टिएम हरु छँदै थिए, ती बाटो, घर, बजार, अर्को कुनै नेपालीको बारेमा आफ्नो धारणा सुनाउथे। मैले सुनिदिउन्जेल ठिक, मैले बोल्नै हुन्नथ्यो। हे मुला, तिमीलाई थाहै छैन क्या?! भनिहाल्थे। के थाहा भयो, के थाहा भएन समेत थाहै नपाई सन् १९९७ जून २५मा एमएस्सी आर्किटेक्चर थेसिस डिफेन्स गरेर जुलाई १२, १९९७ को दिन मस्को बाट जहाज चढियो नेपाल फर्किन । १२ जुलाई बिशेष दिन हो मेरा लागि आजन्म । त्यो चाहीं टिएमहरुबाट मेरी आमाले र मैले जोगाएर राखेका छौँ । नत्र त्यहाँ पनि तिमीलाई थाहै छैन भन्ने निस्किन्छन भन्ने मेरो पूर्ण विश्वास छ।

नेपाल आइयो, नाताले मामापर्ने एकजना सडक इन्जिनियरको कन्सल्टेन्सीमा जुत्ता रगडियो । भान्जा, तिम्लाई थाहै छैन क्या यो कुरो भनेको भोलिपल्ट लौ मामा, तिम्रो आर्किटेक्चर तिमी थाहा पाइराख भनेर हिडियो चाँगुनारायण । टाइम टाइममा एक भट्टराई थरका अग्रज अगुवा ’ह्या सुन्नुस् मरहट्टा सर, तपाइंलाई यो कुरो थाहा छैन भन्नु हुन्थ्यो, खपियो।

ओहो, चाँगु र पुल्चोकको बिचमा नेविसंघले बामदेवको गृहमन्त्रित्वकालको बिरोधमा सडकमा घिन्तांङ्ग घिन्ताङ्ग गर्दै्थियो कुपन्डोल कुमारिथान अघि । एक हुल पुलिस दाइहरु आए, मैले केहि थाहा पाउनु अघिनै यो नि हो, जाक् भनेर पिकपमा घुसेडिहाले। मेरो कसुर के हो भनेर के सोधेथें ढाडमा ४४० भोल्टको करेन्ट माफीकको सुम्ल्याई पर्यो, बल्ल थाहा पाएँ । मलाइ त केही थाहै रहेनछ । अरु त सम्झिन्न, पुलिस दाइ भन्दैथिए: हवाँ भने इन्नेर रे, यस्तो बेलाँ सडकमा आउनु हुन्न भन्ने सम्म थाहा रहेनछ ग्वांचलाई।

पुल्चोक क्याम्पसमा ताल पर्यो, यो मोरो नजान्ने, केही थाहा नभएको ल्वांदेको खुट्टा ’क्लासमा कराउन करार भयो, थाई हुन करायो तपाई चुप लाग्नुस् मरहट्टाजी, तपाइंलाई थाहै छैन, अहिले मिल्दैन भनेर गोगनपाते बजाइदिने थाहामान बग्रेल्ती थिए, खुब बजाए। पुल्चोकमा करा’र नसकेपछि थापाथलीमा कराइयो। था.ई. क्याम्पसमा थाई त भैयो, नयाँ क्याम्पस, त्यहाँ त सबैले ’हे गुरु, तपाइंलाई के थाहा यहाँको कुरो? भन्ने नै भए। एकसेएक टिएम त्यहाँ थिए। थाइमा थाई भएर अलिअलि के थाहा पाउने मेसो बन्दैथियो, एकदिन डिन कार्यालयबाट फोन आयो। किन फोन आयो भनेर थाहा पाउनु अघिनै तु पन्त सरलाई भेट्नु रे भन्ने खबर थाहा पाइयो। सहायक डिन पीआर पन्त सरको कार्यकक्षमा पस्नासाथ बुढाले दपेटिहाले । कहाँ बेपत्ता तपाईं? तपाइंलाई थाहै छैन, यहाँ तपाइंलाई त्रिविको परिक्षणकाल समेत समाप्त नहुँदै कत्रो फूलमाला उनेर राखेका छौँ हामीले, ल अबको साता बिराटनगर उड्ने । भएन फसाद? किन जाने बिराटनगर, के फूलमाला हो बुझ्न नपाउंदै हाकिमका अघि लुरुक्क पर्नु र हस भन्नुको बिकल्प देखिएन। उहाँको कार्यकक्षबाट निस्किनासाथ एउटा कुरा चैं थाहा लाग्यो । पुर्वान्चल क्याम्पस धरानका तत्कालीन क्याम्पस प्रमुखले मलाई थाहै नदिई ( दिनु जरुरी समेत किन होस् र?) राजिनामा दिनुभएको रहेछ। डिन कार्यालय वरिपरि भुनभुन गर्ने टिएम भमराहरुले सो कुरो बताए।

२०५८ चैत्र २८ मा मेरो परीक्षणकाल सकियो। २०५९ बैसाख ४ देखि लागु हुनेगरी त्रिवि इञ्जिनियरिङ्ग अध्ययन संस्थान पुर्वान्चल क्याम्पस धरानको क्याम्पस प्रमुखको नियुक्ति पत्र लिएर वैसाख २ गते गइयो पूर्व । कोपुण्डोलको जन्म, परिवार, नश–नाता काठमाडौँ । पूर्व हुँदै नभएको मलाई के आपद्ले गाँजेर हो पूर्व जागिर्न लेखेको? जान्नै केही समय लाग्यो, स्वाभाविक थियो( त्यहाँ पनि टिएम त थिंदैथिए। चिफ सर, हजुरलाई थाहै छैन भन्ने निस्किने भइहाले। हजुर, हजुर, सिक्दै छु, बुझ्दै छु, क्याम्पसको अहित हुने छैन भन्दा भन्दै, दिलो ज्यान लगाएर घुँडो चिउँडो एकै गरेर काम गर्दा समेत तरह तरहका टिएमलाई मेरो कार्यशैली चित्त बुझ्दैनथ्यो, उल्का उपद्रो गर्दथे। कहिले आफैं उर्लिन्थे, कहिले विद्यार्थी उराल्थे। हैन, यसो गरौँ भन्ने ठाउँ नै दिंदैनथे। केही भनौँ, चिफ सर, तपाइंलाई थाहै छैन, यो पैंतीस बिघाहा नापी गरेदेखि हामी छौं, हामीलाई थाहा छ भन्थे। माथिबाट डिनले तलबाट प्राध्यापक, कर्मचारी र बिद्यार्थी सबैले मैलाई थाहा नभएको बनाएपछि एक दिन उनीहरुले समेत थाहा पाउने गरि राजिनामा ठोकेर हिँडे आफ्नो बाटो।

राजिनामा त दिएँ, स्वीकृत जो हुँदैन। बिचरा डिन सरलाई समेत खप्की परेछ। त्रिविका ठुला हाकिमले तपाइंलाई थाहै छैन, मरहट्टाजी त फलानाका भान्जा हुन् नि, फेरी उहाँ रिसाइसिने हो कि? पनि भनेछन। बडो दुखले राजिनामा स्वीकृत भयो। बरा डिनसरलाई अहिलेका जल्दाबल्दा नेताले पनि हाम्रो दाईलाई तलमाथि होस् त, हामीले जानेका छौं पनि भनेछन् । बिचरा डिन सर आत्तिनु भएछ। टिएमहरुले बुढालाई समेत ’मलाई केही थाहा रहेनछ’ बनाइदिएछन। पछि मलाई भन्नु भो( मरहट्टाजी, तपाईं मान्छे असल हो, मेरा सल्लाहकारहरुले डुबाए। मैले मनमनै भने । सर, ती हजुरका सल्लाहकार थिएनन ती त टिएम हुन्। (क्रमशः)

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री