नेकपा सचिवालय बैठकद्वारा साङ्गठानिक विभाग गठन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले केन्द्रीय निकायका साङ्गठानिक विभाग गठन गर्ने कार्यलाई पूर्णता दिएको छ । गठन गर्न बाँकी तीनवटा आयोग, सल्लाहकार कमिटी र ज्येष्ठ कम्युनिष्ट मञ्चको अध्यक्ष र सचिव चयन गर्दै सो कार्यलाई पूर्णता दिइएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृतकुमार बोहरा तथा सचिवमा अशोक रोकाय र केन्द्रीय लेखापरीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल तथा सचिवमा टेकनाथ आचार्यलाई चयन गरेकोे जानकारी दिइयो ।

बैठकपछि पार्टी प्रवक्ता नरायणकाजी श्रेष्ठले केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णुपुकार श्रेष्ठ तथा सचिवमा माधव पौडेल, केन्द्रीय सल्लाहकार कमिटीको अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापालाई र ज्येष्ठ कम्युनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाइँ र सचिवमा गोविन्द ज्ञवालीलाई चयन गरिएको बताए ।

सीमा विवादमा सरकार स्पष्ट

बैठकले नेपाल–भारत सीमाका विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । “सीमाका विषयमा नेपाल सरकारले स्पष्ट गरिसकेको छ, यस विषयमा नेपालको नयाँदिल्लीस्थित राजदूतावासमार्फत भारतीय सरकारको ध्यानाकर्षणसमेत गराइसकिएको छ”, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।

सञ्चारकर्मीका जिज्ञासामा उनले नेकपाले नेपाल–भारत सीमा विषयलाई गम्भीरतापूर्वक लिएको बताए। परराष्ट्र मन्त्रालयले यही कात्तिक २० गते विज्ञप्ति प्रकाशित गर्दै कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट पारेको थियो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिमण्डलका सदस्य तथा आफ्ना सचिवालयमा कार्यरत विज्ञ सल्लाहकारको पुनरगठन गर्ने विषयमा बैठकले केही निर्णय ग¥यो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता श्रेष्ठले भने, “यस विषयले बैठकमा प्रवेश पाएको छैन, यो प्रधानमन्त्रीको आफ्ना कुरा हुन् ।”

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री