नेपालगन्जमा तरुण दलको बृहत्त विरोध प्रदर्शन

सरकारको कामबाट आम जनता निराश छन् –काँग्रेस नेता पाण्डे

  • सिराज खान

नेपालगन्ज । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं राष्ट्रियसभामा प्रतिपक्षका नेता सुरेन्द्र पाण्डेले धेरै सपना र आश्वासन बाँडेर सत्तामा पुगेको वर्तमान सरकारको कामबाट सानो समयमै जनता निराश भैसकेको दावी गरेका छन् । उनले दुई तिहाईको सरकार हरेक क्षेत्रमा असफल भैसकेको जनाउँदै जनताले विकल्प खोज्न थालेको बताए ।

तरुण दल बाँकेले सोमवार नेपालगन्जमा आयोजना गरेको बृहत्त विरोध प्रदर्शनपछि आयोजना गरिएको सभालाई सम्बोधन गर्दै काँग्रेसका नेता पाण्डेले दुई बर्षकै अवधिमा वर्तमान सरकार पञ्चायतका सरकारभन्दा पनि बढी बदनाम भैसकेको बताए । झुठ्ठा आश्वासन र सपना बाँडेर निर्वाचन जितेपनि सरकारले जनताका लागि केहीगर्न नसकेको आरोप लगाउँदै उनले उल्टै भ्रष्टाचार र महंगीलाई चरम उत्कर्षमा पुर्याएको बताए ।

हजारौं जनताको बलिदानबाट आएको संविधानको रक्षा र कार्यान्वयनगर्न छोडेर वर्तमान सरकारले दुई तिहाईको दम्भमा संविधानको मर्म र मान्यता विपरित काम गरिरहेको पनि काँग्रेस नेता पाण्डेले बताए ।

समृद्धिको नारा दिएर अगाडी बढेको यो सरकार हरेक क्षेत्रमा असफल भैसकेको दावी गर्दै सरकारले प्रहरी र प्रशासनलाई आफ्नो कार्यकर्ता सरह प्रयोग गरिरहेको आरोप लगाए । उनले यो क्रम नरोकिए आन्दोलनलाई देशव्यापी बनाइने चेतावनी पनि दिए ।

सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्नेहरुलाई प्रहरी प्रशासन लगाएर फसाउने काम तत्काल रोक्नु पर्नेमा जोड दिए ।

सभालाई सम्बोधन गर्दै तरुण दलका केन्द्रिय उपाध्यक्ष उत्तम चापागाईले तरुण दल नेपालगन्जका सभापति सन्दिपजंग शाहलाई फसाईएको जनाउँदै उनलाई तत्काल रिहा नगरिए देशव्यापी आन्दोलनको घोषणा गरिने बताए ।

उनले खसी खान नपाएर प्रहरीद्धारा शाहलाई फसाईएको आरोप पनि लगाए ।

प्रहरी प्रशासनले वर्तमान सरकारको कार्यकर्ता बनेर काम गरिरहेको आरोप लगाउँदै उनले बाँकेमा काँग्रेसका नेता कार्यकर्तामाथि आक्रमण, कुटपिट र फसाउने खालका घट्नाहरु निरन्तर भैरहेको जनाए ।

नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइराला तथा तरुण दल बाँकेका अध्यक्ष वीरेन्द्र बहादुर शाहले प्रहरी प्रशासनको ज्यादतीको शिकार बाँकेमा काँग्रेस कार्यकर्ता बन्दै गएकोमा चिन्ता प्रकट गरे ।

तरुण दल नेपालगन्ज नगरका सभापति शाहको रिहाईको माग गर्दै आयोजना गरिएको विरोध ¥याली पार्टी कार्यालयबाट शुरु भएर नगर परिक्रमागर्दै जिल्ला प्रशासनको गेटमा पुगेर धर्ना दिएको थियो ।

केही दिन अघि तरुण दल नेपालगन्ज नगरका सभापति शाहलाई प्रहरीले नमस्ते रिसोर्टबाट अमेरिकन पेस्तोलसहित पक्राउ गरेको थियो । तर, तरुणदलले शाहलाई प्रहरीले फसाएको आरोप लगाउँदै आएको छ । घटनाको छानवीनगर्न प्रदेश प्रहरी कार्यालयले एसएसपीको नेतृत्वमा एक छानवीन समिति गठन गरिसकेको छ ।

टिप्पणी थप्नुहोस्