भ्रमण वर्षका सन्दर्भमा भैरहवामा महोत्सव

भैरहवा । उद्योग व्यापार संगठन रुपन्देहीले आगामी मंसिर ३ गते देखी १६ गतेसम्म पाँचौं लुम्बिनी पर्यटन प्रबद्र्धन, औद्योगिक व्यापार तथा कृषि महोत्सव गर्ने भएको छ ।

मेलाले कृषि उत्पादन तथा उद्योग व्यवसायको प्रबद्र्धन गर्नुका साथै नेपालका प्रमुख पर्यटकीय गन्तव्यको पनि प्रचार–प्रसार गर्ने आयोजकको भनाई छ ।

सोमबार संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नारायणप्रसाद भण्डारीले महोत्सव स्थलमा निर्माण हुने संरचना कुनै न कुनै पर्यटकीय स्थलको आकृति दिएर निर्माण गरिने बताए । उनले प्रवेशद्वार लुम्बिनी स्थित मायादेवी मन्दिरको आकृति, सचिवालय तथा रानीमहल अन्य गन्तव्यको आकृति दिएर बनाउन लागेको बताए ।

महोत्सवमा पर्यटकीय स्थलको परिचयात्मक फोटो प्रदर्शनी, लुम्बिनीसँग सम्बन्धित पुरातात्विक वस्तु लगायत मुलुककै पर्यटकीय स्थलको परिचय, सेल्फी जोनको व्यवस्था गरिनेछ ।

पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले संगठनले महोत्सव प्रचार सामग्रीमा नै मायादेवी मन्दिर, तिलौराकोट, रामग्राम, स्वर्गद्वारी, सुपादेउराली, रेसुंगा, रानीमहल, फेवाताल, सौराहा, पशुपतिनाथ मन्दिर, रारा ताल, पाकडी वृक्षको तस्वीर राखेको छ ।

संगठनले आयोजना गर्ने महोत्सवमा यसवर्ष भारत, चीन, बंगलादेश, पाकिस्तान लगायत देशका उद्योगी–व्यवसायीले २५ बढी स्टल समेत राख्ने जानकारी आयोजकले दिए ।

महोत्सवमा उद्योग, व्यापार, कृषि र पर्यटनसँग सम्बन्धित ४ सयबढी स्टल रहनेछन् । झण्डै ७० लाख खर्च लाग्ने अनुमान गरिएको महोत्सव तीन लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । मेलामा ७० वर्ष उमेरमाथि र अपांगता भएका नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

बिहान ८ बजेदेखि ११ बजेसम्म जुनसुकै नागरिकलाई पनि निःशुल्क प्रवेश गराइने आयोजकको भनाई छ ।

टिप्पणी थप्नुहोस्