दिल्ली–नेपाल बसमा तस्करी मात्रै

  • राधेश्याम विश्वकर्मा

भैरहवा । भारत–नेपाल सीधा बस सेवाको नाममा यात्रुलाई सुविधा दिनु भन्दा पनि बस चालक र तस्करको मिलेमतोमा तस्करी हुदै आएको छ । सीमा नाकामा समय समयमा यस्तो बसबाट ठूलो परिमाणमा तस्करीका समान बरामद हुदै आएको छ ।

सोमबार रुपन्देही प्रहरीले दिल्लीबाट बुटवल आउदै गरेको यात्रुवाहक बसमा ठूलो परिमाणमा तस्करीका समान फेला पारेको छ । दिल्ली–बुटवल चल्ने लु १ ख ८४७४ नम्बरको बसमा लुकाएर ल्याउदै गरेको मोटरसाईकलका बिभिन्न पार्टस प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले शंका लागी बस चेक जाँच गर्दा बसमा फल्स बटम बनाएर सो भित्र मोटरसाईकलका पार्टसहरु तस्करी गरी ल्याउदै गरेको अवस्थामा बरामद भएको हो ।

रुपन्देही प्रहरी प्रवक्ता खडक् बहादुर खत्रीले मोटरसाईकलमा प्रयोग हुने ब्रेक शु, लिभर कभर, गियर लिभर, लाईट लगायतका ४ लाख बढीको सामन रहेको बताए । उनले बरामद भएको समान र तस्करीमा प्रयोग भएको बसको मूल्य गरि जम्मा ३४ लाख १४ हजार ५० रुपैया बराबरको सामाग्री थप कार्यवाहीको लागी भैरहवा भन्सार कार्यालय पठाईएको जानकारी दिए ।

यस अघि पनि भारतबाट नेपाल आउने बसहरुमा फल्स बटम बनाई अवैध तरिकाबाट लत्ता कपडा ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको थियो ।

भारतबाट आउने बस सबै भन्दा पहिला भैरहवा भन्सार कार्यालयमा चेकजाँच भए पछि मात्र बाहिरिने गरेको छ । भैरहवा भन्सार कार्यालयका कर्मचारी र अवैध कारोबारी बीच भएको साँठगाँठका कारण भन्सारमा यी सामग्री आँखा चिम्लेर छाडिने गरेको छ ।

साउन महिनामा भैरहवा भन्सार कार्यालयले चेकजाँच गरि छोडेको लु १ ख ६६४९ नम्बरको बसलाई सशस्त्र प्रहरी बल ३८ नम्बर गुल्मले शंका लागी चेकजाँच गर्दा ६ लाख ५० हजार बढीको कपडा बरामद गरेको थियो ।

यस अघि पनि पटक पटक भन्सार कार्यालयको चेकजाँच प्रक्रियामा चुक हुदै आएको छ । कहिले एउटै प्रज्ञापन पत्रमा बढी मालवाहक गाडी पठाउने, कहिले चेकजाँच नै नगरि सिंगै ट्रक पठाउने काम हुने गरेकोछ । भन्सार कार्यालयबाट पटक पटक नेपाल–दिल्लीको बस चेकजाँच नै नगरि पठाउने गरेको छ ।

टिप्पणी थप्नुहोस्