माथिल्लो तामाकोशी

राष्ट्रिय गौरवको उर्जा उपक्रम

  • रुपान्तरण प्रतिनिधि

यसपालाको तिहार उज्यालोमा बित्यो । कतै बत्ती गएन । राजधानी लगायतका कतिपय शहर–बजार बिजुली बत्तीले झकिझकाउ भए । उज्यालोमा मानिस रमाउँछन । अँध्यारोमा मानिसको मन पनि अँध्यारै हुन्छ । यो स्वाभाविक कुरा हो ।

अहिलेको समयको सामान्य, तर अनिवार्य, आबश्यकता भै सकेको छ बिजुली । बिजुली बिनाको जीवन सोच्न पनि सकिदैन । मानिसको जन्मदेखि मृत्युसम्म बिजुलीको आबश्यकता प्रमाणित भै सकेकोछ ।

हाम्रो देशमा अहिले पनि बिजुली बिलासको बस्तु भएकोछ । धेरै गाउँघरमा अहिले पनि बिजुली सपनाकै रुपमा रहेकोछ । हामीसंग बिजुली उत्पादनगर्ने पानी प्रसस्त छ । आर्थिक रुपले हामी गरीब भएकाले देशको आबश्यकता अनुसार बिजुलीको उत्पादन हुन सकेको भने छैन । यो निश्चय पनि दुर्भाग्यपूर्ण अवस्था हो ।

बल्ल आएर हामी बिजुली उत्पादनमा फडको मार्दैछौं । अहिलेसम्म बिजुलीको उत्पादनका लागि हामी बिदेशी सहयोगको आशामा बस्ने गर्दथ्यौं । अब त्यो अवस्थामा परिवर्तन आएकोछ । नेपालको नीजि क्षेत्र, आप्रवासी नेपालीहरु र बिदेशीसंगको व्दिपक्षीय सहकार्यमा बिजुली उत्पादन भइ रहेकोछ । बिजुलीमा हामी केही समयभित्रै आत्मनिर्भर हुनेछौं । त्यसपछि हामीले भोगेका लोडशेडिंगका अनुभव कथा हुनेछन । औद्योगिक बिकासका लागि अपरिहार्य उर्जा नियमित उपलब्ध हुन थालेपछि हाम्रो आर्थिक बिकासको ढोका पनि खुल्नेछ । नेपाली जनतामा छुट्टै उत्साहको संचार हुनेछ । जनताको मनमा गरिबी र पछौटेपनलाई जित्न सकिन्छ भन्ने बिश्वास जागेपछि उन्नतिको बाटो आफै फराकिलो हुन्छ ।

बिकासको पूर्व शर्त नै जनताको आकांक्षा हो । अहिले नेपाली जनताको आकांक्षा उर्लदो अवस्थामा छ । यो आकांक्षालाई बुझने र पूरागर्ने चाहनामात्र अहिलेको आबश्यकता हो । उन्नतिको बाटोमा जे जति अवरोध छन सरकारहरुले त्यसलाई हटाइ दिनु पर्दछ । बिकासको मार्ग प्रसस्त भइ हाल्दछ ।

माथिल्लो तामाकोशी जल बिद्युत आयोजना आत्मनिर्भर नेपाली बिकासको पहिलो पाइला हो । यो आयोजनाको सफलतापछि नेपालीले पूँजीको परनिर्भरता भोग्नु पर्दैन । एउटा आयोजनाको सफलताले थुप्रै आयोजनाहरुको निर्माणलाई प्रोत्साहित गर्दछ ।

 

भुईंचालो र भारतीय नाकाबन्दी २०७२ सालमा नेपालका लागि दुर्दशा नै सावित भएका थिए । भुईंचालो र नाकाबन्दी नभएको भए अहिलेसम्म तामाकोशी आयोजनाले नेपालको आर्थिक नक्सा बदल्नमा आफनो भूमिका स्थापित गरिसकेको हुन्थ्यो । आयोजनामा ढिलाइ भएकोछ । आशा गरौं, अब यो ढिलाई रहने छैन । आयोजनाले घोषणा गरेको नयाँ समयमा नै बिद्युत उत्पादनको प्रारम्भ हुनेछ । कथं–कदाचित चैत मसान्तमा काम सकिएन भने असार मसान्तसम्म काम सकिने आशा सबैले राखेका छन ।

माथिल्लो तामाकोशी आयोजनामाथि अहिले अचानक देखिएको जनताको चिन्ता अकारण होइन । ‘राष्ट्रिय गौरबको’ भनिएको मेलम्ची खानेपानी आयोजनाको असफलताले तामाकोशीलाई पनि प्रभावित गर्यो । कतै यो आयोजना पनि मेलम्चीकै बाटोमा जाने त होइन ? जनताको यो सजग चिन्तन अकारण थिएन । किनभने, तामाकोशीमा सामान्य जनता नै मुख्य लगानीकर्ताका रुपमा थिए । देशभरि नै सरकारी लगानीका थुपैर आयोजना आठ आठ, दस दस बर्षदेखि अधुरा रहेका उदाहरण बग्रेल्ती प्रस्तुत भइ रहेका समयमा कतै माथिल्लो तामाकोशी पनि त्यही बाटोमा लाग्ने त होइन ? जनताका यी संशयहरु अकारण होइनन ।

नेपालका लागि सर्वाधिक महत्वको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट उत्तरी दिशातर्फ विगु गाउँपालिका वडा नं. १, लामवगरमा अवस्थित छ । यो भाग सप्तकोशीमध्ये एक तामाकोशी नदीको उपल्लो खण्डमा पर्दछ । हालसम्म अध्ययन र निर्माण भएका तथा निर्माणाधीन जलविद्युत आयोजनाहरुमध्ये यो सबैभन्दा आकर्षक र सस्तो आयोजना हो । यो आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजना घोषित गरेकोछ ।

यो आयोजना दैनिक पिकिङ प्रकारको आयोजना हो । यसले सबैभन्दा सुक्खा मौसममा पनि दैनिक ४ घण्टासम्म पूर्ण क्षमतामा विद्युत उत्पादन गर्छ । लामबगरमा हजारौं वर्ष अघि बनेको प्राकृतिक बाँधका कारण छोटो सुरुङ निर्माणबाट उच्च पानी खसाल्ने वाटर हेड र दैनिक पिकिङको लागि कम उचाइको बाँधबाट १२ लाख घ.मि. क्षमताको जलाशय उपलव्ध हुनु हो ।

नेपाल विद्युत प्राधिकरणले वि.सं. २०५७–२०६० मा यो आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो । प्रवेशमार्गको विस्तृत इञ्जिनियरिङ डिजाइन कार्य पनि त्यसैबेला भएको थियो । नर्वे सरकारको सहयोगमा विस्तृत सम्भाव्यता अध्ययन कार्य नर्वेजियन परामर्शदाताबाट भएको थियो ।

आयोजनाबाट चरिकोटदेखि लामवगरसम्म ६८ कि.मि. लामो प्रवेशमार्गको निर्माण र सुदृढीकरण गरी सवारी आवागमन सुचारु गरिएको छ । आयोजनाको मुख्य कार्य आ.व. २०६७-६८ मा प्रारम्भ भएको थियो। संशोधित निर्माण समयतालिका अनुसार आगामी २०७६ सालको चैत्र महिनादेखि विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ । आयोजनाको कुल अनुमानित लागत ने.रु. ४९ अर्ब २९ करोड (निर्माण अवधिको व्याज वाहेक) रहेको छ ।

आयोजनाको कार्यान्वयन गर्न २०६३ फाल्गुण २५ मा “अपर तामाकोशी हाइड्रोपावर लिमिटेड” स्थापना गरिएको छ । कम्पनीको मुख्य शेयरधनीहरुमा नेपाल विद्युत प्राधिकरण (४१%), नेपाल टेलिकम (६%), नागरिक लगानी कोष (२%) र राष्ट्रिय बीमा संस्थान (२%) रहेका छन् । त्यस्तै, कम्पनीमा सर्वसाधारणको १५%, दोलखा जिल्ला बासीको १०% शेयर रहेको छ भने बाँकी २४% शेयर संचय कोषका सञ्चयकर्ता, कम्पनी र प्राधिकरणका कर्मचारी तथा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीहरुको रहेको छ । यस आयोजनाको लागि कर्मचारी संचय कोषले रु. १० अर्ब, नेपाल टेलिकमले रु. ६ अर्ब, नागरिक लगानी कोषले रु. २ अर्ब, राष्ट्रिय बीमा संस्थानले रु. २ अर्ब र अपुग रकम रु. ११ अर्ब ८ करोड नेपाल सरकारको ऋण लगानी रहेको छ ।

यो आयोजनाका बिशेषताहरुमा –
प्रति युनिट विद्युत उत्पादन लागतको हिसाबले देशमा हालसम्म निर्माण भएका र अध्ययन भएका आयोजनाहरुमध्ये सबैभन्दा सस्तो ।
पानी खसाल्ने वाटर हेड उच्च (८२२ मिटर उचाइको ।)
मुख्य निर्माण संरचनाहरु भूमिगत ।
आयोजना माथिल्लो हिमाली भेगमा भएकोले भौगर्भिक अवस्था राम्रो ।
सालभर पानीको बहावमा तुलनात्मक रुपमा धेरै उतार चढाव नहुने र हिउँद महिनाको मासिक बहाव राम्रो ।
बर्षामा यस नदीको पानीमा थेगरको मात्रा तुलनात्मक रुपमा कम ।
न्यून वातावरणीय प्रभाव ।

तामाकोशी आयोजनाको सुरुंग, बाँध, बालुवा छान्ने ब्यबस्था, टर्वाइनको स्थापना लगायतका काम सकिएका छन । आयोजनामा निर्मित सुरुंगहरुको लम्बाइ साढे अठार किलोमिटर छ । आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल, प्रसारण लाइन र सब स्टेशन निर्माणका कामहरु सकिएका छन । तर, सम्पूर्ण आयोजनाको जम्मा पाँच प्रतिशत भनिएको पेनस्टक साफ्ट जडानको काम पूरा नभएकोले बिद्युत उत्पादन हुन सकेको छैन । पेनस्टक साफ्ट जडानको काम निकै जटिल रहेकोछ । दुइवटा पेनस्टक पाइप जोडन ९६ घण्टा समय लाग्दछ । भूमिगत तहमा पाइप झार्न चार घण्टा लाग्दछ भने फिटिंगमा ८ घण्टा । दुइवटा पाइप तताएर वेल्डिंगगर्न ४८ घण्टा लाग्दछ ।

तल्लो पेनस्टक साफ्टमा १०० मिटर पाइप जडान भै सकेकोछ भने २७३ मिटर पाइप जडानगर्न बाँकी छ । अरु कुनै खराबी नआएको खण्डमा आगामी चैत मसान्तसम्म पाइप जडान भै सक्नेछ र बिद्युत उत्पादन पनि शुरु हुनेछ ।

तामाकोशी जल–बिद्युत आयोजनाबाट जनताले ठूलो आशा राखेका छन भने यो अस्वाभाबिक होइन । तामाकोशीमा नेपाली लगानी छ । तर, यो लगानीको मूल्य त्यतिबेलामात्र यथार्थका रुपमा स्थापित हुन्छ जब आयोजनाले प्रतिफल दिन थाल्दछ । तामाकोशीबाट बिद्युत उत्पादन हुनेछ भएको दिन आयोजनाको स्थूल स्वरुपमा जीवन संचार हुनेछ ।

टिप्पणी थप्नुहोस्