केसी भन्छन, १८ सालदेखि भारतीय सेना त्यहाँछन

  • राधेश्याम विश्वकर्मा

भैरहवा । पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्र बहादुर केसीले नेपालको एक ईन्च जग्गा अतिक्रमित भए त्यो आफूहरुलाई सह्रय नहुने बताएका छन् ।

उनले भारतले छिमेकी देशहरुलाइ सधै अशान्त बनाई उनिहरुमाथि राजनीति गर्ने गरेको आरोप लगाए । प्रगतिशील पत्रकार संघले भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै केसीले नेपालका भूभागहरु समेटेर भारतले आफ्नो नक्सा प्रकाशित गर्नु नेपाली जनताको लागि चिन्ताको विषय भएको बताए । उनले नेपालका भूभागहरु नेपालीका लागि आँखाको नानी सरह भएकोले त्यो नानी फुटालेर जनता अन्धो हुन नसक्ने बताए ।

२०१८ साल देखि नै भारतीय सेना त्यहाँ बसेको बताउदै उनले भारतीय शासकले मिचाहा प्रवृत्ति देखाउदै धेरै नेपाली भूभागमा कब्जा जमाएको जिकिर गरे । “लिम्पियाधुरा महाकाली नदीका किनारहरुमा हस्तक्षेप गर्न खोजेको हस्तक्षेप सहदै आएका छौ । अहिले भने हामीले भारतलाई हाम्रो भूभागलाई यसरी नक्सामा समेट्न दिनु हुदैन । ती भुभागलाई भारतले फिर्ता गर्नु पर्छ यसले भारत र नेपालको सम्बन्धमा असर पर्न सक्छ ” केसीले भने । पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता के.सी.ले भारतले जारी गरेका नक्साका बिरुध्द सबै राजनीतिक दलहरु एकढिक्का हुनु महत्वपूर्ण विषय भएको बताए । नेपालका भूभाग भारतले फिर्ता गर्नुपर्ने उनको भनाइ थियो । मेची महाकाली र हिमाल देखि तराईका देशभक्त नागरिक देशको अखण्डता रक्षा गर्नुपर्ने भन्दै आवाज उठाउने कुरा प्रशसंनीय रहेको के.सी.ले बताए ।

राष्ट्रिय जनमोर्चाले विगत देखि नै भन्दै आएको कि, देशमा संघीयता आवश्यक छैन भन्ने कुरा सत्य सावित हुँदै गएको उनले दावी गरे । स्थानीय र संघीय सरकारलाई मजबुत बनाएर प्रदेश सरकार हटाउनुपर्छ, उनले भने । प्रदेशको राजधानी र न्वारन समेत अहिले सम्म हुन नसकेकोले संघीयता खारेज गर्नुपर्ने पार्टीको माग सही भएको कुरा दिनप्रति दिन पुष्टि हुँदै आएको उनले बताए ।

के.सी.ले वर्तमान सरकारलाई ढाल्नुपर्छ भन्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् । जनताको म्याण्डेट अनुसार सरकारले काम गरेन भन्ने राष्ट्रिय जनमोर्चाको विरोध र आलोचना भए पनि सरकार ढाल्ने पक्षमा भने आफूहरु तत्काल नरहेको उनले स्पष्ट पारे । प्रगतिशिल पत्रकार संघ नेपाल रुपन्देहीका अध्यक्ष श्याम पोखरेलको अध्यक्षता तथा सचिव डिआर बञ्जाडेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

टिप्पणी थप्नुहोस्