कालापानी, लिपुलेक हाम्रै हो

  • राधेश्याम विश्वकर्मा

भैरहवा । भारतले अतिक्रमण गरेको लिपुलेक र कालापानी लगायतका क्षेत्र खाली गर्ने चेतावनी सहित नेपाल तरुण दलले दशगजामै प्रदर्शन गरेको छ । तरुण दलले भारतले नेपाली भुमिबाट सेना फिर्ता र नक्शा नसच्चाए सम्म आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

भारतीय हेपाहा प्रवृत्तिको बिरोध र सरकार मौन बसेको आरोप सहित तरुण दलले सीमा नाका बेलहियामा प्रदर्शन गरेको हो । अतिक्रमित भुमि खाली गराउन सरकारले अहिले पनि केही नगरेको भन्दै तरुणहरुले आक्रोश ब्यक्त गरेका छन् ।

“लिपुलेक कालापानी, भारतीय सेना गर दे खाली”, “कालापानी, लिपुलेक हाम्रै हो” लगायतका नारा सहित तरुणहरुले दशगजासंगै सटेर रहेको क्षेत्रमा प्रदर्शन गरेका छन् । नेपाल तरुण दल जिल्ला कार्य समिति रुपन्देहीको नेतृत्वमा पुगेको टिमले भारतीय हेपाहा प्रवृत्तिको बिरोध गरेका हुन् ।

लिपुलेक र कालापानीको समस्या हालै सिर्जित समस्या नभई पुरानै समस्या रहे पनि वर्तमान सरकारले समस्या समाधान तर्फ कुनै पहल नगरेको तरुणहरुको आरोप रहेको छ । अहिले पनि सरकारले विज्ञप्ती जारी गर्नु बाहेक नक्शा संशोधन र भारतीय सेना फिर्ताको कुनै पहल नगरेको उनिहरुको आरोप थियो ।

बिरोध कार्यक्रममा बोल्दै नेपाल भारत मैत्री संघका अध्यक्ष डा. शान्त कुमार शर्माले अतिक्रमित भुभाग नेपालमा फिर्ता नआए सम्म आन्दोलन नरोकिने बताए । सदियौ देखी नेपालीले उपभोग गरि आएको भुभाग भारतले हेपाहा प्रवृत्ति देखाउदै आफ्नो नक्शामा गाभेको उनले आरोप लगाए । उनले भारतले नेपालको एक ईन्च जग्गा अतिक्रमण गरे सम्म नेपालीको आन्दोलन नरोकिने बताए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकले भारत मात्र हैन अन्य देशको समेत सीमा रक्षा गर्न जानेको नेपाली सेनाले आफ्नो देशको पनि सीमा रक्षा गर्नु पर्ने समय आएको बताए । उनले सरकारलाई देशको सीमा रक्षाको लागि सेना खटाउन समेत माग गरे ।

तरुणहरुले भारत सरकारले नेपालीको आवाज नसुने आन्दोलन र प्रदर्शनलाई यो भन्दा पनि बढी चर्काउने चेतावनी दिएका छन ।
नेपाल तरुण दलका जिल्ला अध्यक्ष सोम बहादुर गुरुङ्गले नेतृत्व गरेको प्रदर्शनमा नेपाल तरुण दल र नेपाली कांग्रेसका जिल्ला, क्षेत्र, नगर स्तरका नेताहरुको सहभागीता रहेको थियो ।

टिप्पणी थप्नुहोस्