ब्याट्री रिक्सामा लुकाएको पेस्तोलसहित चालक पक्राउ

  • सिराज खान

नेपालगन्ज, २७ कात्तिक । ब्याट्री रिक्सामा अबैध नालकटवा पेस्तोल राखेर हिड्ने रिक्साका चालकलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ ।

ब्याट्री रिक्सा चलाउँदै आएका बाँके डुडुवा गाउपालिका–४ उचे मसाहाका मेराज अलि सैयदलाई बुधबार अबैध पेस्तोल सहित प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यात्रुबाहक अटोरिक्सामा अवैध पेस्तोल राखेर हिडि रहेको अवस्थामा ब्याट्री रिक्सासहित चालक सैयदलाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरिएको बाँकेका प्रहरी प्रमुख एसपी वीर बहादुर ओलीले बताए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी शिवबहादुर सिंहको कमाण्डमा गएको प्रहरीको टोलीले बुधबार नेपालगन्ज उपमहानगरपालिका वडानं. ४ गणेशपुर चोकबाट भे १ स ८३२६ नंम्बरको ब्याट्री रिक्साको डिग्गीमा कालो प्लास्टीकको झोलामा लुकाई राखेको अवस्थामा सो पेस्तोल बरामद गरिएको प्रहरी प्रमुख ओलीले जनाए ।

ब्याट्री रिक्साको ठिक पछाडि यात्रु बस्ने सिटमुनीको डिग्गीबाट कालो प्लास्टिकको झोलामा पिंक कलरको पुरानो टालोले बेरेर राखेको अवस्थामा सो पेस्तोल प्रहरीले बरामद गरेको थियो ।

ब्याट्री रिक्सा चालकले किन र के उदेश्यका साथ सो अवैध पेस्तोल राखेर हिंडेका थिए तथा उनका साथीहरु को-को हुन् सो बारेमा पनि गहिरिएर अनुसन्धान थालिएको प्रहरीको भनाई छ ।

बाँके प्रहरीले यसअघि गत कात्तिक १४ गते पनि नेपालगन्ज–२० मनिकापुरको नमस्ते भिलेज रेस्टुरेन्टबाट तरुणदल नेपालगन्जका नगर सभापति संदिप जंग शाहलाई उनको कारबाट अमेरिकन पेस्तोल सहित नियन्त्रणमा लिएको थियो । सो घट्नाको पनि अनुसंन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तर, तरुण दलले भने उनलाई फसाईएको आरोप लगाउँदै उनको रिहाईका लागि आन्दोलन गर्दै आएको छ ।

पछिल्लो समयमा आएर बाँकेका विभिन्न स्थानबाट अवैध हतियार सहित मानिसहरु पक्राउ पर्न थालेकोले जिल्लाका सीमावर्ति क्षेत्रहरुमा सुरक्षा व्यवस्था कडा पारेर चेकजाँच पनि शुरु गरिएको बाँके प्रहरीले जनाएको छ ।

खुला सीमानाका कारण भारतबाट विभिन्न अपराधीहरु सहजै रुपमा नेपालमा छिर्नुका साथै अवैध हात हतियार समेत भित्रिने गरेको छ ।

टिप्पणी थप्नुहोस्