कोहलपुरमा वडा अध्यक्षका लागि पाँच दलको उम्मेदवारी दर्ता

  • सिराज खान

नेपालगन्ज, २७ कात्तिक । कोहलपुर नगरपालिकाको वडा नम्बर ६ मा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बुधवार पाँच वटा दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

बाजागाजासहित निर्वाचन कार्यालय पुगेर नेकपा, नेपाली काँग्रेस, समाजवादी पार्टी, राप्रपा नेपाल र नेमकिपाका उम्मेद्वारले मनोनयन दर्ता गराएका हुन् ।

कोहलपुर नगरपालिका वडा नं. ६ को वडाध्यक्षका लागि ती सबै उम्मेद्वारहरुले झाँकी र पञ्चेबाजासहित जुलुस निकालेर उम्मेद्वारी दर्ता गराएका थिए ।

निर्वाचन कार्यालयले दिएको समय तालिका अनुसार सबैभन्दा पहिले राप्रपाका उम्मेदवार श्रीधर सुवेदीले मनोनयन दर्ता गराए । जुलुशसहित कोहलपुर नगरविकास समिति परिसरमा रहेको निर्वाचन कार्यालयमा पुगेका सुवेदीले पहिलो नम्बरमा उम्मेदवारी दर्ता गराए ।

त्यसैगरी सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का उम्मेदवार रामशरण थारुले दोस्रो नम्बरमा उम्मेदवारी दर्ता गराए । मौलिक पहिरनमा बाजागाजा र जुलुससहित निर्वाचन कार्यालय पुगेका थारुले दोस्रो नम्बरमा उम्मेदवारी दर्ता गराए । थारुको उम्मेदवारी मनोनयन कार्यक्रममा सहभागी हुन नेकपा संसदिय दलका सचेतक शान्ता चौधरी कोहलपुर आएकी थिईन् । मनोनयन दर्ता पछिको कोणसभालाई सम्बोधन गर्दै चौधरीले कोहलपुर ६ मा रामशरणको विकल्प नरहेको जनाइन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका तर्फबाट श्रीकृष्ण थारुले मनोनयन दर्ता गराए । झाँकी र जुलुससहित काँग्रेस नेता कार्यकर्ताहरु निर्वाचन कार्यालय पुगेका थिए । सो अवसरमा राष्टियसभामा काँग्र्रेसका नेता सुरेन्द्र्र पाण्डेपनि सहभागि थिए । उनले यो निर्वाचन मिनि जनमत संग्रह भएको बताए ।

त्यसैगरी समाजवादी पार्टीले पनि कोहलपुर वडा नं. ६ को वडाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएको छ । हालै नयाँ शक्ती र संघिय समाजवादी फोरमको एकतापछि बनेको समाजवादी पार्टीबाट शोभाखर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।

उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले पनि मनोनयन दर्ता गराएको छ । नेमकीपाबाट दीपालक्ष्मी हमालले मनोनयन दर्ता गराएकी छन् । उनि ईलाका प्रशासन कार्यालय कोहलपुरका तत्कालिन प्रमुख दत्तराज हमालकी श्रीमती हुन् । निर्वाचन कार्यालयले बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो ।

टिप्पणी थप्नुहोस्