बाघको आक्रमणबाट दुई दिनमा दुईको मृत्यु, स्थानीय त्रसित

  • सिराज खान

नेपालगन्ज, २७ कात्तिक । बाँके र बर्दियामा रहेका राष्ट्रिय निकुञ्जका बाघले स्थानीयमाथि आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् । गत दुई दिनको अवधीमा बाघको आक्रमणबाट बाँकेमा दुई जना महिलाको मृत्यु भएको छ ।

बाघ संरक्षणका लागि स्थापना गरिएको बाँके निकुञ्जमा रहेका बाघले मानव बस्तीमै पुगेर आक्रमण गर्न थालेपछि निकुञ्ज वरिपरिका स्थानीय डर र त्रासले आतंकित छन् ।

सोमबार चितुवाको आक्रमणबाट कोहलपुर नगरपालिका बडा नं. १३ बस्ने बर्ष ७५ की काली बस्नेतको ज्यान गएको थियो ।
उक्त घटना सेलाउन नपाउँदै मंगलबार बिहान ९ बजे राप्ती सोनारी गाँउपालिका वडा नं. ८ स्थित शिबशक्ति सामुदायिक वनको जंगलमा घाँस काट्न गएकी ६० वर्षिय ठगी खड्कालाई पाटे बाघले आक्रमण गरेको थियो ।

बाघले खड्काको छातीको भागमा आक्रमण गरेको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

निकुञ्जमा बाघको संख्या बढ्दै गएपछि आक्रमण समेत बढ्दा निकुञ्जका कर्मचारीहरु पनि चिन्तामा छन् । निकुञ्ज वरिपरि काँडेतार लगाउने योजनालाई तत्काल अघि सार्नु पर्ने माग अधिकांश स्थानीयको छ ।

हात्तीको आतंकबाट त्रसित रहँदै आएका स्थानीय अब बाघको आक्रमण बढेपछि झन त्रास र चिन्तामा छन् ।

निकुञ्ज र मध्यवर्ति विकास क्षेत्रले सूचना प्रकाशित गरेर निकुञ्जको छेउछाउमा एक्लै कुनै पनि कामले न जान सर्वसाधारणलाई आग्रह गरेको छ । बाघ मानवबस्तीमा पुग्ने खतरा बढेको जनाउँदै सो सूचनामा घर बाहिर पनि साँझदेखि रातीको समयमा ननिस्कन सचेत गरिएको छ ।

टिप्पणी थप्नुहोस्