अभिभावकविहिन, सहयोगापेक्षी सडकमानव-मुक्त बन्यो नेपालगन्ज उप-महानगर सडक

  • सिराज खान

नेपालगन्ज, २८ कात्तिक । बाँकेको नेपालगन्जलाई देशकै पहिलो अभिभावकविहिन, सहयोगापेक्षी सडकमानव-मुक्त भएको उपमहानगर घोषणा गरिएको छ ।

अबदेखि कोही पनि बेसहारा, घरबारविहिन, अभिभावकविहिन र अनाथ मानव सडकमा नदेखिने प्रतिवद्धताका साथ नेपालगन्ज उपमहानगरलाई विहिबार सहयोगापेक्षी सडक मानवमुक्त भएको घोषणा गरिएको हो ।

प्रदेश नम्बर पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बराल र नेपालगन्ज उप–महानगरपालिकाका कार्यवाहक प्रमुख उमा थापा मगरले सो घोषणा गर्न आयोजित औपचारिक कार्यक्रममा नेपालगन्जलाई देशकै पहिलो उपमहानगरपालिकाको रुपमा अभिभावकविहिन, सहयोगापेक्षी सडकमानव-मुक्त भएको घोषणा गरे ।

घोषणासभामा सामाजिक विकास मन्त्री बरालले प्रदेश सरकारले अबदेखि कसैलाई पनि सडकमा बेहाल अवस्थामा देख्न नचाहेको जनाउँदै नेपालगन्जलाई बेसहारा सडक मानवमुक्त शहरका रुपमा घोषणा गरिएको बताए ।

उनले कुनैपनि नागरिक अभिभावकविहिन भएर सडकमा बाँच्नुपर्ने अवस्था अन्त्यका लागि सरकार लागिपरेको भन्दै अभिभावकविहिनको अभिभावक सरकार भएकोले सरकारले हेरचाह र देखभाल गर्ने बताए ।

उनले सो काममा सहयोग गर्ने निलसागर सेवाश्रमप्रति धेरै धेरै आभार प्रकट गर्दै सरकारको अभियानमा सो सेवाश्रमले ठुलो सहयोग गरेको बताए ।

नेपाललगन्ज नगरपालिकाका कार्यबाहक प्रमुख समेत रहेकी उपप्रमुख उमा थापा मगरले २०७३ सालदेखि सहयोगापेक्षी, सडकमानव-मुक्त उप–महानगरपालिका बनाउने उद्धेश्य अनुसार लागिपरेको भएपनि अहिले आएर सफल हुन सकेको बताइन् ।

उपमहानगरको सहयोगमा निलसागरले यसखालका ब्यक्तिको उद्धार, औषधोपचार, पालनपोषण, खाना, नाना, छानासँगै बालबालिकाको अध्यापन जस्ता क्रियाकलाप गरिरहेको उनको भनाई छ ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख महिला विकास अधिकृत शोभा शाह, नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइराला, निल सागर सेवाश्रमका सरिता खनाल लगायतले सो कामको सराहना गर्दै निरन्तरता र सफल कार्यान्वयनका लागि आग्रह गरेका थिए ।

कार्यक्रममा प्रदेश पाँचका सामाजिक विकास मन्त्री बरालले घोषणा पत्रलार्ई निलसागर सेवाश्रमका सरिता खनाललाई हस्तान्तरण गरेका थिए । विभिन्न सहयोगी संस्था र ब्यक्तिहरुलाई सो अवसरमा सम्मान पनि गरिएको थियो । घोषणा कार्यक्रमअघि नेपालगन्जमा ¥याली प्रदर्शन गरिरएको थियो । ¥यालीमा ठुलो संख्यामा विद्यालयका बालबालिका र सरकारी तथा गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधी र सर्वसाधारणको उल्लेख्य सहभभागिता रहेको थियो ।

टिप्पणी थप्नुहोस्