उपचारका लागि अमेरिका जाने मानसिकतामा प्रम ओली

  • आरती शर्मा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओेलीको मानसिकता दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि संयुक्त राज्य अमेरिका नै जाने हिसाबले तयार भएको देखिन्छ । यसैले यतिबेला नेकपा अध्यक्षका हैसियतमा केपी ओली रक्षात्मक रणनीति निर्माणमा लागेका छन ।

शारीरिकरुपमा अत्यधिक संक्रमणको सास्ती भोग्नु परेपछि पार्टीमा सहमतिको संस्कार बसाल्ने अभियानलाई उनले तीब्रता दिएका छन ।
यो अभियानको पहिलो कडी स्वरुप अध्यक्ष ओलीले नेता माधव कुमार नेपालसंग तीन महिना देखिको संवादहीन अवस्थाको अन्त्य गरेका छन । ओली–नेपाल सम्बन्धको सन्दर्भमा यो निकै महत्वपूर्ण कुरो हो । गएको भदौ ५ मा नेता नेपालले ओलीलाई स्वस्थ जीवनको शुभकामना दिंदा ओलीको प्रतिक्रिया कटु थियो । यसले दुई नेताबीच कटुता बढाएको थियो ।

ओली-नेपालको भेटघाटपछि नेकपाका कार्यकर्तामा राजनीतिक तरंग छाएको छ । ३ जेठ २०७५ मा तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता भएपनि प्रधानमन्त्री ओली र नेता नेपालबीच बिद्यमान रहेको पुरानो अन्तरविरोध चर्किएको थियो । प्रधानमन्त्री ओली र नेता नेपालबीचको कटाक्षले राजनीतिमा निकै रमाइलो चर्चा पायो । मिर्गौलाको उपचारको लागि सिंगापुर जान थालेका ओलीलाई नेता नेपालले शुभकामना दिनु र प्रधानमन्त्रीले ‘तिम्रो शुभकामना चाहिंदैन’ भन्दै अस्वीकार गर्नु सानो घटना थिएन । त्यसपछि, आपसमा बोलचाल पनि नगरेका यी दुई नेताबीच तीन महिनापछि बोलचाल भयो ।

एमाले र माओवादी पार्टी एकतापछि ओली र नेपालबीच तीन पटकसम्म अन्तरविरोध चर्किएको थियो । प्रदेश कमिटी, एक व्यक्ति एक जिम्मेवारी, वरियता र प्रदेश प्रमुख नियुक्ति लगायतका विषयमा नेता नेपालले नोट अफ डिसेन्ट लेखेरै विरोध जनाएका थिए । पार्टी संगठनात्मक एकता र कार्यविभाजनका विषयमा यी दुई नेताबीचको पुरानो खटपट अहिले पनि यथावत छ । ३१ साउनमा नेकपा सचिवालय बैठकले नेपालको वरियता एक तह घटुवा गरेर बरिष्ठताको चौथो क्रममा राख्ने निर्णय गरेसँगै यी दुई नेताबीचको कटुता झन बढेको थियो ।
कात्तिक २४ गते प्रधानमन्त्री ओलीले स्वकीय सचिव मार्फत नेता नेपाललाई बालुवाटारमा आउने निमन्त्रण दिए । नेता नेपाल बिहान ११ बजे बालुवाटार पुगेका थिए । दुबै नेताले संगै खाना खाए । चार घण्टा मन माझामाझ गरे । त्यसपछि नेकपा राजनीतिको कोर्स करेक्सनबारे छलफलमा लागे ।

ओली-नेपाल भेटवार्तामा भएको सहमतिबारे खुलासा गरिएको छैन । तथापि, उनीहरुबीच केही महत्वपूर्र्ण बूँदामा अनौपचारिक सहमति भएको जानकारी दुबै नेताका निकटवर्ती स्रोतले दिएका छन । दुइ नेताका बीच मन्त्रीपरिषद पुनर्गठन र पार्टीका आगामी योजनाबारे छलफल भएको थियो । पुनर्गठित मन्त्री परिषदमा नेता नेपालको सिफारिसमा दुई वा तीन जना मन्त्री बनाउन प्रधानमन्त्री ओली सहमत भएको नेता नेपाल निकट स्रोतले जनाएको छ । यो मौखिक सहमति सार्वजनिक हुँदा मन्त्री पदका आकांक्षी नेताहरुको दौडधुप शुरु हुने भएकोले भेटवार्तामा भएको छलफललाई दुवै पक्षले गोप्य राख्न रुचाएका छन । प्रधानमन्त्रीले सातदेखि नौ जना मन्त्री हटाउने योजना रहेको नेता नेपाललाई सुनाएका थिए ।

त्यस्तै संवैधानिक आयोगका प्रमुख नियुक्तिमा पनि दुई नेताबीच छलफल भएको थियो । संविधानले १३ वटा संवैधानिक आयोगको व्यवस्था गरेको छ । कतिपय आयोगमा अध्यक्ष सहित सदस्यको पद रिक्त छ । यी आयोगहरुमा सबै गरेर ४० पद रिक्त रहेको छ । प्रधानमन्त्री ओलीले २८ कात्तिकमा विपक्षी दल नेपाली काँग्रेसका नेता शेरबहादुर देउवासँग पनि परामर्श गरे । नेता देउवाले संवैधानिक आयोगका पदाधिकारीमा नियुक्ति सहमतिका आधारमा गर्न दबाब दिएका छन । उनले ‘एकतर्फी सिफारिस भए संसदीय सुनुवाई समिति बहिष्कारगर्ने’ चेतावनी दिएको पनि स्रोतले बतायो । प्रम ओलीले नेता देउवासंग संवैधानिक नियुक्तिमा सहयोग भयो भने आफू ‘गुन तिर्न’ तयार रहेको बताएका थिए । नेता देउवा आफनी सासु प्रतिभा राणालाई जापानको राजदूतमा टिकाउन आतुर रहेका छन । उनलाई आफनी पत्नी आरजु देउवाबाट यसमा ठूलो दवाव झेल्नु परेकोछ ।

ओली र नेपालबीच छलफल भएको भोलीपल्ट २५ कात्तिकमा संगठनात्मक एकताका लागि केन्द्रले तय गर्नु पर्ने सबै काम टुंग्याएको छ । केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा नेता नेपालकै सिफारिसमा अमृतकुमार बोहराको चयन गरिएको छ । तत्कालीन माओवादी केन्द्रको अनुशासन आयोगका अध्यक्ष अमिक शेरचन प्रदेश प्रमुखमा नियुक्त भएकोले बोहरा उपयुक्त हुने प्रस्ताव नेपालले गरेका थिए । अनुशासन आयोगको सचिवमा अशोक रोकाय चयन भएका छन ।

पार्टी एकीकरणको सबै काम सकिए पनि कम्युनिष्ट पार्टीको अनिवार्य अंग मानिने पोलिटव्यूरोको गठन हुन बाँकी छ । त्यस्तै राष्ट्रिय परिषदमा मनोनयनगर्न पनि बाँकी छ । यस बारेमा पनि ओली र नेपालबीच छलफल भएको स्रोतको दावी छ ।

ओलीले अहिले आफूलाई रक्षात्मक अवस्थामा राखेका छन । उनले असमझदारी अन्त्यका लागि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता नेपालबीच सहमतिको संस्कारलाई अघि बढाएका छन । तर, ओलीको कदमबाट नेपाल पक्षधर सशंकित देखिएको छ । लगत्तै, कात्तिक २८ गते नेता नेपाल खुमलटार पुगेर पार्टी अध्यक्ष दाहालसँग भेटघाट गरेका छन ।

मंसीर १ गते देखि लागू हुनेगरि प्रधानमन्त्री ओलीका सल्लाहकार र स्वकीय सचिवालयका सदस्यले राजीनामा दिएका छन ।

सल्लाहकारहरुप्रति प्रम ओलीको नकारात्मक प्रतिक्रियापछि प्रमुख सल्लाहकार बिष्णु रिमालले सबै सल्लाहकारको राजिनामा मांगेका थिए । सल्लाहकारको पुनर्गठनमा सूर्य थापाको प्रबेशको अनुमान गरिएको छ । अरु नयाँ अनुहार को आउलान वा नआउलान ? यसै भन्न सकिने अवस्था छैन ।

सरकार बाहिर चलेको चर्चा अनुसार प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई अमेरिकाको राजदूत बनाउने सम्भावना रहेकोछ । तर, राजदूतमा रिमालको नियुक्ति नहुने र प्रमुख सल्लाहकारमा उनी निरन्तर रहनेछन । हाल उनी प्रधानमन्त्रीको मिर्गौला फेर्ने अस्पतालको खोजीमा अमेरिका भ्रमणमा छन । राजनीतिक क्षेत्रमा रिमाललाई प्रम ओलीको भरोसायोग्य सारथीको रूपमा हेर्ने गरिन्छ ।

प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा रिमालको निरन्तरताका बारे निकै चर्चा चल्यो । प्रधानमन्त्री ओलीका विश्वासपात्र मानिने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रमुख सल्लाहकार परिवर्तन हल्ला सावित हुने ठोकुवा गर्दै फेसबुकमा स्टाटस समेत लेखेका थिए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री